काठमाडौं। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान न्यायपालिका संकटग्रस्त अवस्थामा पुगेको र देश अँध्यारो सुरुङतर्फ धकेलिँदै गएको गम्भीर टिप्पणी गरेका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले बालेन शाह नेतृत्वको सरकार स्वेच्छाचारिताको दलदलमा फस्दै गएको आरोप लगाएका छन्।
वर्तमान राजनीतिक र न्यायिक परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै त्रिपाठीले भने, ‘हामी अँध्यारो सुरुङको यात्रातिर पस्दै गएको आभास भएको छ। बालेन सरकार स्वेच्छाचारिताको दलदलमा फस्दै गएको छ र न्यायपालिका संकटग्रस्त भएको छ। यस्तै रवैया बढ्दै गए न्यायपालिका र संविधान नै ध्वस्त हुने हो कि भन्ने आशंका उब्जिएको छ।’
न्यायालयभित्रको बेथिति र राजनीतिक हस्तक्षेपबारे स्पष्ट पार्दै उनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने बताए। न्यायपालिकालाई सही मार्गमा ल्याउन अदालतले आफ्ना आन्तरिक कमजोरीमाथि आफैँ सुधार ल्याउनुपर्नेमा उनले जोड दिए। न्यायाधीश नियुक्तिमा हुने दलीय भागबन्डाका कारण क्षमतावान् व्यक्तिहरू पाखा परेको उनको भनाइ थियो। ‘सर्वोच्चको फुलकोर्ट बैठकले बिचौलियाका विषयमा छानबिन र जवाफदेहिताको कुरा गर्नुपर्थ्यो, तर गरेन। नेपाल बार एसोसिएसनको भूमिका पनि कमजोर देखियो,’ त्रिपाठीले भने, ‘न्यायपालिकालाई राजनीतिक खेलमैदान बन्नबाट रोक्न अब ढिला गर्नु हुँदैन।’
हालै चर्चामा आएको बिचौलियासँग न्यायाधीशको भेटघाट प्रकरणबारे टिप्पणी गर्दै उनले न्याय परिषद् आफ्नो संवैधानिक जिम्मेवारीबाट पन्छिएको आरोप लगाए। ‘उक्त घटनापछि न्याय परिषद् र बारको बैठक तत्काल बस्नुपर्थ्यो। सीसीटीभी फुटेजमा को–को देखिएका छन्, ती सबै अनुधान गरेर पूर्ण रूपमा बाहिर ल्याइनुपर्छ। सारा तस्बिर स्पष्ट हुनुपर्छ,’ उनले भने, ‘इनम सापकोटाको जरो प्रधानमन्त्री बालेनसम्म पनि जोडिएको देखिन्छ, त्यसैले यस प्रकरणमा संलग्न कसैले पनि उन्मुक्ति पाउनु हुँदैन।’
सरकारको कार्यशैलीको कडा आलोचना गर्दै उनले सञ्चारगृहमा प्रहरी परिचालन गरी प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरिएको बताए। संसद्मा झन्डै दुई तिहाइ नजिकको समर्थन भए पनि बालेन सरकारले संसद्लाई छलेर अध्यादेशमार्फत शासन चलाउन खोजेको उनको गम्भीर आरोप थियो।