नेकपा विवाद समाधानको 'रामवाण सूत्र' : अध्यक्षको साटो ओलीलाई अर्कै सम्मानित पद !

नेकपा विवाद समाधानको 'रामवाण सूत्र' : अध्यक्षको साटो ओलीलाई अर्कै सम्मानित पद !

प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद समाधानका लागि नयाँ शिराबाट वृहत् सहमतिको चर्चा शुरू भएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने पुष्पकमल दाहाल 'प्रचण्ड'–माधव नेपाल पक्षको माग तथा कुनै पनि पद नछाड्ने ओलीको अडानका कारण लामो विवादको भूमरीमा फसेको नेकपा 'विन विन'को अवस्थामा सेफल्याण्डिङ गराउन भन्दै दोस्रो तहका नेताहरू सक्रिय छन् ।

उपाध्यक्ष वामदेव गौतमले सहमतिका लागि भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि राहत महसूस गरेका प्रधानमन्त्री ओली तत्कालका लागि दुवै पद नछाड्ने अडानमा कायम छन् ।

प्रचण्ड-माधव नेपाल पक्षको दाउ भने सकेसम्म ओलीलाई एउटा पदबाट राजीनामा गराउने छ ।

यसैक्रममा दुई पक्षबीच सहमति गराउन सक्रिय नेताहरूले पछिल्लो समय एउटा विषयमा केन्द्रित भएर छलफललाई अगाडि बढाउन माहोल बनाइरहेका छन्, त्यो हो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीलाई सर्वोच्च नेता बनाउने ।

विशेष गरी प्रधानमन्त्री ओलीको पक्षमा रहेर सहमतिको प्रयासमा सक्रिय नेताहरूबाट आएको यस्तो प्रस्ताव ओलीकै भित्री मनसाय प्रकट हुनेगरी आएको स्रोतको दाबी छ ।

अब प्रधानमन्त्री र अध्यक्ष दुवै पदमा नदोहोरिने घोषणा गरिसकेका ओलीले महाधिवेशनपछि आफूलाई कुनै न कुनै सम्मानजनक स्थान दिइयोस् भन्ने चाहेका छन् ।

जीवनभर पार्टीको सर्वोच्च नेता बनेर रहन सकियो भने अग्रजहरू पुष्पलाल श्रेष्ठ र मदन भण्डारीलाई जसरी भावी पुस्ताले आफूलाई समेत स्मरण गर्ने महत्त्वाकांक्षा ओलीमा छ ।

'प्रधामन्त्रीलाई सर्वोच्च नेता बनाउने गरी सहमतिको पहल भइरहेको छ,' स्रोतले भन्यो ।

सर्वोच्च नेता बन्ने अवस्थामा पनि तत्कालका लागि अध्यक्ष पद छाड्ने मनस्थितिमा भने ओली छैनन् ।

अध्यक्ष र प्रधानमन्त्रीमध्ये कुनै एक पद अहिले छाड्दा गलहत्याइएको सन्देश जान सक्ने तर्क ओलीले आफू निकटस्थहरूसँग गर्ने गरेका छन् ।

महाधिवेशनपछि पार्टी नेतृत्वमा आफूलाई सघाउने शर्तमा ओलीलाई सेरेमोनियल सर्वोच्च नेता बनाउन सकिनेमा प्रचण्ड र माधव नेपाल खेमामा पनि विचार विमर्श चलिरहेको स्रोतको दाबी छ ।

तर, सेरेमोनियल राष्ट्रपतिको हालको भूमिकाबाट तर्सिएका नेताहरूमा ओली पनि त्यसैगरी हस्तक्षेपकारी वा निरंकुश बन्ने हुन् कि भन्ने चिन्ता पनि देखिन्छ ।

'ओलीलाई सर्वोच्च नेता बनाउने भनेर चर्चा भएको मैले पनि सुनेको हुँ, तर औपचारिक रूपमा हामीसँग कुरा भएको छैन,' प्रचण्डपक्षीय एक नेताले भने, 'सेरेमोनियल नै भूमिका दिने हो भने पनि उहाँ आफ्नो भूमिकामा सीमित रहनुहोला भन्ने कुरामा हामीलाई शंका छ ।'

ओलीलाई सर्वोच्च नेता मान्ने हो भने उनको हरेक भूमिका स्पष्ट रूपमा अहिले नै उल्लेख गरेर जानुपर्ने उनको जिकिर छ ।

नछुटाउनुहोस् यो पनि :

मध्यरातमा सांसदलाई प्रधानमन्त्रीको त्यो फोन र प्रचण्डको यो गुनासो