मध्यरातमा सांसदलाई प्रधानमन्त्रीको त्यो फोन र प्रचण्डको यो गुनासो

मध्यरातमा सांसदलाई प्रधानमन्त्रीको त्यो फोन र प्रचण्डको यो गुनासो

असार २० गते मध्यराति (करीब एक महिनाअघिको कुरा हो) । एक सांसद सुतिसकेका थिए, फोनको घण्टी बझ्यो । 

झल्याँस्स ब्युँझिएर हेर्दा फोन रहेछ– बालुवाटारबाट प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको ।

एक सामान्य सांसदलाई प्रधानमन्त्रीको फोन इग्नोर गर्न सक्ने कुरै थिएन । उनी जर्यारकजुरुक उठे, अनि कुरा गर्न थाले ।

केही महिनाअघि दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरेका ओली यति मध्यरातसम्म नसुत्नु र फोनमा व्यस्त रहनु सामान्य त अवश्य थिएन । रातको झण्डै १ बजिसकेको थियो ।

पार्टी स्थायी कमिटी बैठकमा बोल्ने अधिकांश नेताले राजीनामा मागेपछि संसदीय दलमा आफ्नो पकड बनाउन प्रधानमन्त्री रात बिरात नभनी फोन घुमाउन व्यस्त भएका थिए ।

त्यति बेला चर्चा अर्को के पनि थियो भने निर्वाचन आयोगमा एमाले नामको दल दर्ताका लागि निवेदन परिसकेको अवस्थामा अध्यादेश ल्याएर संसदीय दलमा ४० प्रतिशत सांसद पुर्यानइ ओली पार्टी विभाजन गर्न चाहन्छन् ।

आफ्नो पुरानै शैलीमा सामान्य ख्यालठट्टा र शिष्टाचारपछि प्रधानमन्त्री ओली विषय प्रवेश गरिहाले ।

११ मिनेट भएको कुराकानीमा उनले पार्टीमा आफूलाई घेराबन्दी गरिएको गुनासो गरे ।

उनले भने– 'लामो समय सत्तामा बसिरहने मन पनि छैन मलाई । अर्कोपटक फेरि प्रधानमन्त्री बन्दिनँ भनेर भनेकै छु । फेरि यस्तो

विषम् परिस्थितिमा देशीविदेशी षड्यन्त्रमा लागेर आफ्नै साथीहरूले घेराबन्दी गरे । घेराबन्दीमा परेर पद छाड्ने कुरा मलाई स्वीकार्य छैन ।'

उनले थपे- 'आजसम्म कुनै पनि प्रधानमन्त्रीले पूरा कार्यकाल (पाँचै वर्ष) काम गर्न पाएनन् । मलाई पनि पूरा कार्यकाल काम गर्न नदिन देशी/विदेशी षड्यन्त्र भएका छन् । अपमानित भएर पद छाड्ने कुरा पनि भएन, तपाईंहरूले साथ दिनुपर्छ ।'

गलहत्याइएको अर्थ लाग्ने गरी कुनै पनि हालतमा राजीनामा नदिने उनको स्पष्ट अडान थियो ।

स्थायी कमिटीबाट राजीनामाको प्रसंग संसदीय दलमा आइहालेको खण्डमा आफ्नो पकड सावित गर्ने प्रधानमन्त्रीको प्रयास बुझ्न गाह्रो थिएन ।
त्यसो त बहालवाला प्रधानमन्त्रीलाई हटाउने हो भने सम्बन्धित पार्टीको संसदीय दल नै सबैभन्दा महत्त्वपूर्ण र वैधानिक कमिटी हो भन्ने कुरा स्पष्टै छ ।

प्रधानमन्त्रीलाई हटाउने हो भने संसदीय दलमा बहुमत सिद्ध गरेर पहिला संसदीय दलको नेताबाट हटाउनुपर्ने हुन्छ ।

त्यसो त संसदीय दलमा ओली तुलनात्मक रूपमा सुविधाजनक अवस्थामा छन् । 

त्यसैले ओलीले सबैभन्दा भरोषा संसदीय दललाई नै गर्ने गरेका छन् ।

आफ्ना निकटस्थहरूसँग ओलीको एउटै गुनासो हुन्छ– 'मलाई घेराबन्दी गर्ने, हटाउन खोज्ने ? म कुनै पनि हालतमा छाड्दिनँ ।'

****

मूलधारका मिडियामा नेकपा विटमा कलम चलाउने पत्रकारहरूलाई बुधवार बिहान अध्यक्ष प्रचण्डको सचिवालयबाट फोन आयो– 'अध्यक्षज्यूले कुरा गर्न खोज्नुभएको छ, तपाईं आउनुहोला ।'

अध्यक्षको निम्तोमा पत्रकारहरू बानेश्वस्थित एक कलेजमा पुगे । त्यहाँ अध्यक्ष प्रचण्ड मात्र थिएनन्, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश पनि उपस्थित रहेछन् ।

आफूहरूले पदका लागि विवाद नगरेको र विवादको जड अर्कै रहेको ब्रिफिङ गर्न पत्रकारहरूलाई बोलाइएको रहेछ ।

'हाम्रो यो लडाईं पदका लागि होइन, तर बाहिर म्यासेज यो अनुसार गएन, तपाईंहरूले पदको लडाईं होइन भनेर प्रचार गरिदिनुपर्योि,' नेताहरूले आग्रह गरे ।

त्यसक्रममा नेताहरूले आ-आफ्नै गुनासो सुनाए ।

अध्यक्ष प्रचण्डले भने– 'उहाँ (प्रधानमन्त्री) ओलीमा अरूलाई अपमानित गरेर मज्जा लिने अचम्मको प्रवृत्ति देखियो ।'

उनले पार्टी बैठकमा आफ्नो कुर्सी कहिले यता सार्ने, कहिले उता सार्ने गरेर समेत अपमानित गरेको गुनासो सुनाए ।

'कुर्सी सार्नु एउटा सामान्य प्राविधिक विषय मात्र होइन, यहाँ त मलाई अपमानित गरेर मज्जा लिने अचम्मको प्रवृत्ति लुकेको देखिन्छ,' उनले थपे ।

सो क्रममा माधव नेपालले ओलीले पार्टीलाई नटेरेको आरोप लगाए । 

म नै पार्टी हुँ, म नै राज्य हुँ भन्ने अहम् प्रधानमन्त्रीमा देखिएको गुनासो उनले गरे ।

झलनाथ खनाल अझै कडा रूपमा प्रस्तुत भएका थिए ।

पछिल्लो समय खुमलटारमा आफ्ना एकदमै विश्वास पात्रहरू पुग्दा प्रचण्डको एउटै गुनासो हुने गरेको छ ।

'पार्टी एकतायता मैले पटक-पटक त्याग गरें । तपाईं पाँचै वर्ष प्रधानमन्त्री चलाउनुस् भनेर पनि भनेकै हो, तर उहाँले मलाई पटक-पटक अपमानित गर्नुभयो । अपमानित गरेर मज्जा लिने प्रवृत्ति उहाँमा देखियो,' प्रचण्डले निकटस्थहरूसँग भन्ने गरेका छन् ।

ओली–प्रचण्डका यी आ-आफ्ना बुझाइ र गुनासा नेकपा विवाद समाधानको बाटोमा सबैभन्दा अवरोध बनेर खडा भएको प्रस्टै देख्न सकिन्छ ।

दुई अध्यक्षबीच विश्वासको वातावरण बनाएर एक अर्काको गुनासो सम्बोधन हुने हो भने विवाद मिल्न सहज हुने नेकपाका एक नेता बताउँछन् ।

तर घाउ निकै गरिहिसकेको छ । सहमति उन्मुख भनेको विवाद झन् चर्किने संकेतहरू देखिएका छन् ।

यसबीचमा बुधवारका लागि तय भएको दुई अध्यक्षको भेट पनि स्थगित भयो ।

प्रचण्ड-नेपाल पक्ष अब बहुमतबाटै निर्णय लिने मूडमा रहेको स्रोतको दाबी छ ।

नछुटाउनुहोस्, यो पनि :

ओलीलाई भेट्दा प्रचण्डले किन राख्न थाले झलनाथ साक्षी ? रोचक छ कारण