नेतृत्व लिन दलहरूमा युवाहरूको सक्रियता बढ्दै

नेतृत्व लिन दलहरूमा युवाहरूको सक्रियता बढ्दै

काठमाडौं। जेन-जी पुस्ताको सफल आन्दोलनपछि राजनीतिक दलहरूमा नेतृत्व पुस्तान्तरणको बहस सुरु भएको छ। राजनीतिक दलहरूमा विशेष गरेर प्रमुख राजनीतिक दलहरूभित्रका केहीले पहिलादेखि नै नेतृत्व परिवर्तन हुनुपर्ने माग राख्दै आएका थिए। तर, उक्त कुराको सुनुवाइ भएको थिएन।

अहिले भने यो बहस फेरि सतहमा आएको छ। २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनका घटनाले राजनीतिमा जुन किसिमको उथलपुथल ल्याएको छ, त्यसबाट सबैभन्दा बढी प्रभाव पनि राजनीतिक दलहरूमै परेको छ। राजनीतिक दलको नेतृत्वको कार्यशैली, उनीहरूका परिवारको जीवनशैली र भ्रष्टाचारका विरुद्ध जेन-जीले आवाज उठाएका थिए ।

सुरुमा दुई/तीनवटा माग लिएर सडकमा उत्रेको जेन-जी पहिलो दिन नै १९ जनाले ज्यान गुमाएपछि झन् आक्रोशित बन्दै गयो । तर, सरकारले सहजीकरण खोजेन। झन् आफ्नो अडानमा अडिग भयो। त्यसपछिको परिणाम यति भयावह भयो कि जसको कल्पना न त सरकारले गरेको थियो, न त राजनीतिक दलहरूले नै ।

जुन परिणाम अहिले सबैको अगाडि छ, त्यसले राजनीतिक दलहरूलाई आचरण, व्यवहार र नेतृत्व परिवर्तन गर्न सन्देश दिएको चर्चा भइरहेको छ । तर, पुराना पार्टीभित्र पनि दोस्रो तेस्रो पुस्ताका नेताहरूको मत विभाजित हुँदा सजिलोसँग पुस्तान्तरण हुने सम्भावना भने देखिँदैन ।

कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अहिलेका नेतृत्वबाट पार्टी बन्न नसक्ने र आम मानिसको चाहना पनि पूरा नहुने बताउँछन् । ‘हाम्रा सभापतिलगायत नेतामाथि आक्रमण गर्दा हामी कति खोक्रो भएका रहेछौं भन्ने देखियो। यो विधि-प्रक्रियाबाट पार्टी चल्दैन। क्रमभंग नगरी हुँदैन। अहिलेको नेतृत्व, संरचना र विधानबाट यो परिवर्तन सम्भव छ ? छैन,’ महामन्त्री थापाले भनेका छन्, ‘सबै कुरा बदल्ने हो, नेतृत्व बदल्ने हो, विधान बदल्ने हो, पार्टीको काम गर्ने शैली बदल्ने हो।’

कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले ‘आम जनतालाई जसले डोर्‍याउँछ, त्यसले पार्टीको नेतृत्व गर्नुपर्ने बताएका छन्। पार्टीका पुराना नेताले नेतृत्व छाडेर अभिभावक बन्ने बेला भएको उनको भनाइ छ ।

‘देउवा, ओली र दाहालले सक्रिय राजनीति छोड्नुपर्छ । अभिभावक बन्नुपर्छ । कांग्रेस सभापतिले छाडे, एमाले र माओवादी अध्यक्षलाई पनि छाड्न दबाब हुन्छ ।’ कांग्रेस नेता प्रदीप पौडेल पनि जेन–जी आन्दोलनपछि जिम्मेवारी लिँदै प्रमुख नेताले नेतृत्व छाड्नुपर्ने बताउनुहुन्छ, ‘अझै पनि नचेत्ने हो भने समाप्त हुने खतरा छ,’ उनी भन्छन्, ‘यति क्षति भएपछि मुख्य नेतृत्वले राजीनामा दिनुपर्छ।’

एमालेमा उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य कर्ण थापा, गोकुल बाँस्कोटा, केन्द्रीय सदस्य उषाकिरण तिम्सेना लगायतले पार्टी र नेतृत्व पुनर्गठन अभियान सुरु गरेका छन् । आगामी महाधिवेशनसम्म नेतृत्व पुनर्निर्माणको बहस चर्काउने पक्षमा उनीहरू छन् ।

सचिव विष्ट अहिलेको अवस्थामा पार्टी र नेतृत्व पुनर्निर्माणमा नयाँ शिराबाट अघि बढ्नपर्ने बताएका छन्। ‘यति ठूलो घटना हुँदा पनि इतिहासबाट पाठ सिकेनौँ भने हामीलाई खरानी हुनबाट कसैले रोक्न सक्दैन । तर, हामी पार्टीलाई खरानी हुन दिँदैनौँ । कमजोरीहरू औँल्याउँछौँ, आत्मसमीक्षा गर्छौं र कमजोरीहरूको प्रतिरक्षा गर्दैनौँ । यसलाई ढाकेर वा कमजोरीहरू भएनन् भनेर दम्भ देखाएर पार्टीमा सुधार हुन सक्दैन । जनता र कार्यकर्ताको मनोबल उठाउन सकिँदैन । आमजनता र जेन-जी पुस्ताको मन जित्न सक्दैनौँ । उनीहरूको आकांक्षालाई प्रतिनिधित्व गर्न सक्दैनौँ । यसकारण पार्टीलाई त सुधार्नैपर्छ । नयाँ आयामबाट अगाडि बढाउनुपर्छ ।’ एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले पार्टी र नेतृत्व पुनर्गठन गर्न आवश्यक भइसकेको बताए।

माओवादीमा उपमहासचिव जनार्दन शर्मा र सचिव राम कार्कीलगायत नेताहरूले नेतृत्व हस्तान्तरणको मुद्दा अघि सारेका छन्। शर्माले साउन २०८१ मै नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै स्थायी कमिटीमा लिखित प्रस्ताव पेस गरेका थिए। ‘पार्टी पुनर्गठन गरी युवा नेतृत्व अघि सारौँ भनेको धेरैदेखि हो,’ शर्माले भने, ‘अझै पनि मूल नेतृत्व त्यसमा तयार भएको देखिँदैन । युवालाई पार्टी नेतृत्व दिएर हामीले गाइड गर्नु अहिलेको आवश्यकता हो । तर, मुलुकमा यत्रो घटना भइसकेपछि पनि नेतृत्वको घैँटोमा घाम लागेको देखिँदैन ।’

माओवादीभित्र नेतृत्व पुस्तान्तरण तेस्रो पुस्तामा हुनुपर्ने बहस सुरु भएको छ । तेस्रो पुस्ताका नेताहरू अब नेतृत्व आफूहरूले गर्नुपर्ने धारणा राख्न थालेका छन् । माओवादीका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने नेतृत्व तेस्रो पुस्तामा ल्याउन पहल गर्ने बताउँछन्। उनले भने, ‘माओवादीमा दुई किसिमका प्रवृत्ति छन् । पार्टीभित्र यस्ता कुराले प्रवेश नै पाउँदैनन् । बाहिर बोल्दा पनि लखेटाइ खाइन्छ । तर, अब पुस्तान्तरणका लागि पहल गरिन्छ । नयाँ भएर आउने अवसर पनि छ । पहल गर्छौं ।’

माओवादी केन्द्रका नेता सुदन किराँतीले पार्टी नेतृत्वबाट अग्रज पुस्ता बिदा नभए विद्रोह हुने चेतावनी दिएका छन्। जेन-जी आन्दोलनपछि सबै प्रमुख दलको नेतृत्व परिवर्तनको आवाज उठिरहेका बेला पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक सञ्जालमार्फत अहिलेको नेतृत्व पुस्ताले अब बिदा लिनुपर्ने बताएका हुन्। ‘इतिहासमा योगदान गर्नुभएका अग्रज नेताहरूले सम्मानित भइराख्न र पार्टीको शाख बचाइराख्न जिम्मेवारी परित्याग गरी अभिभावकत्वको भूमिका ग्रहण गर्नु उचित हुनेछ,’ भनेका छन्, ‘त्यसो नगरे हाम्रो पुस्ताले उहाँहरूविरुद्ध विद्रोह गर्न बाध्य हुनुपर्ने छ । नत्र जनताले हामीलाई बहिष्कार गर्नेछन् । अब के गरौँ ?’

हिमालय टाइम्स दैनिकबाट