काठमाडौं। जेन–जी आन्दोलनबाट मुलुकमा सत्ता परिवर्तन गराएको छ। पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीको नेतृत्वमा गैरदलीय सरकार बनेको छ। यो सरकारको म्याण्डेट आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन गराउनु हो। सरकारका मन्त्रीहरुले पनि आफूहरुको प्रमुख ध्येय नै चुनाव गराउनु भएको प्रतिक्रिया छन्।
भदौ २३ र भदौ २४ गतेको जेन–जीको आन्दोलनका कारण पूराना दल र यसका नेतृत्वहरु विस्थापित गरिनुपर्ने आवाज उठेको छ। आन्दोलनको क्रममा पूराना दलका शीर्ष नेताहरु नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर आफ्नो ज्यान जोगाउन सफल भए। निवर्तमान प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली अझै सार्वजनिक भएका छैनन्।
उनी भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको सुरक्षाभित्र बसेका थिए। उनले आफू शिवपुरीमा सेनाको उच्च सुरक्षा घेराभित्र रहेको भनेर जानकारी गराएका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी धर्मपत्नी आरजु राणा भने आन्दोलनकारीको कुटाईबाट घरमै सख्त घाइते भएका थिए।
उनीहरुलाई नेपाली सेनाले रेस्क्यु गरेर उपचार गराईरहेको छ। उनीहरुको अझै एक साता उपचार जारी रहने भनिएको छ। कांग्रेस नेताहरुले सभापति दम्पत्तिको स्वास्थ्य अवस्थाबारे निरन्तर अपडेट लिएका छन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल भने आजबाट सक्रिय भएका छन्।
उनी पार्टी मुख्यालय पेरिसडाँडा पुगेर तोडफोड र आगजनीमा परेको पार्टी कार्यालयको निरीक्षण गरेका छन्। एमाले अध्यक्ष ओली भने पार्टीका दोस्रो तहका नेताहरुसँग निरन्तर सम्पर्कमा रहेको बताईन्छ। उनी कहिले सार्वजनिक हुने भन्नेबारे स्पष्ट भनिएको छैन।