प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : कूटनीतिक दूरी घटाउने र सहकार्य विस्तार गर्ने अवसरका रूपमा भारतीय मिडियाको व्याख्या

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण : कूटनीतिक दूरी घटाउने र सहकार्य विस्तार गर्ने अवसरका रूपमा भारतीय मिडियाको व्याख्या

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको दुईदिने भारत भ्रमणलाई भारतीय सञ्चारमाध्यमहरूले नेपाल–भारत सम्बन्धमा आएको नयाँ मोड र द्विपक्षीय सहकार्य विस्तारको महत्त्वपूर्ण अवसरका रूपमा विश्लेषण गरेका छन् । भारतीय मिडियाका अनुसार यो भ्रमणले विगतको कूटनीतिक चिसोपना हटाउँदै आर्थिक तथा विकास साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

नीतिगत बदलाव र विकास साझेदारीमा जोडद इकोनोमिक टाइम्सले प्रधानमन्त्री शाहको यो भ्रमणलाई ‘भारतप्रति नेपालको नीतिगत दृष्टिकोणमा आएको बदलाव’ को संकेत मानेको छ । प्रधानमन्त्री नियुक्त भएलगत्तै विदेश भ्रमण नगर्ने र भारतीय विदेश सचिवसँग भेट्न अस्वीकार गरेका शाह अहिले पूर्वाधार र आर्थिक विकासका लागि भारतसँग सहकार्य गर्न इच्छुक देखिएको रिपोर्टमा उल्लेख छ ।

भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले ऊर्जा तथा कनेक्टिभिटीसम्बन्धी परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुका साथै संयुक्त दृष्टिपत्र सार्वजनिक गर्ने तयारी छ । यसका अतिरिक्त नेपालले निम्न विषयलाई प्रमुख एजेन्डा बनाएको भारतीय मिडियाले जनाएका छन् :

  • आर्थिक प्याकेज : ऊर्जा, पूर्वाधार ऋण, सिद्धार्थ राजमार्ग स्तरोन्नति र बाढीपछिको पुनर्निर्माण अनुदानका लागि २ अर्ब अमेरिकी डलरको सहयोग प्याकेजको माग ।

  • हवाई मार्ग : पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि भारतसँग थप हवाई मार्ग (एयर रुट) को अनुमति ।

  • नयाँ क्षेत्र : स्टार्टअप, प्रविधि, नवप्रवर्तन, डिजिटल कनेक्टिभिटी तथा खेलकुदमा साझेदारी ।

द इन्डियन एक्सप्रेस र टाइम्स अफ इन्डियाले पनि यो भ्रमणले भारतको ‘नेबरहुड फर्स्ट’ (छिमेक पहिलो) नीतिअन्तर्गत उच्चस्तरीय संवादको परम्परालाई निरन्तरता दिने र समग्र द्विपक्षीय तथा क्षेत्रीय विषयमा छलफल हुने उल्लेख गरेका छन् ।

इतिहासभन्दा भविष्यको सहकार्यलाई प्राथमिकता समाचारसँगै भारतीय विचार पृष्ठहरूमा पनि सम्बन्ध सुधारको वकालत गरिएको छ । द प्रिन्टमा प्रकाशित एक लेखमा विगतका विवादमा अल्झिनुभन्दा भविष्यको सहकार्यलाई प्राथमिकता दिनुपर्ने तर्क गरिएको छ । लेखमा ईपीजी (प्रबुद्ध व्यक्ति समूह) को प्रतिवेदन, पञ्चेश्वर परियोजना, गोर्खा भर्ती, सीमा विवाद र भारतीय नोट सटहीजस्ता पुराना मुद्दाहरूलाई संवादमार्फत अघि बढाउँदै नयाँ पुस्ताको आवश्यकताअनुसार प्रविधि र शैक्षिक साझेदारी विस्तार गर्न सुझाव दिइएको छ ।

कूटनीतिक असहजता चिर्ने प्रयासइन्डिया टुडेले भने विगतका कूटनीतिक असहजताका बीच यो भ्रमणलाई सम्बन्ध सामान्यीकरण गर्ने प्रयासका रूपमा हेरेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुराको सीमा विवाद तथा गत मे महिनामा बालेनले सीमा विवाद समाधानमा चीन र बेलायतको भूमिका खोजेपछि भारतले तेस्रो पक्षको संलग्नता अस्वीकार गरेको प्रसंगलाई अखबारले स्मरण गरेको छ ।

समग्रमा, सीमा विवाद र पारवहनका केही मतभेद कायम रहे पनि यो भ्रमणले विगतको कूटनीतिक दूरी घटाएर व्यापार, ऊर्जा, पुनर्निर्माण र विकास साझेदारीलाई व्यवहारिक परिणाममा बदल्ने अवसर प्रदान गरेको भारतीय सञ्चारमाध्यमहरूको निष्कर्ष छ ।