म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपाईंहरूले पनि त्यो पूरा गर्नोस् ।’ सवालजवाफ हुँदा प्रधानमन्त्री र प्रधानसेनापतिबीचको संवाद केही असहज बन्यो ।
..
राज्यसत्तामा पुगेकाहरूले जनताको मतलाई भ्रष्टाचारको लाइसेन्स नठानेको भए, जनताको आलोचनालाई बेवास्ता नगरी सुधार गरेको भए, जेन–जीले आन्दोलनको तयारी गर्दै गर्दा वार्तामा बोलाएर उनीहरूको सरोकार सुनेको भए, पहिलो दिनको आन्दोलनमै सुरक्षा रणनीतिमा तयारी गरी बर्बर दमन नगरेको भए ।
२३ र २४ भदौमा भएको जनधनको असाधारण क्षति भोगेको नेपाली समाज अहिले यस्तै कामना गरेर थकथक मानिरहेको छ । तर शासकहरू भने कुन मनस्थितिमा थिए भन्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तिम घडीसम्म लिएको हठबाट प्रस्ट हुन्छ ।
जनताको माग सुन्दै नसुन्ने अड्डी लिएका ओलीलाई मनाउन सुरक्षा प्रमुखहरू बालुवाटार गएका थिए । यता देश जलिरहेको थियो, बालुवाटारमा ओली हठ लिइरहेका छन्, आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको भनेर सुरक्षा प्रमुखहरूलाई चेतावनी दिइरहेका थिए ।
२३ भदौमा बानेश्वरमा गोली चलेदेखि २४ भदौमा सेनाले सुरक्षा व्यवस्था जिम्मा लिएसम्मका करिब ३६ घण्टाको घटनाक्रमलाई कान्तिपुरले ‘टाइम–लाइन’ मा प्रस्तुत गर्दै छ । तत्कालीन मन्त्रिपरिषद्का सदस्यहरू, सुरक्षा अधिकारीहरू तथा सरकारका उच्चपदस्थ अधिकारीहरूसँग प्राप्त सूचनाका आधारमा यो विवरण तयार पारिएको हो ।
२३ भदौ बिहान ११ बजे, आन्दोलनको सुरुवात
जेन–जी आन्दोलनलाई सरकारले कति अवमूल्यन गरेको थियो भने बानेश्वरमा गोली प्रहार हुँदै गर्दा तत्कालीन गृहमन्त्री रमेश लेखक प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा थिए । उनी एक्लै होइन, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई पनि लेखकले आफैंसँग लगेका थिए ।
त्यस्तै उपत्यका प्रहरी प्रमुखका रूपमा एआईजीको पद खाली थियो, त्यसैले डीआईजी ओम राना कामु जिम्मेवारीमा थिए । जेन–जीले सामाजिक सञ्जालमा भव्य प्रचार गरेर आन्दोलनको तयारी गर्दा पनि सरकार भने ‘करिब सात/आठ हजार युवा आउँछन्, नारा लगाउँछन्, जान्छन् । दोब्बर नै आए भने पनि सुरक्षा संयन्त्रले सजिलै व्यवस्थापन गर्न सक्छ’ भन्ने विश्लेषणमा ढुक्क थियो ।
तर आन्दोलनकारी सुरक्षा घेरा तोडेर संसद् भवनभित्र प्रवेश गरेपछि मात्र लेखक बैठकबाट निस्केर गृह मन्त्रालय पुगेका थिए । बल्ल उनले केन्द्रीय सुरक्षा समिति बैठक डाके । त्यहीँबाट कर्फ्युको आदेश जारी भयो । सुरक्षाकर्मीले जथाभावी गोली चलाउँदा त्यही दिन १९ जनाको मृत्यु भयो, घाइतेले सिभिल र एभरेस्ट अस्पताल तथा राष्ट्रिय ट्रमा सेन्टर खचाखच भए ।
अपराह्न ५ बजे, देउवा निवासमा छलफल
तत्कालीन गृहमन्त्री लेखक कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगे । त्यहाँ देउवाले पदाधिकारी र केही पूर्वपदाधिकारीलाई बोलाइसकेका थिए । कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले गृहमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने राय राखे । लेखक त्यसका लागि तयार पनि भए । तर सभापति शेरबहादुर देउवा भने ‘हतार किन ? थाम्नुस्, थाम्नुस्’ भन्दै राजीनामा रोक्न खोज्दै थिए ।
साँझ ६ बजे, बालुवाटारमा मन्त्रिपरिषद् बैठक
सोमबार भएकाले मन्त्रिपरिषद्को नियमित बैठक थियो । सुरक्षा रणनीति किन फितलो भयो भन्ने ओलीको प्रश्न थियो । उनको भनाइ छ, ‘आन्दोलनकारीलाई एभरेस्ट होटलभन्दा अगाडिसम्मै जान किन दिइयो ? त्योभन्दा यतै ब्यारिकेटिङ बलियो किन भएन ? सिनामंगल (तीनकुने) तिरबाट आएको जुलुस किन रोकिएन ? गृहमन्त्रीले सबै थाहा भएर मलाई नभन्नुभएको हो कि, गृहमन्त्रीलाई पनि यो कुरा थाहा थिएन ?’
प्रहरीले टाउकोमै गोली किन हान्यो भन्नेमा पनि प्रधानमन्त्री ओली आश्चर्यमा थिए । ‘प्रहरीले छाती र टाउकोमा गोली नै हान्दैन, त्यो कसरी भइरहेको छ ?’ उनले दोहोर्याइरहेका थिए ।
उता लेखक भने बैठकमा आइपुगेका थिएनन्, उनी बुढानीलकण्ठतिरै थिए । बैठक सकिने बेला लेखक पुगेपछि ओलीले भने, ‘ल घटनाको विवरण गृहमन्त्रीबाटै सुनौं ।’ तर लेखकले ‘ब्रिफिङ’ होइन, राजीनामा सुनाए ।
छक्क पर्दै ओलीले भने, ‘गृहमन्त्रीजी तपाईंले पद त छोड्नुभयो, राजनीतिक रूपमा त सहयोग गर्नुहुन्छ होला नि ?’ लेखकको जवाफ थियो, ‘म यो गठबन्धनको पक्षपाती हुँ । यो गठबन्धन पूर्ण समयसम्म चल्नुपर्छ भन्नेमा छु । यो सरकारपछि कांग्रेस सभापति देउवा नेतृत्वको सरकार बन्छ, त्यसलाई पनि सफल बनाउन म सबै किसिमका सहयोग गर्न तयार छु ।’
त्यसपछि तत्कालीन स्वास्थ्यमन्त्री प्रदीप पौडेलले अघि सरेर भने, ‘सामाजिक सञ्जाल खोल्ने निर्णय हुने हो कि होइन, यसका आधारमा म सरकारमा रहने कि नरहने निर्णय गर्नु छ ।’ ओलीले सञ्जाल बन्दलाई निरन्तरता दिने पक्षमा अडान राखे ।
सामाजिक सञ्जाल एक्सले पठाएको पत्रको बेहोरा सुनाउँदै उनी कड्किए, ‘एउटा विदेशी व्यापारिक कम्पनीले तिम्रो देशमा भ्रष्टाचार छ, सुशासन छैन, पारदर्शिता छैन भन्दै दर्ता गर्न इन्कार गरेर पत्र पठाएको छ ? हाम्रो स्वाभिमानमाथि आँच आउन दिन्न । हाम्रो नीति–नियमविपरीत व्यापार गर्न खोज्ने को हो त्यो ? म जिउँदो हुँदासम्म यो सम्भव छैन ।’
यस विषयमा ओली र पौडेलबीच सवाल–जवाफ चल्यो । त्यही बेला ओलीले ‘तल सभापतिजी (शेरबहादुर देउवा) आउनुभएको छ, म जान्छु’ भनेर निस्किए । प्रधानमन्त्री नै हिँडेपछि मन्त्रीहरू केही बेर ‘साइड टक’ गरेर निस्किए । मन्त्रिपरिषद्मा छलफल हुँदा आन्दोलनमा ज्यान गुमाएकाको परिवारलाई १० लाख क्षतिपूर्ति दिने भनिएको थियो तर निर्णयमा लेखिएन । घाइतेहरूको निःशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालयमार्फत व्यवस्था गरिने भन्ने निर्णय भने लेखियो । निर्णयमा सामाजिक सञ्जाल खुलाउनेबारे निर्णय लेखिएन, सकारात्मक पहल गरिने भनी उल्लेख गरियो ।
राति १० बजे, बालुवाटारमा सुरक्षा बैठक
मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले बालुवाटारमै सुरक्षा बैठक बोलाए । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा सहभागी थिए ।
सोमबारको घटनाक्रमले स्थिति बिथोलिएको भन्दै सुरक्षा प्रमुखहरूले ‘मंगलबार परिस्थिति असामान्य बन्न सक्ने र सरकारले उपयुक्त कदम चाल्नुपर्ने अवस्था आउने’ भन्दै प्रधानमन्त्रीलाई ‘सचेत’ गराएका थिए । तर ओलीले भने ‘सरकारको आदेश/निर्णयअनुसार अघि बढ्नुस्, हतासिनुपर्ने केही छैन’ भन्दै जवाफ दिएका थिए ।
२४ भदौ बिहान ८ बजे, गृहमा सुरक्षा बैठक :
जेन–जी आन्दोलनमा राज्यले बर्बर दमन गरेपछि अर्को दिन विशाल प्रदर्शन हुन्छ भन्ने सबैको अनुमान थियो । तर आन्दोलनमा घुसपैठ भएकाले बिहानैदेखि तोडफोड, आगजनी र लुटपाट सुरु भयो । गृहमन्त्री लेखकले राजीनामा दिइसकेका थिए । मुख्यसचिव एकनारायण अर्यालले बिहान ८ बजे गृह मन्त्रालयमा आपत्कालीन सुरक्षा बैठक आह्वान गरे ।
बैठकमा सहभागी प्रधानसेनापति सिग्देल, गृहसचिव दुवाडी, प्रहरी महानिरीक्षक खापुङ, सशस्त्र महानिरीक्षक अर्याल र राअवि प्रमुख थापाले अवस्था असामान्य बन्दै गएकाले प्रधानमन्त्रीले राजनीतिक निकास दिनुपर्ने निष्कर्ष निकाल्यो ।
गृहमा सुरक्षा समीक्षा भइरहेकै बेला भैंसेपाटीस्थित मन्त्री निवासबाहिर प्रदर्शनकारी भेला भएर तोडफोड सुरु गरिसकेको खबर आयो । प्रधानसेनापति सिग्देलले मन्त्री निवासबाहिर सेनाको सुरक्षा बढाउन निर्देशन दिए । प्रहरी र सशस्त्रका प्रमुखले पनि थप जनशक्ति परिचालन गर्न निर्देशन दिए ।
बिहान १० बजे : प्रधानमन्त्रीसँग सुरक्षा प्रमुखहरूको बैठक
गृह मन्त्रालयमा आयोजित बैठक सकेर मुख्यसचिव र चार सुरक्षा प्रमुखहरूको टोली प्रधानमन्त्री निवास बालुवाटारतिर लाग्यो । टोली प्रधानमन्त्रीको बैठक कक्षमा छिर्दा ओली भने कांग्रेस सभापति शेरबहादुर देउवासँग फोनमा कुरा गरिरहेका थिए ।
सुरक्षा प्रमुखहरू देखेपछि ओली आफैंले भने, ‘शेरबहादुरजीले फोन गर्नुभएको थियो, बाहिर (देउवा निवासबाहिर) मान्छे भेला भएर प्रदर्शन गरिरहेका रहेछन्, त्यहाँ सुरक्षाकर्मी पठाइदिनुपर्यो ।’ तर, त्यसलाई उनले सामान्य नाराबाजीका रूपमा मात्र लिए ।
उता स्थिति नियन्त्रणबाहिर गएको भन्दै कांग्रेस नेताहरूले देउवालाई पनि तारन्तार फोन गरिरहेका थिए । ‘प्रधानमन्त्री ओलीलाई तत्काल राजीनामा दिन भन्नुपर्यो, उनले राजीनामा दिन्नन् भने कांग्रेस सरकारबाट फिर्ता भएको घोषणा गर्नुपर्यो,’ नेताहरूको सुझाव थियो । तर देउवा भने, ‘एक दुई दिन हेरौं– एक दुई दिन हेरौं’ भनिरहेका थिए ।
ओलीले राजीनामा दिए सरकारको नेतृत्व गर्ने ‘जिम्मेवारी आफ्नो काँधमा आउने’ आशामा पनि थिए देउवा । उता बिहानैदेखि नै कांग्रेस नेताहरूलाई फोन गर्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘अब त तपाईंहरूले सरकार छोड्नुपर्यो नि, यो सरकार फेल भइसक्यो, अब नयाँ कोर्समा जानुपर्छ’ भनिरहेका थिए । तर स्थिति भने ओली, देउवा र दाहाल सबैले सोचेभन्दा फरक भइरहेको थियो ।
त्यतिबेला तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाल र एमाले उपमहासचिव प्रदीप ज्ञवाली बालुवाटारमै थिए । सिंहदरबारबाट सिधै बालुवाटार पुगेका मुख्यसचिव र प्रधानसेनापतिसहितका सुरक्षा प्रमुखहरूले बाहिरको परिस्थिति असामान्य बन्दै गएको भन्दै प्रधानमन्त्रीले राजनीतिक निकास दिनुपर्ने सुझाव राखे ।
सुझाव सुन्नासाथ ओली झोक्किए । उक्त छलफलमा सहभागी एक अधिकारी भन्छन्, ‘राजनीतिक निकास भनेको राजीनामा ? सुरक्षाकर्मीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने ? अनि प्रधानमन्त्रीले राजनीतिक निकास दिने ? तपाईंहरूको परिभाषित जिम्मेवारी जे हो, त्यो पूरा गर्नोस्, स्थिति ठीक हुन्छ । म यहाँ बस्ने कुर्सी ओगट्न होइन, राष्ट्रको चुनौती पूरा गर्नका लागि हो । तपार्इंहरूले पनि त्यो पूरा गर्नोस् भन्दै उहाँ कड्किनुभयो, सवालजवाफ हुँदा प्रधानमन्त्री र प्रधानसेनापतिबीचको संवाद केही असहज बन्यो ।’
बालुवाटारबाटै प्रधानसेनापतिले राष्ट्रपति रामचन्द्र पौडेललाई ‘ब्रिफिङ’ सुनाए । सुरक्षा प्रमुखहरूले राजीनामा दिन सुझाएको तर प्रधानमन्त्रीले अस्वीकार गरेको जानकारी राष्ट्रपतिलाई भयो । उता, राष्ट्रपति र प्रधानमन्त्रीबीच संवाद भइरहेको थियो । ‘राष्ट्रपतिको मनसाय पनि बिहानैदेखि प्रधानमन्त्रीले राजीनामा दिए हुने भन्ने नै थियो, तर राजीनामा गर्नोस् भन्न सक्नुभएको थिएन,’ ती अधिकारीले भने ।
निराश सुरक्षा प्रमुखहरू प्रधानमन्त्रीको बैठक कक्षबाट बाहिर निस्किएर आआफ्नो ‘च्यानल’ बाट सडक प्रदर्शनको जानकारी लिन थाले । बाहिर स्थिति भयावह भइसक्यो भने रिपोर्ट आइरहेको थियो । त्यसैले मुख्यसचिव र प्रधानसेनापतिले अर्थमन्त्री पौडेल र प्रधानमन्त्रीका सल्लाहकार रिमालसँग थप छलफल गरे । प्रधानमन्त्रीले राजीनामा नदिने हो भने थाम्न सकिँदैन, तपाईंहरूले राजनीतिक पहल गर्नुपर्यो भनेर सेनापतिले दोहोर्याए । तर ओलीसँग गएर राजीनामाको सुझाव दिन उनकै उपप्रधानमन्त्री र सल्लाहकार पनि हिचकिचाइरहेका थिए ।
अपराह्न १ बजे : राजीनामाका लागि माथापच्ची
सडकमा प्रदर्शन नियन्त्रणबाहिर थियो । व्यक्तिका घर, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भइरहेको थियो । प्रहरी कार्यालय सबैतिर जलिरहेका थिए । होटलमा आगलागी भइरहेको थियो । तर, उता ओलीले भने बेलुका ६ बजे ‘सर्वदलीय बैठक’ बोलाए, उनी स्थिति आफ्नै नियन्त्रणमा हुन्छ भन्ने मनस्थितिमा थिए ।
त्यही बेला ओलीको बालकोटस्थित निजी घरमा पनि आगजनी भएको खबर आइपुग्यो । बाहिर तोडफोड, आगजनी र लुटपाटको घटना तीव्र रूपमा बढ्दै गएको रिपोर्ट आइरहेको थियो । प्रधानसेनापति सिग्देल फेरि बैठक कक्षमा छिरेर ओलीले राजीनामा दिनैपर्ने अन्यथा कसैले पनि सुरक्षाको जिम्मा लिन नसक्ने चेतावनी दिए । ओली भने ‘जिम्मेवारी पूरा गर्न नसकेको’ भन्ने सुरक्षा संयन्त्रप्रति क्रुद्ध बने । लगत्तै तत्कालीन अर्थमन्त्री पौडेल भित्र छिरेर ओलीसँग छुट्टै कुराकानी गरे ।
केहीबेरमा बाहिर निस्किएर पौडेलले सुरक्षा अधिकारीहरूलाई भने, ‘ल अब प्रधानमन्त्रीको राजीनामा आउँछ, बाहिरको परिस्थिति नियन्त्रणमा राख्नुहोला ।’ पौडेल, रिमाल, ज्ञवालीका साथै मुख्यसचिव र प्रधानसेनापति बसेर प्रधानमन्त्रीको राजीनामापत्रको मस्यौदा तयार भयो । राजीनामाको जानकारी राष्ट्रपति रामचन्द्र पौडेललाई त्यहींबाट अवगत गराइयो ।
दिउँसो करिब सवा २ बजेतिर ओलीले राजीनामापत्रमा हस्ताक्षर गरे । सामान्य अवस्थामा प्रधानमन्त्रीले आफ्नो राजीनामा राष्ट्रपतिसमक्ष आफैं उपस्थित भएर दिने चलन छ । ‘तर त्यो असामान्य दिन एक सुरक्षाकर्मीले प्रधानमन्त्रीको राजीनामापत्र बोकेर राष्ट्रपति निवास पुर्याउनुभयो, लगत्तै राष्ट्रपतिले स्वीकृत गर्नुभयो,’ बालुवाटारका एक अधिकारीले भने ।
अपराह्न २ बजे : राजीनामा स्वीकृत
ओलीको राजीनामा स्वीकृत भएपछि मुख्यसचिव, प्रधानसेनापति र गृहसचिव हेलिकोप्टर बोलाएर बालुवाटारबाट सैनिक मुख्यालय जंगीअड्डा पुगे । बाहिरको परिस्थिति असामान्य बनेका कारण उनीहरूसमेत आफ्ना सवारी साधन बालुवाटार राखेर हेलिकोप्टरमा जंगीअड्डा गएका थिए । उनीहरूका गाडी सुरक्षाकर्मीले जंगीअड्डा पुर्याए ।
केहीबेरमा सेनाको अर्को हेलिकोप्टर बालुवाटारमा अवतरण गर्यो, हेलिकोप्टरले ओली दम्पतीलाई सेनाको ब्यारेकतर्फ लग्यो । निवर्तमान अर्थमन्त्री पौडेल भने सुरक्षित रूपमा प्रहरी प्रधान कार्यालय पुगे । उता अन्य मन्त्री र उनीहरूको परिवारलाई भैंसेपाटीस्थित मन्त्री निवासबाट सैनिक हेलिकोप्टरले उद्धार गरिरहेको थियो । उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभाका अध्यक्षसहित उच्च पदस्थ अधिकारीलाई सुरक्षार्थ सेनाले महाराजगन्जस्थित भैरवनाथ गणमा पुर्यायो ।
उता, दर्जनौं नेताका घर र पार्टी कार्यालय जलिरहेका थिए । सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनलगायतका सार्वजनिक संरचनामा आगो सल्किसकेको थियो । बुढानीलकण्ठमा पूर्वप्रधानमन्त्री देउवा र उनकी पत्नी एवं परराष्ट्रमन्त्री आरजु राणामाथि प्रदर्शनकारीले कुटपिट गरे । राति ८ बजेपछि मात्रै गाडीमार्फत उनीहरूको उद्धार गरिएको थियो ।
अपराह्न ३ बजे : जंगीअड्डाबाट सुरक्षा प्रमुखहरूको आह्वान
बालुवाटारबाट हेलिकोप्टरमा जंगीअड्डा पुगेका सरकारी अधिकारी र सुरक्षा प्रमुखहरूले सवा ३ बजे विरलै अभ्यास हुने पत्र सार्वजनिक गरे । प्रधानमन्त्रीको राजीनामा आइसकेको र अर्को सरकार बनिनसकेको अवस्थालाई सम्हाल्न र हिंसा थप भड्किन नदिन उनीहरूले आन्दोलनकारीलाई वार्ता र संवादबाट निकास खोज्न आह्वान गरे ।
मुख्यसचिव अर्याल, प्रधानसेनापति सिग्देल, गृहसचिव दुवाडी, प्रहरी प्रमुख खापुङ, सशस्त्र प्रमुख अर्याल र राअवि प्रमुख थापाले हस्ताक्षर गरेको वक्तव्यमा ‘विषम परिस्थितिमा थप जनधनको क्षति हुन नदिन आम नागरिक सबैलाई संयमित हुन र यस विषयमा राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न’ अपिल गरिएको थियो ।
लगत्तै प्रधानसेनापति सिग्देल जंगीअड्डाबाटै हेलिकोप्टरमा शीतलनिवास पुगे । केहीबेरपछि जंगीअड्डामा फर्केर उनले राजनीतिक संवादबाट परिस्थितिलाई सामान्य बनाउन पहल सुरु गरे । बाहिर हिंसात्मक प्रदर्शन रोकिएको थिएन । शीतलनिवास नै जोखिममा देखिएपछि राष्ट्रपति पौडेललाई सेनाले भैरवनाथ गण पुर्यायो ।
उता काठमाडौं महानगरका मेयर बालेन्द्र (बालेन) शाहले सेनासँग आन्दोलन सफल भएकाले घर फर्कन र वार्ताका लागि तयार रहन ‘जेन–जी’ लाई सामाजिक सञ्जालबाट आह्वान गरे । त्यसका लागि प्रतिनिधिसभा विघटन हुनुपर्ने सर्त उनको थियो ।
राति ९ बजे : सुरक्षाको जिम्मा सेनाले लियो
देश सरकारविहीन अवस्थामा थियो । कारागारबाट कैदी भाग्ने क्रम चलिरहेको थियो । शीतलनिवासमै प्रदर्शनकारीले तोडफोड र आगजनी गरे । परिस्थिति थप जटिल बन्दै गएपछि राति ९ बजेतिर प्रधानसेनापति सिग्देलले ‘राष्ट्रका नाममा सम्बोधन’ गर्दै शान्ति र संयमका लागि आह्वान गरे । लगत्तै सेनाले सूचना जारी गर्यो, जसमा स्थिति नियन्त्रणमा लिन राति १० बजेबाट नेपाली सेना लगायतका सुरक्षा निकाय तैनाथ हुने भनिएको थियो । त्यसपछि सेनाले देशभर आफ्नो नेतृत्वमा जनशक्ति तैनाथ गरी कर्फ्यु जारी गर्यो ।
कान्तिपुर दैनिकबाट