काठमाडौं। निश्चित नेताको वरिपरि घुमिरहेको राजनीतिक शक्ति जेन-जी आन्दोलनकै केही घण्टामा ढालिदियो। यति मात्रै होइन, आन्दोलनले दशकौँदेखि सत्ताको वरिपरि घुमिरहेका पुराना नेताहरूलाई नेतृत्व हस्तान्तरण गर्न स्पष्ट र कडा सन्देश पनि दिएको छ।
आन्दोलनको रापले मुलुक नै तातेपछि पुराना भनिएका प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्रभित्र नेतृत्व हस्तान्तरणको बहस भइरहेको छ। आन्दोलनसँगै आफ्नै पार्टीभित्रका नेताहरूको दबाबका कारण तीन दलको नेतृत्वमा रहेका क्रमशः शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूले अब नेतृत्व हस्तान्तरण गरेर दल पुनर्गठन अपरिहार्य जस्तै बनेको छ।
कांग्रेसमा सबैभन्दा बढी नेतृत्व हस्तान्तरण र पार्टी पुनर्निर्माणको बहस भइरहेको छ । कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित नेता-कार्यकर्ताले तत्काल नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको कुरा उठाएका छन्। महामन्त्रीसँगै कांग्रेसका दर्जनौँ नेताहरूले स्वर मिलाएका छन् ।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष प्रचण्डले राजीनामा दिनुपर्ने माग गर्नुभएको छ । शर्माले पछिल्लो समय निरन्तर नेतृत्व हस्तान्तरण र पार्टी पुनर्निर्माणका लागि दबाब दिँदै आउनुभएको थियो । शर्मा मात्रै होइन, माओवादी केन्द्रका नयाँ पुस्ताका नेताहरू पनि पार्टी पुनःसंरचनाको पक्षमा छन् ।
नेतृत्वबारे कमै बहस हुने एमालेमा पनि केही नेताहरूले पार्टी पुनर्गठनको विषय उठाइरहेका छन् । एमाले सचिव योगेश भट्टराईसहित केन्द्रीय सदस्य उषाकिरण तिमल्सिना लगायतले नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको विषय उठाएका छन् । तिमल्सिना विचारबाट च्युत मात्र होइन जनताबाट तिरस्कृतहरूबाट पार्टी नचल्ने निष्कर्षमा पुगेकी छन् । भट्टराई पनि गल्तीप्रति आत्मालोचित हुनुपर्ने र पार्टी संगठन र नेतृत्वको नयाँ ढंगले पुनर्गठन गरिनुपर्नेमा छन्। भदौ २४ गते नै उपाध्यक्षहरू युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेसहितका नेताले अध्यक्ष केपी ओलीले राजीनामा दिनुपर्ने बताएका थिए ।
एमालेमा सानै भए पनि उनीहरूलाई साथ दिने युवा जमात छ । तर‚ पार्टीको संस्थापन यस्तो बहस गर्न त के सुन्नै चाहन्न । एमालेले निकालेको आधिकारिक विज्ञप्तिमा विगतका कमी कमजोरी वा त्रुटिमा आत्मग्लानि वा आत्मालोचनाभन्दा पनि दम्भकै भाव बढी देखिन्छ । यसबाहेक एकीकृत समाजवादीमा पनि अध्यक्ष माधवकुमार नेपालले नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठेको छ ।
तर, आन्दोलनको म्याण्डेट र दलभित्रै नेतृत्व छाड्न दबाब भए पनि पार्टीहरूको परिस्थिति भने भिन्नै छ । प्रमुख तीन दलमध्ये एमाले र माओवादीमा संस्थापन पक्षले नै नेतृत्व हस्तान्तरणमा अनिच्छिा देखाएको छ ।
एमाले महासचिव शंकर पोखरेलले त नेतृत्वको आलोचना नगर्न निर्देशन नै दिए। माओवादी अध्यक्ष प्रचण्ड उल्टै भव्य नयाँ पार्टी कार्यालय भवन निर्माणको घोषणा गर्दै आफ्नो नेतृत्व अझै कायम राख्ने संकेत गरेका छन् । मंगलबार पेरिसडाँडास्थित पार्टी कार्यालय अवलोकन गर्न पुगेका प्रचण्डले कार्यकर्ताको सहयोगमा फेरि नयाँ भवन निर्माण गर्ने बताए। अर्थात् परिवर्तनले दलहरूलाई अझै छुन सकेको छैन । दशकौँ नेपाली राजनीतिमा खम्बा गाडेर बसेका दलहरू अझै यथास्थितिमै छन् । नेतृत्व पद ओगटेरै बसिरहेको छ ।
कांग्रेस सभापति देउवाले भने यसअघि नै अब सभापतिमा नदोहोरिने बताउनुभएको थियो । जेन-जी आन्दोलनमा प्रदर्शनकारीको कुटाइसमेत खानुभएका उहाँले सम्भवतः अब सक्रिय राजनीतिमा नफर्किने अपेक्षा छ । तर, अस्पतालमा उपचाररत उहाँले औपचारिक रूपमा कुनै प्रतिक्रिया दिनुभएको छैन । भदौ २३ र २४ गते देशव्यापी भएको जेन-जी आन्दोलनले सरकारी संरचनासँगै दलका कार्यालय र तिनका नेताका घरहरूलाई निशाना बनाएका थिए । आन्दोलनकारीले प्रमुख तीन दलका कार्यालयसहित उनीहरूका नेतृत्व र नेताका घरमा आगजनी र तोडफोड गरेका थिए।
माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीको मूल नेतृत्व (प्रचण्ड)ले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्। जेन–जी आन्दोलनबारे मंगलबार १६ बुँदे विश्लेषण सार्वजनिक गर्दै शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका हुन्। आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको उनको भनाइ छ ।
‘पार्टीभित्र सम्पत्ति छानविनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्छ । २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरूको सम्पत्ति छानविन गर्नुपर्छ,’ उनले भनेका छन्, ‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ । नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्छ । कुन पदमा कुन व्यक्ति कतिपटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।’
शर्मा मात्रै होइन नेता राजन दाहालले तत्काल पार्टीको विशेष महाधिवेशन माग गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत अध्यक्षलगायत सिंगो केन्द्रीय समिति निर्वाचित गर्ने प्रस्ताव उनले अघि सारेका छन्।
एमाले नेता गोकुल बाँस्कोटाले पनि नेतृत्व बदल्नुपर्ने मत राखेका छन्। ‘अरू क्षति रोक्न जे भो-भो, हैन किन भो, कसरी भो र अब के, कसरी र कहिले गर्ने ? छिटो तर, सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गरौँ,’ उनले भनेका छन्, ‘अप्रिय लाग्ला, तर सत्य यही हो कि दलबिना गणतन्त्र बाँच्दैन । गणतन्तत्रबिना समाज, समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्छ, सबै तयार हुनैपर्छ ।’
बाँस्कोटा मात्रै होइन, एमाले सचिव योगेश भट्टराईले यति ठूलो उथलपुथल भएपछि नेतृत्व र संगठन नबदली एमालेले पार नपाउने बताए। एमाले अब हिजोजस्तो नभई युवामैत्री, प्रगगितशील र गतिशील हुनुपर्ने उनको भनाइ छ । पार्टी पुनर्गठन आफूहरूको महत्वपूर्ण जिम्मेवारी भएको भन्दै अब नेतृत्व र कार्यशैली फेर्नैपर्ने उनले बताए।
कांग्रेस महामन्त्री गगन थापाले पार्टीको पुनर्गठनका लागि आफू पद छोड्न तयार रहेको बताएका छन् । जेन-जी आन्दोलनपछि बारम्बार आफ्नो धारणा सार्वजनिक गर्दै आउनुभएका उनले पार्टी पुनर्गठन र आमूल परिवर्तनका लागि आफू सहर्ष पदत्याग गर्न तयार रहेको बताएका हुन् । अहिलेकै निरन्तरताले पार्टीको पुनर्निर्माण सम्भव नभएको उनको भनाइ छ । महामन्त्री थापाले कांग्रेस बदलिए मात्रै देश बदलिने भएकाले कांग्रेस बदल्ने अभियानमा जुट्न पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरे ।
दाग लागेको कांग्रेसको महामन्त्री बन्नुभन्दा सफा कांग्रेसको कार्यकर्ता भएर बस्न आफूलाई मन भएको उनको भनाइ थियो । ‘कांग्रेसले आत्मनिन्दा गरेर पनि हुँदैन । अहंकार पालेर पनि हुँदैन । कांग्रेसले आजको दिनमा गर्नुपर्ने भनेको आत्मा अवलोकन हो । आफ्नो बारेमा समीक्षा गर्नुपर्छ । यो देश बदल्नैपर्छ,’ उनले भने, ‘बदलिएको कांग्रेसले मात्रै यो काम गर्नसक्छ । तर, कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु, दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्ता मात्रै भएर बस्दा बडो मजा आउँछ । हामीले अहिले जसरी काम गरिरहेका छौँ, त्यसैको निरन्तरताले मात्र पार्टीको पुनर्निर्माण सम्भव हुँदैन । आमूल सुधारका लागि आवश्यक परे म महामन्त्री पद पनि छोड्न तयार छु।’
हिमालय टाइम्स दैनिकबाट