पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पालाई ल्याउने तयारी

पर्यटन मन्त्रीमा मिङ्मा डेविट शेर्पालाई ल्याउने तयारी

काठमाडौं। जेनजी आन्दोलनको बलमा अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी सुशीला कार्कीले सोमबार तीन जना मन्त्रीलाई नियुक्त गरिन्। उनीहरुले सोमबार नै सपथ लिएर कार्यभारसमेत सम्हालेका छन्।

६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नुपर्ने मुख्य कार्यभार लिएर प्रधानमन्त्री बनेकी कार्कीलाई निर्वाचनसँगै ध्वस्त संरचनाको पुननिर्माणसमेत गर्नुपर्ने बाध्यता छ। त्यही भएर उनले सम्बन्धित क्षेत्रका विज्ञलाई मन्त्री बनाएकी छन्।

तीन जना मन्त्रीलाई जिम्मेवारी दिएकी कार्कीले बाँकी मन्त्रालायमा पनि सोही क्षेत्रका विज्ञलाई ल्याउने तयारी गरेकी छन्। अर्थमन्त्रीमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा मन्त्रीमा नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक र गृह र कानुन मन्त्रीको जिम्मेवार वरिष्ठ अधिवक्तासमेत रहेका ओमप्रकाश अर्याललाई दिइएको छ।

अब बाँकी मन्त्रालयमा पनि विज्ञलाई ल्याउने गरी प्रधानमन्त्री कार्कीले तयारी थालेकी छन्।

यसैबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रीमा पर्यटन क्षेत्रका विज्ञसमेत रहेका पर्यटन व्यवसायी मिङ्मा डेविट शेर्पालाई ल्याउन तयारी भएको छ।

नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्षसमेत रहेका शेर्पालाई पर्यटन मन्त्री बनाउन जेनजी समूहको तर्फबाट सम्पर्क र छलफल भएको बताइएको छ।

युवा र पर्यटन क्षेत्रलाई अगाडि बढाउन सक्ने भिजन भएका शेर्पालाई मन्त्री बनाउनु पर्ने भन्दै जेन–जी समूहले प्रधानमन्त्री कार्कीलाई सुझाव दिएको छ।

सरकारको कार्यकाल छोटो भएपनि सो अवधिमा पर्यटन क्षेत्रमा निकै काम गर्न सकिने शेर्पा बताउँछन्। नेपालको प्रमुख आयस्रोतको माध्यम पर्यटक क्षेत्र भएकाले यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफूलाई राम्रो ज्ञान रहेको शेर्पाा बताउँछन्।

‘म पदको लागि मरिहत्ते गर्ने मान्छे होइन, तर अहिलेसम्म मैले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्दै आएको छु,’ शेर्पा भन्छन्, ‘देश र जनताको सेवा गर्ने मौका पाएँ भने इमान्दारिताका साथ भूमिका निर्वाह गर्छु।’

शेर्पाको कम्पनीले सगरमाथा आरोहण गर्न चाहनेहरुलाई सातै महादेशमा सगरमाथा आरोहणका लागि तालिम दिएर सगरमाथा आरोहणको लागि नेपाल ल्याउने गर्छ।

शेर्पा नेपाल पर्वतारोहण संघको प्रथम उपाध्यक्ष हुन्। उनी टे्रकिङ कम्पनी इलाइट एक्सपिडको डाइरेक्टर हुन्। यो कम्पनीमा किर्तिमानी आरोही निर्मल पुर्जाको पनि सेयर लगानी छ।

शेर्पा सन् २०१० देखि पर्यटन क्षेत्रमा सहभागी भएका हुन्। उनी पहिलो ताप्लेजुङका शेर्पा पहिलो पटक कन्चनजंगा हिमालय आरोहीको भरिया बनेर पर्यटन व्यवसायमा संलग्न भएका थिए। अहिलेसम्म उने ८ हजार मिटर उचाइका शिखरको ३५ पटक सफल आरोहण गरिसकेका छन्।

शेर्पाले अहिलेसम्म ५ वटा विश्व रेकर्ड बनाएका छन्। ती रेकर्ड गिनिज बुकमा रेकर्ड पनि गरिएको छ। उनले छोटो समयमा नै सगरमाथा र केटु हिमालको सफल आरोहण गरेको, सबैभन्दा कान्छो उमेरमा नै ८ हजार मिटर माथिका १४ वटै हिमालको सफल आरोहण गरेको र जाडो याममा केटु हिमालयको आरोहण गरेको रेकर्ड राखेका छन्। यस्तै, सबैभन्दा बढी ५ पटक केटु हिमालयको आरोहण गरेर पनि उनले विश्व रेकर्ड राखेका छन् भने उनले छैटौं पटक केटु हिमालको आरोहण गरेर आफ्नै रेकर्ड पनि भंग गरेर अर्काे रेकर्ड राखेका छन्।

पर्यटन व्यवसायी शेर्पा सामाजिक क्षेत्रमा सक्रिय व्यवसायी पनि हुन्। उनी १०० भन्दा बढी उद्धार कार्यमा संलग्न छन्। उनी सहभागी भएको उद्धार कार्यको ६ सेरिजमा प्राइम भिडियो नै निर्माण भएको छ। यस्तै, नेटल्फिक्समा सबैभन्दा बढी चलेको डकुमेन्ट्री फोटिन पिक्सको उनले नै सिनेमाग्राफी गरेका हुन्। यस्तै, सगरमाथामा सुटिङ गरिएको फाइन्डिङ माइकल नामक फिल्ममा उनी प्रमुख उद्धारकर्ताको भूमिकामा देखिन्छन्।

द च्यालेन्जर नामक रियालिटी शोमा पनि शेर्पा देखिन्छन्। सो शोमा उनी सगरमाथा आरोहण सिकाउने एक्सपिडिसन लिडरको रुपमा सहभागी छन्। यो रियालिटी शो सगरमाथामा नै सुटिङ गरिएको हो।

शेर्पाको कम्पनीले नेपालमा मात्रै वार्षिक ८ सय जनालाई प्रत्यक्ष रोजगारी दिने गरेको छ। शेर्पाको कम्पनी इलाइटले संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) मा सगरमाथा क्षेत्रमा पोर्टर हाउस निर्माण गरेको छ। यो हाउस करिब साढे ६ करोड रुपैयाँको लागतमा निर्माण भएको हो। सो पोर्टर हाउसको क्षमता करिब १०० जनाको छ। यद्यपि, सो पोर्टर हाउस निर्माणको नेतृत्व भने निर्मल पुर्जाको नाममा स्थापना भएको निर्मल दाइ फाउन्डेसनले लिएको हो।

सगरमाथा सरसफाइमा पनि शेर्पा संलग्न भएका छन्। शाहसिक पर्यटनको सबैभन्दा उपल्लो चरणको अनुभव गर्न चाहने पर्यकटकलाई नेपाल भित्र्याउन शेर्पाको सबैभन्दा ठूलो योगदान छ।

उनी जुन ५ मा रोयल जोग्राफी सोसाइटीले कन्चनजंगा आरोहणको ५० वर्ष पुगेको उपलक्ष्यमा बेलायतमा आयोजना गरेको कार्यक्रमा सहभागी भए। सो कार्यक्रममा शेर्पा प्रमुख वक्ता थिए भने बेलायती राजकुमार दर्शकदिर्घामा थिए। मिङ्माले कन्चनजंगा हिमाल आरोहणमा भरियाको रुपमा पर्यटन क्षेत्रमा प्रवेश गरेका थिए।

उनी अहिले नेपाल सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्नु सबैभन्दा पहिलो प्राथमिकता रहेको बताउँछन्।