जेन-जी विद्रोहपछि एमाले नेतृत्व संकटमा

जेन-जी विद्रोहपछि एमाले नेतृत्व संकटमा

काठमाडौं। भदौ २३ र २४ गतेको ‘जेन-जी’ नेतृत्वको विद्रोहले मुलुकको सत्ता संरचना मात्रै होइन, सत्तारूढ नेकपा (एमाले)को आन्तरिक जीवनलाई समेत हल्लाइदिएको छ। तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विद्रोहपश्चात् प्रधानमन्त्रीबाट हट्न बाध्य भए र अहिलेसम्म सेनाको कडा सुरक्षा घेराभित्र छन्।

उनी कहिले सार्वजनिक भई पार्टी गतिविधिमा फर्किन्छन् भन्नेबारे एमालेभित्र स्पष्टता छैन। यही कारणले पार्टीभित्र नेता-कार्यकर्ताको मनोबल खस्किँदै गएको छ। पार्टी कार्यालयहरू, नेताहरूका निजी घर र सम्पत्तिसम्ममा आक्रमण र आगजनी भएपछि एमालेजनहरू आफ्नै भग्नवशेष घरमुनि अभिभावकविहीन जस्तो महसुस गरिरहेका छन्। एक दर्जनभन्दा बढी नेता-कार्यकर्तासँगको कुराकानीमा उनीहरूले अब अध्यक्ष ओलीको नेतृत्वमा पार्टीलाई उठाउन नसकिने धारणा राखेका छन्। सार्वजनिक रूपमा भने अझै धेरैजसो बोल्न तयार छैनन्।

अध्यक्ष ओली सुरक्षा घेराभित्र रहेकाले सिधा सम्पर्क हुन नसक्दा पार्टीको केन्द्रीय गतिविधि रोकिएको छ। यद्यपि, महासचिव शंकर पोखरेलले प्रदेश र जिल्ला अध्यक्षहरूसँग भर्चुअल संवाद सुरु गरेका हुन्। उनले नेता-कार्यकर्तालाई ढाडस दिँदै तत्काल क्षति भएका सम्पत्तिको सरकारी अभिलेखका लागि मुचुल्का उठाएर मात्र सरसफाइ गर्न आग्रह गरेकी छन्।

भर्चुअल बैठकमा मुलुकको पीडापूर्ण अवस्थालाई सम्बोधन गर्दै पोखरेलले जनजीवन सामान्य पार्न सबै मिलेर लाग्नुपर्ने र राजनीतिक गतिविधि पनि निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। तर, ‘जेन-जी’ विद्रोहको आधिकारिक समीक्षा अझै हुन बाँकी भएको भन्दै उनले नेतृत्वमाथि आलोचना नगर्न पनि आग्रह गरेका थिए।

नेतृत्वमाथि प्रश्नैप्रश्न
 

उपाध्यक्ष सुरेन्द्र पाण्डेले विद्रोहकै दिन अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट ओलीलाई राजीनामा गर्न सार्वजनिक माग गरेका थिए। उनले भदौ २४ गते बिहान बानेश्वरमा भएको ठूलो मानवीय क्षतिको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताएका थिए। पार्टीका अन्य नेताहरू पनि यही धारणा राख्दै पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। उपाध्यक्ष युवराज ज्ञवालीले समेत यो घटनाको नैतिक जिम्मेवारी ओलीले लिनुपर्ने बताएका छन्।

सचिवालय र स्थायी कमिटी तहमा हालसम्म औपचारिक छलफल नचल्दासम्म सचिव योगेश भट्टराई लगायतका नेताहरूले आत्मालोचनासहित संगठन र नेतृत्वलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने आवाज उठाएका छन्। पार्टीभित्रै विचार, सिद्धान्त र दृष्टिकोण मात्र होइन, कार्यशैली पनि परिवर्तन गर्नुपर्ने सबक जनताले सिकाएको उनीहरूको धारणा छ।

युवा पुस्ताले पार्टी हाँक्नुपर्ने आवाज
 

‘जेन–जी’ आन्दोलनपछि पुराना पार्टीहरू पुरानै ढंगले चल्न नसक्ने बहस चर्किएको छ। एमालेभित्र पनि अहिलेको नेतृत्वलाई कार्यकारी पदबाट बिदा गरेर युवा पुस्ताबाटै पार्टी सञ्चालन गर्नुपर्ने आवाज सुनिन थालेको छ। महासचिवभन्दा माथिका नेताहरूलाई संरक्षकका रूपमा राखेर उपमहासचिव वा सचिवस्तरका नेताहरूलाई कार्यकारी जिम्मेवारी दिने प्रस्तावसम्म आएको छ।

स्रोतका अनुसार प्रदीप ज्ञवाली वा योगेश भट्टराईलाई तत्कालका लागि कार्यकारी नेतृत्वमा ल्याउने सोच कतिपय नेताहरूमा देखिएको छ। हाल अध्यक्ष, महासचिवसहित १९ पदाधिकारी रहेका एमालेमा अध्यक्ष, महासचिव र सात उपाध्यक्षलाई संरक्षकमा राखेर बाँकीलाई कार्यकारी बनाउने मोडेलबारे छलफल भइरहेको छ।

एमालेभित्रको पुनर्गठन बहसमा नेपाली कांग्रेसको कदमलाई पनि हेरिने देखिएको छ। कांग्रेसले नेतृत्वमा परिवर्तन ल्याएमा एमालेले सोहीअनुसार रणनीति बनाउन सक्ने संकेत नेताहरूले दिएका छन् । यता, एमालेबाट विभाजित नेकपा (एकीकृत समाजवादी)सँग पनि दोस्रो पुस्ताका नेताहरूले अनौपचारिक संवाद बढाएका छन् ।

उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, स्थायी कमिटी सदस्य विन्दा पाण्डे, पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटा, कर्ण थापा, केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालगायत पुनर्गठनको पक्षमा खुलेका छन् । बाँकी नेताहरू पनि धेरैजसो यही धारणा राखे पनि खुल्न सकेका छैनन् । गोकुल बाँस्कोटाले ‘अरू क्षति रोक्न जे भयो-भो, तर किन भयो, कसरी भयो र अब के गर्ने ?’ भन्दै छिटो तर सुविचारित निर्णय गरी पार्टीलाई पुनर्गठन गर्नुपर्नेमा जोड दिएका छन्। उनले ‘दलबिना गणतन्त्र बाँच्दैन, गणतन्तत्रबिना समाज बाँच्दैन” भन्दै समय, परिवेश र प्रकृतिको नियमले नेतृत्व बदल्ने भएकाले सबै तयार हुनुपर्ने बताएका छन्।