इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

काठमाडौं। इरानी सञ्चारमाध्यमहरूले मंगलबार दुई ग्यास संयन्त्र र एक पाइपलाइनलाई लक्षित गरी हमला भएको दाबी गरेका छन्। फार्स न्युज एजेन्सीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा पूर्वाधारमा हमला नगर्न निर्देशन दिएको केही समयपछि यस्तो घटना भएको बताइएको छ।

फार्सका अनुसार इस्फहानस्थित कावेह स्ट्रिटमा रहेको ग्यास प्रशासन भवन र ग्यास प्रेसर रेगुलेसन स्टेसनलाई इजरायली र अमेरिकी पक्षबाट निशाना बनाइएको हो। केन्द्रीय इरानमा रहेका यी संरचनामा सामान्य क्षति पुगेको जानकारी दिने फार्स मात्र एकमात्र सञ्चारमाध्यम हो।

यसबाहेक दक्षिण–पश्चिमी इरानको खोर्रमशहर पावर प्लान्टसँग जोडिएको ग्यास पाइपलाइनलाई पनि लक्षित गरी हमला गरिएको दाबी गरिएको छ। इराक सीमासँग जोडिएको उक्त सहरका गभर्नरलाई उद्धृत गर्दै फार्सले जनाएअनुसार ग्यास पाइपलाइन प्रोसेसिङ स्टेसन बाहिरको क्षेत्रमा एक प्रोजेक्टाइल खसेको थियो । यद्यपि, उक्त घटनाबाट प्लान्टको सञ्चालनमा कुनै अवरोध नआएको र ठूलो क्षति नभएको जनाइएको छ।

यसअघि राष्ट्रपति ट्रम्पले मध्यपूर्वमा तनाव कम गर्न प्रयास भइरहेको दाबी गर्दै पाँच दिनसम्म इरानका ऊर्जा संयन्त्रमा हमला नगर्न निर्देशन दिएको बताएका थिए। उनले इरानसँग सकारात्मक र रचनात्मक संवाद भइरहेको पनि उल्लेख गरेका थिए।

तर इरानले भने वर्तमान द्वन्द्वमा पछि नहट्ने स्पष्ट संकेत दिएको छ । इरानी पक्षले आफूलाई पुगेको क्षतिको क्षतिपूर्ति नहुन्जेल संघर्ष जारी रहने बताएको छ। साथै, इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकारले सबै आर्थिक प्रतिबन्ध हटाउन र भविष्यमा अमेरिकाले हस्तक्षेप नगर्ने ठोस ग्यारेन्टी दिनुपर्ने सर्त अघि सारेका छन्।