काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले वर्तमान सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका छन् । उनीहरूले सरकारको कार्यशैली, अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक संस्था र शासकीय क्षमतामाथि प्रश्न उठाएका हुन् ।
रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री शिवाकोटीले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए । उनले आफू विदेशमा रहेका बेला साइबर ब्युरोमा उजुरी परेको र त्यसकै आधारमा प्रहरीले बोलाएर प्रधानमन्त्री, उनका सल्लाहकार तथा उनीनिकट व्यक्तिहरूबारे लेखिएको सामग्री हटाउन दबाब दिएको बताए ।
‘म काठमाडौंमा नभएको अथवा नेपालमा नभएको बेलामा मलाई साइबर ब्युरोमा एउटा उजुरी हालिएको थियो । साइबर ब्युरोमा हालेको उजुरीको आधारमा प्रहरीले बोलाउँछ र प्रधानमन्त्री, उनका सल्लाहकार, उनका वरिपरिका मानिसहरूको सन्दर्भमा लेखिएको कन्टेन्ट हटाउन भन्छ । त्यसमा राजनीतिक रूपमा अडान लिँदै गर्दा पनि कम्प्रमाइज गर्न दबाब दिन्छ,’ उनले भने ।
उनले राजनीतिक दलको पदाधिकारीमाथि नै यस्तो व्यवहार भइरहेको अवस्थामा आम नागरिकले कस्तो अवस्था भोग्नुपरेको होला भन्ने प्रश्न गरे । मिडिया हाउसमा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनाले पनि अभिव्यक्ति स्वतन्त्रताको अवस्था स्पष्ट पारेको उनको भनाइ थियो ।
‘राजनीतिक दलको एकजना पदाधिकारी तहको व्यक्तिलाई त सरकारले यो गरिरहेको छ भने आम नागरिकलाई उसले के गरिरहेको छ? तपाईँ–हामीले सजिलै अनुमान गर्न सक्छौँ,’ उनले भने ।
शिवाकोटीले लोकतन्त्र निर्वाचनबाट सरकार गठन र सत्ता हस्तान्तरणमा मात्रै सीमित नहुने बताए । राज्यका निकाय, संवैधानिक अंग, सञ्चारमाध्यम र कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढिरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताए ।
उनले सरकार र सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीबीच समेत समन्वय अभाव देखिएको टिप्पणी गरे । सरकार र पार्टीका तर्फबाट मिडियासम्बन्धी घटनामा आएका धारणा एकअर्कासँग मेल नखाएको उनको भनाइ थियो ।
‘सरकार र सरकार चलाइरहेको दलबीच समन्वय हुनुपर्ने थियो, त्यो भएको देखिँदैन । मिडियाका साथीहरूको कार्यालयबाट पत्रकार उठाइँदै गर्दा सरकारको तर्फबाट आएको स्पष्टीकरण र पार्टीका तर्फबाट प्रवक्ताले जारी गरेको वक्तव्यमा कहीं तादात्म्यता छैन,’ उनले भने ।
त्यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले दुई तिहाइ बहुमतको सरकार बनेको केही महिनामै सरकार ढल्ने चर्चा हुनु आफैँमा गम्भीर विषय भएको बताए । उनले सरकारको स्थायित्वमाथि उठिरहेका प्रश्नको जवाफ सत्तारूढ दल र सरकारले दिनुपर्ने बताए ।
‘सरकार बनेको सात–आठ महिना बित्न पाएको छैन, सरकार ढल्ने चर्चा परिचर्चा किन? एउटै राजनीतिक दलको दुई तिहाइ बहुमतको सरकार भएको बेलामा आजै सरकार ढल्छ र भोलि ढल्छ भन्ने राष्ट्रिय बहसको प्राथमिक विषय बन्नुपर्ने कारण के हो?’ उनले प्रश्न गरे ।
गैरेले अहिलेको सरकार ढलेमा त्यसको मुख्य कारण स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी र सरकार नै हुने दाबी गरे। एमाले वा कांग्रेसको सिट संख्याका कारण सरकार नढल्ने उल्लेख गर्दै उनले सरकार आफ्नै अयोग्यता र अक्षमताका कारण संकटमा पर्न सक्ने बताए ।
‘आज यदि यो सरकार ढल्यो, प्रधानमन्त्री बदलियो भने त्यसको एउटै मात्रै मुख्य कारण भनेको स्वयं रास्वपा र स्वयं सरकार हुनेछ । उसको कारणले मात्रै यो सरकार ढल्छ र प्रधानमन्त्री बदलिन्छ,’ उनले भने ।
उनले वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति सुरक्षा र न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए । बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, सडक यातायातको अव्यवस्था र विपद् प्रभावितले भोगिरहेका समस्यालाई सरकारको कार्यशैलीसँग जोड्दै उनले आलोचना गरे ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको घर र सम्पत्ति बगिसक्दा पनि बिजुलीको बिल आउने गरेको उल्लेख गर्दै उनले पीडितहरू आफ्ना समस्या समाधानका लागि आन्दोलन गर्न बाध्य भएको बताए ।
गैरेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको प्रसंग उठाउँदै राष्ट्रिय स्वाभिमान र सीमा विवादका विषयमा स्पष्ट धारणा राखेर मात्रै भ्रमणमा जानुपर्ने बताए ।
‘प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि संसद्मा उहाँले बोल्नुभएको नेपालले पनि भारतको धेरै ठाउँमा सीमा मिचेको छ भन्ने कुरा फिर्ता लिएर भारत जानुहुन्छ कि? वा नेपालको कुनै भूमि भारतले मिचेको भूमि हो, तपाईँलाई फिर्ता ल्याइदिएको छु भनेर कसैले लिएर जानुहुन्छ?’ उनले प्रश्न गरे ।
नेपालको भूमि र राष्ट्रिय स्वाभिमानका विषयमा स्पष्ट धारणा राख्नुपर्ने उनको भनाइ थियो ।