मन्त्री चौधरी र चिनियाँ वातावरणमन्त्री रुनछ्युबीच द्विपक्षीय भेटवार्ता: हिमालय जलवायु संयन्त्रमा सहयोगको अपेक्षा

मन्त्री चौधरी र चिनियाँ वातावरणमन्त्री रुनछ्युबीच द्विपक्षीय भेटवार्ता: हिमालय जलवायु संयन्त्रमा सहयोगको अपेक्षा

काठमाडौं।  कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी र चीनका पारिस्थितिकी तथा वातावरणमन्त्री ह्वाङ रुनछ्युबीच द्विपक्षीय भेटवार्ता भएको छ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) का अवसरमा बिहीबार सो भेटवार्ता भएको हो। छलफलका क्रममा मन्त्री चौधरीले प्रस्तावित ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापनाका लागि चीनबाट पूर्ण सहयोग र समर्थनको अपेक्षा गरिन्।

भेटमा मन्त्री चौधरीले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम साझा सीमापार चुनौती भएकाले यसको सामना गर्न बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताइन्। उनले गत अगस्ट २६ मा रसुवा–भोटेकोसी क्षेत्रमा आएको विपद्पछि चीनले उपलब्ध गराएको सहयोग तथा माथिल्लो तटीय क्षेत्रको मौसम, हिमनदी र हिमताल जोखिमसम्बन्धी नियमित सूचना आदानप्रदानप्रति आभारसमेत व्यक्त गरिन्।

छलफलका अवसरमा मन्त्री चौधरीले कोप–३१ को निर्णयमा पर्वतीय क्षेत्रका मुद्दालाई उच्च प्राथमिकता दिनुपर्ने, तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्नुपर्ने तथा जलवायु अनुकूलनका लागि पर्याप्त वित्त सुनिश्चित गर्नुपर्ने नेपालको दृढ धारणा स्पष्ट राखिन्।