चीन जान लागेका रास्वपा सांसदहरूलाई प्रधानमन्त्री बालेनकाे यस्ताे निर्देशन

चीन जान लागेका रास्वपा सांसदहरूलाई प्रधानमन्त्री बालेनकाे यस्ताे निर्देशन

सिंहदरबारमा बोलाएर रास्वपा संसदीय दलका नेता समेत रहेका शाहले छलफल गरेका हुन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल कार्तिक २९ गतेदेखि चीनको भ्रमण जाँदैछ।

भ्रमणअघि प्रधानमन्त्रीले आफूहरूलाई बोलाएर आवश्यक निर्देशन दिएको प्रमुख सचेतक कवीन्द्र बुर्लाकोटीले बताए। उनले भने, ‘हामीले भ्रमणको बारेमा केही कुराहरू राख्यौँ, दुई देशबीचको सम्बन्ध र हामी जाँदा अपनाउनुपर्ने सावधानीका कुरामा प्रधानमन्त्रीबाट केही निर्देशन भयो।’ प्रधानमन्त्रीले पार्टीका सांसदहरूको भ्रमण फलदायी हुने विश्वास भेटमा व्यक्त गरेको उनले बताए।

उनले भने, ‘दुई देशको सम्बन्धलाई प्रगाढ बनाउनेमा भ्रमणलाई सफल बनाउनुहोला भन्ने हिसाबको निर्देशन भयो। हाम्रो देशले चीनबाट लिनसक्ने विभिन्न लाभ धेरै हुनसक्छन्, जस्तै टेक्नोलोजी, व्यापारिक, आर्थिक लाभसहित अरू आयामहरू हुनसक्छन्, पर्यटनका कुराहरू हुनसक्छन्। सँगसँगै कृषिको आधुनिकीकरणका कुराहरू चीनबाट धेरै कुराहरू हामीले लिएर आउन सक्छौँ। यो चिजमा अलि बढी ध्यान दिएर गर्नुहोला भन्नुभयो।’

उनले भ्रमण घुमघामको लागि मात्रै सीमित नगर्न निर्देशन भएको पनि बताए। बुर्लाकोटीले थपे, ‘भ्रमणमा घुमघाम मात्रै नहोस्, दुई देशको हितको लागि र विशेषगरी नेपालको हितको लागि काम गर्नसक्ने हिसाबको भ्रमण होस् भन्ने हिसाबको निर्देशन भएको छ।’

भ्रमण १० दिनको हुने उनले बताए। महामन्त्री आचार्यको नेतृत्वमा हुने भ्रमणमा गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी सहभागी हुनेछन्।

यस्तै, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी हुनेछन्।