काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार नियुक्त चार जना न्यायाधीशले राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासमक्ष सर्वोच्च अदालतका न्यायाधीश डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीले शुक्रबार शपथ लिएका हुन् ।
नवनियुक्त न्यायाधीशमध्ये डा बाग्चन्द उच्च अदालत पोखराका मुख्य न्यायाधीश थिए। त्यस्तै, सारु उच्च अदालत पाटन, पाण्डे उच्च अदालत पाटनको हेटौँडा इजलास र डाँगी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा न्यायाधीशका रूपमा कार्यरत थिए ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्यायपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बिहीबार चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका हुन् ।