काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति तथा एमाले पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीलाई मानार्थ सदस्यता दिन प्रतिनिधिहरुले प्रस्ताव गरेका छन्।
एमाले विधान महाधिवेशनमा भण्डारीको सदस्यता होल्ड गर्ने केन्द्रीय कमिटीको निर्णयमा छलफल गर्ने एजेण्डा नभए पनि राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनको छलफलमा सहभागीहरुले यस्तो धारणा राखेका छन्।
भण्डारीलाई सदस्यता दिनुपर्ने र उनलाई राजनीतिमा ल्याउन नहुने दुईथरी मत आइरहेका बेला प्रतिनिधिहरुले मध्यमार्गी प्रस्ताव अघि सारेका हुन्।
पार्टी केन्द्रीय कमिटीले भण्डारीलाई सदस्यता दिन नमिल्ने भन्दै उनको नविकरण भईसकेको सदस्यता होल्ड गर्ने निर्णय गरेको थियो। तर भण्डारीले पार्टी सदस्यताका लागि निरन्तर संघर्ष गरिरहेकै बेला प्रतिनिधिले मनार्थ सदस्यता दिन सुझाएका छन्। पार्टीको कार्यकारी पदमा आउनमा रोक लगाउने गरी मानार्थ सदस्यता दिनुपर्ने प्रतिनिधिको सुझाव छ।
बागमती प्रदेशबाट सहभागी एक प्रतिनिधिले पार्टीको कार्यकारी पदमा रोक लगाउने गरी मनार्थ सदस्यता पार्टीले दिनुपर्ने बताए। यसरी गर्दा भण्डारीको सदस्यता विवाद पनि समाधान हुने बुझाइ उनको छ।
शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनको पहिलो दिन अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्ताव, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव, महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराले आफ्ना दस्तवेज प्रस्तुत गरेका थिए।
दोस्रो दिन शनिबार केन्द्रीय निर्वाचन आयोग अध्यक्ष डा.विजय सुब्बा, लेखा आयोग अध्यक्ष डा.पुष्प कँडेल र अनुशासन आयोग अध्यक्ष केशव वडालले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए। ती सबै प्रतिवेदनमा छलफल गर्नका लागि गठित १० समूहले दिनभर छलफल गरेका छन्।
समूहको टोली नेताबाट हलमा हुने प्रस्तुतिका समयमा बहस नोटका लागि सचिव लेखराज भट्टको संयोजकत्वमा कमिटी बनाइएको छ। महाधिवेशन आइतबार सम्पन्न हुँदैछ।
फरक मत निषेध, तर कसैले गरेनन् प्रतिवाद
नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा फरक मत राख्नेलाई निषेध गरिएको छ । बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनमाथि फरक मत राख्न खोज्दा स्थायी कमिटीका सदस्य कर्णबहादुर थापालाई बोल्ने समय दिइएन ।
शनिबार विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्दै बोल्ने समय दिएनन् ।
थापाले बोल्न खोज्दा अध्यक्ष ओलीले समय अभाव भन्दै समूहमै आफ्ना कुरा राख्न आग्रह गरेका थिए । अध्यक्ष ओलीले थापाको मूल प्रतिवेदनमा कुनै फरक मत नरहेको र विधान संशोधनको प्रस्तावमा समूहमै छलफल गर्न सकिने उल्लेख गर्दै हलमा अन्य प्रतिनिधिले पनि बोल्न चाहेमा समय दिने नदिने भन्ने प्रश्न आउने भएकाले समूहमा गहन छलफल गर्न सबैमा आग्रह गरेका थिए ।
ओलीको आग्रहप्रति हलमा सहभागी प्रतिनिधिले ताली बजाएर समर्थन गरेका थिए । अध्यक्ष ओलीसँग सहमति लिएर नेता थापाले आफ्ना मतहरु पर्चामार्फत् शुक्रबार हलमा वितरण गरेका थिए ।
फरक मत राख्ने भनेर स्थायी कमिटीका सदस्य कर्ण थापाले समय मागेका थिए । तर केपी शर्मा ओलीले उनलाई बोल्ने समय नदिएर आफ्नो फरक मत समूहमै राख्ने भने ।
तर थापा हलमा आधा घण्टाभन्दा बढी समय उभिराखे । तर पनि उनले समय पाएनन् । थापाले समय नपाउँदा र उभिराख्दा उनको पक्षमा बोल्ने एक जनामा पनि भएनन् ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्धय युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेले समेत थापालाई बोल्न दिनुपर्ने भन्ने बोल्न सकेनन् । ओली समूहकै नेताका अनुसार विधान महाधिवेशनमा भण्डारी समूहको दुई सय जना प्रतिनिधि हुन सक्ने अनुमान गरेका थिए । तर थापा हलमा बोल्नका लागि उभिदै गर्दा पदाधिकारी वा प्रतिनिधि कोही पनि उनको पक्षमा बोल्ने साहस गरेनन् ।
‘कर्णजी फरक मत राख्नका लागि आधा घण्टाजति उभिनुभयो । उहाँले समय नपाएर उभिदै गर्दा उनको पक्षमा कोही पनि प्रतिनिधि वा पदाधिकारी देखिएनन् । कम्तीमा पनि केही प्रतिनिधिले बोल्न दिनुपर्ने हुटिङ गरेको भए हुन्थ्यो । तर त्यस्तो केही देखिएन्,’ एक प्रतिनिधिले भने ।
१० समूहमा छलफल
एमालेको दोस्रो विधान महाविधेशनमा शनिबार विभिन्न १० समूहमा प्रतिवेदनमाथि छलफल भएको छ । प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजनगरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।
उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकेर प्रतिवेदन लेखन थालनी गरिसकेको छ । प्रतिवेदनमाथि मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन् ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसंगठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेका छन् ।
प्रचार विभाग प्रमुख गौतमले शनिबार छलफल सकेर आइतबार प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए । उनले समूहगत रूपमा प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुंगो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए । उनले समसामयिक प्रस्ताव पारित महाधिवेशन सम्पन्न हुने बताए ।
केन्द्रीय सदस्यको संख्या नघटाउन सुझाव
विधान महाधिवेशनमा सहभागी प्रतिनिधिले केन्द्रीय कमिटीको सदस्य संख्या नघटाउन सुझाव दिएका छन् । विधान संशोधन प्रस्तावमाथिको छलफलमा सहभागि प्रतिनिधिले केन्द्रीय सदस्यका साथै पदाधिकारीको संख्या घटाउन नहुने सुझाव दिएका छन् ।
उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव गरेको विधान संशोधन प्रस्तावमा केन्द्रीय कमिटी २ सय ५१ सदस्यीय हुने भनिएको छ । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३ सय १ सदस्यीय कमिटीलाई घटाएर २ सय ५१ कायम गरिएको छ ।
संशोधन प्रस्तावका १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ जना हुने प्रस्ताव छ । विधानको धारा १६(२)मा १५ सदस्यीय पदाधिकारीसहित २ सय ५१ जनाको केन्द्रीय कमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले पेस गरेका छन् ।
प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ भने ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा कायम गर्ने उल्लेख छ । पदाधिकारीमा महिला एक जना अनिवार्य गरिएको छ । स्थायी कमिटी र पोलिटब्युरो सदस्यको संख्या पनि घटाइएको छ । धारा १७(२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर १५ जना पदाधिकारीलाई मात्र स्थायी कमिटीका रूपमा राख्ने प्रस्ताव गरिएको छ । ९९ सदस्यीय पोलिटब्युरोको संख्या घटाएर बढीमा एकतिहाइ रहनेगरी निर्वाचनमार्फत पोलिटब्युरोको पूर्ति निर्वाचन प्रक्रियाबाट गरिने प्रस्ताव गरिएको छ ।
उपमहासचिव पनि तीन जनाबाट घटाएर दुई बनाउने, सचिव पाँच जनाबाट घटाउने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव तत्कालका लागि व्यवहारिक नभएको प्रतिनिधिहरूले सुझाव दिएका छन् ।
मधेस प्रदेशबाट सहभागी एक प्रतिनिधिले पदाधिकारी घटाउदा पार्टीभित्र असन्तुष्टि बढ्ने भन्दै नघटाउन सुझाव दिइएको बताए । ‘मिशन २०८४ भन्दै गर्दा पदाधिकारी वा केन्द्रीय कमिटीमा आउँन सक्ने नेता नआएपछि मिसन नै प्रभावित हुन सक्छ । पार्टी विचार भन्दा जिम्मेवारी नपाउँदा विभाजन हुने कारण धेरै छन,’ उनले भने ।
राजधानी दैनिकबाट