बालेन समूहमा विभाजन, कुलमान निर्णायक संवादमा

बालेन समूहमा विभाजन, कुलमान निर्णायक संवादमा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी एकता अभियान सुरुवातमै अल्झन झेल्नुपरेको छ । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग एकता घोषणा गरेको रास्वपाले एकतालाई पूर्णता तथा शपथग्रहणसहित वैधता दिन सकेको छैन ।

एकताले आकार नलिँदै रास्वपामा असन्तुष्टि

मेयर बालेन समूह र पूर्वमन्त्री कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने घोषणा भए पनि केन्द्रीय समिति विस्तार र प्रत्यक्षतर्फका उम्मेदवार सिफारिसमा न्यूनतम सहमतिको साझा आधार तयार गर्न नसकेपछि पार्टीमा अन्तर्विरोध चर्किएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीको नाम, चुनाव चिह्न र पार्टीको मूल नेतृत्व अर्थात् सभापति रवि लामिछानेलाई स्वीकारेर एकीकृत पार्टीमा जोडिएका मूल नेताले सिंगो अभियानलाई एकीकृत गर्न नसकेको भन्दै जेनजी अभियन्ता सुधन गुरुङलगायतले चिन्ता व्यक्त गर्न थालेका छन् । रास्वपाको अन्तरपार्टी वरीयतादेखि उम्मेदवार छनोट विषयमा समेत विवाद बढ्न थालेपछि नेताका भेटवार्ता बाक्लिएको छ ।

उज्यालो नेपालका तर्फबाट एकता सम्झौतामा हस्ताक्षर भएपछि घिसिङलाई बालेनपछिको वरीयतामा उपसभापति र उनका योजनाकार सहयोगी जीतराम लामालाई सहमहामन्त्री बनाउने सहमतिअनुसार प्रक्रिया अगाडि बढेको छ । कार्यसमितिमा वरीयता सहमति र कार्यान्वयन ढाँचा तय नभइसकेकाले घिसिङले आफूलाई अझै रास्वपा उपसभापति स्वीकार गरिसकेका छैनन् । बुधबार मन्त्री पदबाट राजीनामा गरेका घिसिङले आफू उज्यालो नेपाल पार्टी र रास्वपाबीचको एकतामा साक्षी रहेको स्वीकारे पनि अहिलेसम्म पार्टीको जिम्मेवारीमा नरहेको र अब सक्रिय हुने बताएका थिए ।

बालेन समूहमा विद्रोह

काठमाडौं महानगरपालिका प्रम्ख शाहलाई निर्वाचित गराउँदै वैकल्पिक राजनीति मानिने स्वतन्त्र अभियानका प्रवर्धकले ‘लौरो’ चुनाव चिह्न फिर्ता दिन दबाब दिँदै बिहीबार बुद्धनगरमा विशेष भेला गरे । बुद्धनगर भेलाले ‘लौरो अभियान’ बालेनको एकल विवेकअनुसार चल्ने नभएको बताउँदै संगठितरूपमा आफूहरू निरन्तर रहने बताए । बालेनबाट विद्रोह गरेका डम्बर साहु, विनोद बजगाईं र राजानन्द माण्डव्यले पत्रकार सम्मेलन गर्दै बालेन समूहमा विद्रोह भएको बताएका छन् । उनीहरूले ६ बुँदे मागपत्र राख्दै ‘लौरो’ चिह्न अन्यत्र प्रयोग गर्न वा बालेनको नाममा बिसर्जन हुन नदिने चेतावनीसमेत दिएका छन् ।

कुलमानको आशंका

राष्ट्रिय स्वतन्त्र पार्टीसँग अन्तिम समयमा एकतामा उभिएका कुलमान घिसिङ अझै सन्तुष्ट रूपमा रास्वपामा एकाकार भएर उभिन नसकेको उनको अभियानमा सुरुदेखि लागेका एक नेताले बताए । केन्द्रीय समितिमा पदाधिकारी र सदस्यको संख्या यकिन नभएको, समानुपातिकतर्फ पेस गरी विवाद भएका नामको विषयमा पार्टीले जिम्मेवारी नलिएको र प्रत्यक्षतर्फको सिट र उम्मेदवार विषयमा समेत सन्तुष्ट हुनेगरी विश्वास नदिलाएको भन्दै कुलमानले आशंका जनाएका छन् ।

काठमाडौं उपत्यकादेखि कुलमानको रोजाइमा रहेका केही क्षेत्रमा रवि नेतृत्वको साबिक रास्वपाका नेताले हस्तक्षेप गरेको र आफूभन्दा बालेन हाबी भएकोमा पनि कुलमानमा आशंका छ । कुलमान समूहबाट एकता प्रक्रियामा आएकाको राजनीतिक तथा सामाजिक हैसियत र योगदान कमजोर रहेको भन्दै कुलमान समूहले सामाजिक सञ्जालको ‘फलोअर’कै ‘फर’मा मात्रै पार्टी नचल्ने भन्दै असन्तोष जनाएका छन् । शुक्रबार साविक उज्यालो नेपालतर्फका नेता छलफल गरेर ‘रास्वपासँग कसरी जाने ?’ भन्ने विषयमा परामर्श भएको छ । मन्त्री पदबाट घिसिङले राजीनामा दिएपछि पनि रास्वपा संस्थापन अर्थात् रवि पक्षधरले सम्मानजनक व्यवस्थापनमा चासो नदिएपछि समस्या हुने कुलमान पक्षले आशंका गरेका छन् ।

विधि र कार्यशैली बाधक

प्रतिनिधिसभा निर्वाचनका लागि एकता गरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साबिक कायम रहेको विधिमा ‘ब्रेक’ लगाएपछि गत निर्वाचनदेखि विधिमा चलेका रास्वपा कार्यकर्तामा बिचलन देखिएको पाइएको छ । एकीकृत पार्टीमा बालेन समूह र कुलमान समूहका नाममा थपिएका पदाधिकारी र समानुपातिक सूचीले असन्तुष्टि चुलिएको रास्वपाका एकजना पदाधिकारीले बताए ।

उनले भने, ‘पार्टीको नाम, सभापति र चुनाव चिह्न मानेका आधारमा हामीले निःसर्त र खुसी मानेर पार्टी एकता त ग¥यौं, तर हामीले बनाएको विधि जोगिएन, अब जोगाउन पनि कठिन छ ।’ पुराना दललाई गाली गर्दै उदाएको वैकल्पिक राजनीतिको सबैभन्दा बलियो देखिएको पार्टी रास्वपाको पदाधिकारीमा एक जनामात्रै महिला भएको भन्दै सामाजिक सञ्जालमा विरोध भइरहँदा बालेन र कुलमाननिकट भएकै आधारमा पदाधिकारी भएकालाई सिंगो पार्टीको व्यवस्थित संरचना र विधिले ‘कसरी बोक्ला भन्ने ?’ भन्ने द्विविधा नेतामा बढेको बताइन्छ ।

रास्वपाले ५० हजार रुपैयाँ शुल्कसहित ‘प्रि इलेक्सन’ गरेर छानेका समानुपातिक प्रणालीतर्फका उम्मेदवारलाई अन्तिम समय ‘साइड’ लगाएर बालेन–कुलमान समूहले ल्याएका नामका कारण भएको विवादपछि १२ उम्मेदवारको नाम फिर्ता भएको छ । यसरी समानुपातिक प्रणालीमा छानिएका उम्मेदवार विवाद भएपछि त्यसको जोखिम रास्वपा नाम र घण्टी चुनाव चिह्नले बहन गर्नुपर्ने भन्दै रास्वपा पदाधिकारीमा नै असन्तुष्टि बढेको छ ।

प्रत्यक्षको प्रचारमा अनुशासनको डन्डा

रास्वपाको प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी चयनमा जटिलता भएको छ । रास्वपाको देशभर कुनै न कुनै रूपमा निर्माण भइसकेको संगठन र अघिल्लो निर्वाचनदेखि यतिञ्जेल पार्टी चलाइरहेकाको उम्मेदवारी आकांक्षा बढेपछि मिलाउन कठिन भएको सिफारिस समितिले जनाएको छ । उम्मेदवारको चर्चादेखि सिफारिस आमरूपमा जान थालेपछि पार्टीले कार्यकर्ता पंक्तिलाई अनुशासित हुन भन्दै निर्दे शनपत्र नै जारी गर्न‘परेको छ । रास्वपाले बिहीबार निर्देशन जारी गर्दै प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवारीको प्रचार सामग्री तत्काल सामाजिक सञ्जालबाट हटाउन भनेको छ । बिहीबार रास्वपा उम्मेदवार छनोट सिफारिस उपसमितिले सूचना प्रकाशित गरी उम्मेदवार तय नहुँदै प्रचार सामग्री नराख्न भनेको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रत्यक्षतर्फका आकांक्षी उम्मेदवारमध्ये केहीले उम्मेदवारका रूपमा औपचारिक आवेदन दिई वा नदिई सामाजिक सञ्जालमार्फत आफ् ना उम्मेदवारीको प्रचारप्रसार गरेको देखिन आएकाले यसप्रकारको गतिविधिले नयाँ तथा बाँकी आकांक्षी सदस्यलाई निरुत्साहित गर्ने अवस्था भएको हुँदा यस्ता सबै प्रचारप्रसार कार्य तत्काल रोक्न तथा यसअघि सामाजिक सञ्जालमा राखिएका यस्ता सामग्री हटाउन निर्देशन गरिन्छ,’ रास्वपाले भनेको छ ।

राजधानी दैनिकबाट