ओलीलाई भेट्दा प्रचण्डले किन राख्न थाले झलनाथ साक्षी ? रोचक छ कारण

ओलीलाई भेट्दा प्रचण्डले किन राख्न थाले झलनाथ साक्षी ? रोचक छ कारण

पछिल्लो समय नेकपाका अध्यक्षद्वय एक्लाएक्लै भेट्न छाडेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो ३ पटक वरिष्ठ नेता झलनाथ खनाललाई सहभागी गराएका छन् ।

यसक्रममा पछिल्लो २ भेटमा ओलीको तर्फबाट भने पार्टी संसदीय दलका उपनेता सुवास नेम्वाङ साक्षी बसेका छन् ।

झण्डै एक साता लामो संवादहीनता तोड्दै आइतवार ओलीलाई भेट्ने क्रममा प्रचण्ड झलनाथलाई लिएर बालुवाटार पुगे । 

त्यसअघि साउन १३ गते ओलीले स्थायी कमिटी बैठक अप्रत्यासित रूपमा स्थगित गरेपछि पनि प्रचण्ड झलनाथलाई नै लिएर ओलीलाई भेट्न पुगेका थिए ।

त्यसअघि साक्षी चाहिएमा प्रचण्डले जनार्दन शर्मा र ओलीले महासचिव विष्णु पौडेललाई राख्ने गरेका थिए ।

बालुवाटारको प्रायोजित प्रचारले आजित !

प्रचण्डले पछिल्लो समय झलनाथ खनाललाई लिएर बालुवाटार जानुको कारण बालुवाटारले गर्ने गरेको प्रचार भएको खुमलटार स्रोत बताउँछ ।

'छलफलमै नरहेको विषयमा छलफल भइरहेको छ भनिदिने, हुँदै नभएको सहमति भैसक्यो भनेर प्रचार गरिदिने भएपछि साक्षीका रूपमा झलनाथलाई राख्न थालिएको हो,' खुमलटार स्रोतले भन्यो, 'यति भएपछि कम्तिमा हरेक भेटपछि माधव नेपाल-झलनाथ खनाललाई खुमलटार बोलाएर कुप्रचारविरुद्ध ब्रिफिङ गरिराख्न त परेन ।'

कुरा केही साता अघिको हो । विष्णु पौडेल र जनार्दन शर्मालाई समेत साक्षी राखेर बालुवाटारमा भएको वार्ता हालसम्मकै सकारात्मक बन्यो ।

अर्ली महाधिवेशनको प्रसंग निस्किएको त्यही वार्ता थियो ।

ओली समूहले भन्यो- 'मंसिरमा अर्ली महाधिवेशन गरौं, त्यसपछिको अध्यक्ष तपाईं ।' उक्त प्रस्तावमा प्रचण्ड सकारात्मक नै थिए ।

शीतलनिवास गएर राष्ट्रपतिलाई समेत साक्षी राखी छलफल गर्ने कुरा भयो । त्यसपछि सचिवालय बैठक बस्यो । ओलीले अर्ली महाधिवेशनको प्रस्ताव राखे । 
यसबीचमा पौडेल र शर्माले सहमतिको ड्राफ्ट तयार पारे अनि बैठकपछि चारै नेता शीतलनिवास पुगे ।

शीतलनिवास पुगेपछि भने प्रचण्ड झस्किए । राष्ट्रपतिकै अगाडि प्रचण्डलाई भनियो– 'तपाईंलाई महाधिवेशनपछिको अध्यक्ष मान्न तयार छौं, तर तपाईंले जबजको नेतृत्व गर्नुपर्छ ।' 

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता हुँदा एमालेको जबज र माओवादीको २१औं शताब्दीको जनवादलाई छाडेर समाजवाद उन्मुख जनताको जनवाद अबको कार्यदिशा हुने भन्ने सहमति भएको थियो ।

शीतलनिवासमा गरिएको प्रस्ताव प्रचण्डले ठाडै अस्वीकार गरे ।

सहमतिको ड्राफ्टमा हस्ताक्षर भएन, कुरा बिग्रियो । तर, प्रचण्ड त्यहाँबाट बाहिर निस्किँदा ननिस्किँदै मिडियामा खबर छाइसकेको थियो, 'प्रचण्डले महाधिवेशनपछिको अध्यक्ष बन्ने शर्तमा सहमति गरे ।'

जुनकुरा बालुवाटार स्रोतबाटै बाहिरिएको थियो ।

गाडीबाटै प्रचण्डले छोरी गंगा दाहाललाई खण्डन लेख्न भने । सहमति भएको छैन भनेर प्रचण्डको सचिवालयबाट खण्डन आयो । 

खण्डनले मात्र पुगेन माधव नेपाल-झलनाथ खनाललाई बोलाएर स्पष्टीकरण नै दिनुपर्‍यो ।

'हुँदै नभएको सहमति भयो भनेर प्रचार गरिदिने अनि बदनाम गराउने प्रयास हुन थालेपछि पूर्वमाओवादी खेमा बाहिरबाट कोही साक्षी राख्नुपर्छ भन्ने हिसाबले जेएन कमरेडलाई सहभागी गराउन थालिएको हो,' खुमलटार स्रोतले थप्यो ।

१३ गते बालुवाटारमा प्रचण्ड – माधव नेपाल पक्षले बैठक राखेको र ओलीले स्थगित गरेको दिन ओलीलाई भेट्न जानेक्रममा प्रचण्डले माधव नेपाललाई पनि जाऊँ भनेका थिए, तर नेपाल गएनन् ।

प्रचण्ड झलनाथ खनाललाई लिएर ओलीलाई भेट्न पुगे ।

प्रचण्डले निकटस्थसँग भन्ने गरेका छन्– 'ओलीसँग एक्लै भेट्न नहुने रहेछ छ, प्रायोजित प्रचार गरेरै सिध्याउने भए ।'

१३ गतेपनि बैठक स्थगित हुनुअघि प्रचण्डलाई बालुवाटारबाट एकल भेटवार्ताका लागि पटक-पटक बोलाइएको तर, प्रचण्ड जान नमानेको कुरा सार्वजनिक भइसकेको छ ।