मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरु

मेची नदीको पानी बोकेर महाकाली पुग्ने लक्ष्यसहित सांसद सिंहको पदयात्रा झापाबाट सुरु

झापा। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा झापाको भद्रपुरस्थित मेची पुलबाट अघि बढाएका छन्। मेची नदीको पानी बोकेर मंगलबारदेखि पदयात्रामा निस्किएका उनले आगामी माघ १ गते महाकाली नदीको पानीमा मेचीको पानी मिसाउने लक्ष्य राखेको बताएका छन्।

जनकपुरको जानकी मन्दिर परिसरबाट सोमबार सुरु गरिएको पदयात्रालाई झापाको मेची पुलबाट अघि बढाइएको हो। पूर्वदेखि पश्चिमसम्म राष्ट्रिय एकता तथा नागरिकसँगको सम्बन्ध सुदृढ बनाउने उद्देश्यले यो पदयात्रा निकालिएको सांसद सिंहले जानकारी दिए।

पदयात्राका क्रममा उनले कन्काईमाई नदीमाथि हुलाकी सडकअन्तर्गत सरकारले ठेक्का तोडेको निर्माणाधीन पुलको स्थलगत अनुगमन गर्ने र निर्माणमा देखिएको समस्याबारे सरोकारवालासँग छलफल गर्ने योजना बनाएका छन्। उनको टोली उक्त पुल हुँदै महाभारा, गौरीगञ्ज र रङ्गेलीमार्फत विराटनगर पुग्ने तयारीमा रहेको छ।

पार्टी विभाजन गर्ने प्रयास भइरहेको दाबी

यात्राका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सिंहले आफ्नो पार्टीलाई कमजोर बनाउन र विभाजन गर्न विभिन्न शक्ति लागिपरेको दाबी गरे। यस्ता गतिविधिबाट पार्टीको अभियान नरोकिने स्पष्ट पार्दै उनले विगतमा २०१५ र २०७४ सालमा दुई तिहाइ बहुमतको सरकार बने पनि देशी–विदेशी शक्तिका कारण अपेक्षित काम हुन नसकेको टिप्पणी गरे। अहिले आफूहरूले पनि उस्तै चुनौती सामना गरिरहेको उनको भनाइ थियो। यद्यपि, वर्तमान सरकार पाँच वर्षसम्म टिक्ने दाबी गर्दै उनले सरकारलाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको औंल्याए।

सांसद सिंहको नेतृत्वमा भइरहेको यो पदयात्रामा झापा क्षेत्र नं ३ का सांसद प्रकाश पाठक र झापा क्षेत्र नं ४ का सांसद शम्भु सुस्केरा ढकालसमेत सहभागी छन्।

यात्राका दौरान विभिन्न बस्तीमा पुगी स्थानीय नागरिकका समस्या, गुनासा, अपेक्षा, रोजगारी, बजारीकरण तथा आर्थिक सम्भावनाबारे जानकारी संकलन गरिनेछ। साथै, नागरिकले भोगिरहेका कानुनी समस्या, सरकारी सेवा प्रवाहका कठिनाइ र नीतिगत सुधारका विषयसमेत अभिलेखीकरण गरिनेछ। यात्राबाट संकलित सुझावहरू काठमाडौं फर्किएपछि संसद् र सरकारसमक्ष पुर्‍याइने सांसद सिंहले बताएका छन्।