निवर्तमान आईजीपी कार्कीलाई सम्मानजनक बहिर्गमनको बाटो दिनुपर्छ : रास्वपा सहप्रवक्ता चौधरी

निवर्तमान आईजीपी कार्कीलाई सम्मानजनक बहिर्गमनको बाटो दिनुपर्छ : रास्वपा सहप्रवक्ता चौधरी

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले नेपाल प्रहरीका निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको विषयलाई थप विवादित बनाउन नहुने बताएका छन् ।

कार्कीलाई सम्मानजनक बहिर्गमनको बाटो दिनुपर्ने उल्लेख गर्दै चौधरीले अदालत र सरकारले कानुनी तथा संस्थागत प्रक्रियामार्फत उपयुक्त निकास खोज्नुपर्ने धारणा राखेका हुन् । प्रहरी नेतृत्व परिवर्तनको विषयलाई अनावश्यक रूपमा लम्ब्याउनु उचित नहुने उनको भनाइ छ । सम्बन्धित निकायले कानुनी प्रक्रिया, संस्थागत मर्यादा र व्यक्तिको सम्मानलाई ध्यानमा राखेर विवादको समाधान खोज्नुपर्नेमा उनले जोड दिए ।

सरकारले गत कात्तिक १८ गते मन्त्रिपरिषद्को निर्णयमार्फत कार्कीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । उक्त निर्णयपछि कार्कीले आफूलाई पुनर्बहाली गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् ।

कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा बुधबार प्रारम्भिक सुनुवाइ हुँदैछ । प्रहरी सङ्गठनको नेतृत्व परिवर्तनजस्तो संवेदनशील विषयलाई कानुनी जटिलतामा अल्झाइराख्नुभन्दा सबै पक्षको सम्मान कायम हुने गरी उचित निकास दिनुपर्ने सहप्रवक्ता चौधरीको भनाइ छ ।