पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !

पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !

काठमाडौं । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २ वर्षअघि एकता हुँदै गर्दा त्यसको मेरुदण्ड थियो, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'बीचको सहमति ।

दुवैले पहिले आफू-आफू सहमति गरेर त्यसलाई पार्टी कमिटीमा हुबहु अनुमोदन गराएका थिए । एकतापछि दुवै जना नेकपाका अध्यक्ष बने ।

एकता घोषणा सभामा ओलीले आफूहरूलाई एउटै जेटका दुई पाइलटको रूपमा व्याख्या गरेका थिए भने प्रचण्डले हाइट्रोजन र अक्सिजन मिलेर पानी बनेजस्तै आफूहरू पनि अन्तरघुलित भएको बताए ।

त्यसपछि पार्टीका हरेक निर्णय दुई अध्यक्षबीचको सहमतिमा हुन थाले ।

पार्टी पटक-पटक विभाजन भएकाले तत्कालीन माओवादीमा प्रचण्डलाई टक्कर दिनसक्ने अर्को शक्तिशाली गुट बाँकी थिएन तर एमालेमा भने ओलीलाई टक्कर दिने उत्तिकै सशक्त गुट थियो, माधव नेपालको नेतृत्वमा ।

यसबीचमा माधव नेपाल पटक-पटक कर्नरमा पारिए । जे निर्णय हुन्थ्यो, दुई अध्यक्षबीचको सहमतिमै हुन्थ्यो । दुईपक्ष मिल्दा माधव नेपाल निरीह बनेका थिए ।

पार्टी कमिटीको निर्णयमा 'नोट अफ डिसेन्ट' लेख्नुभन्दा उनीसँग कुनै विकल्प बाँकी हुन्थेन ।

एकताको करीब १ वर्षपछिबाट परिस्थिति विस्तारै बदलियो । प्रचण्ड र ओलीबीच विश्वासको खाडल गहिरिन थाल्यो । दुई अध्यक्षबीच बेमेल शुरू हुँदा माधव नेपालको महत्त्व बढ्दै गयो ।

ओली र प्रचण्ड दुवैले माधव नेपाललाई आफ्नो खेमामा तात्न जोडतोडका साथ पहल गरे । हाल माधव नेपाल प्रचण्डसँग छन् । तर, ओलीविरुद्ध प्रचण्डभन्दा अझै कडा भाषा बोल्छन् ।

पूर्व माओवादीका कतिपय नेतालाई भने प्रचण्ड र माधव नेपालको यो सहकार्य मन परेको छैन । उनीहरू कम्तिमा महाधिवेशनसम्म दुई अध्यक्षबीच सहमतिमै अघि बढ्नुपर्ने तर्क गर्छन् ।

पूर्व माओवादी पक्षका केही नेताको यो अडान प्रधानमन्त्री ओलीका लागि 'रक्षाकवच' नै बनेको छ ।

को-को हुन् ती नेताहरू ?

 

रामबहादुर थापा 'बादल'

झम्सीखेलमा प्रचण्ड-माधव नेपाल समूहको भेलामा सहभागी भएको कुरालाई छाड्ने हो भने बादल पछिल्लो समय हरेक आरोहअवरोहमा प्रधानमन्त्री ओलीको साथमा छन् ।

गृहमन्त्री समेत रहेकाले प्रधानमन्त्रीको राजीनामा त उनले नैतिक रूपमै माग्न मिल्दैन । निकटस्थहरूका अनुसार प्रधानमन्त्रीसँग उनको एउटै असन्तुष्टि छ, अमेरिकी सहयोग परियोजना (एमसीसी) ।

बादल एमसीसी कुनै पनि हालतमा पारित गर्न हुन्न भन्ने पक्षमा छन् ।

प्रधानमन्त्रीलाई हरेक मोडमा साथ दिँदै आएका बादलले केही दिनअघि पुल्चोकस्थित मन्त्री निवासमा आफूपक्षीय केन्द्रीय सदस्यसहित २५ नेतालाई बोलाए ।

भेलामा बादलले वर्तमान परिस्थितबारे ब्रिफिङ गर्दै अहिलेको अवस्थामा ओलीको राजीनामा माग्नु उचित नहुने निष्कर्ष सुनाए । ओलीलाई प्रधानमन्त्रीमा कायम राखेर अघि बढ्नुपर्ने उनको मत थियो ।

उनले अन्तिम अवस्था आए, अथवा पार्टी विभाजनमै जाने अवस्था आए आफ्नो साथ प्रचण्डलाई नै रहने कुरा पनि आफूपक्षीय नेताहरूलाई बताएका थिए ।

निकटस्थहरूका अनुसार बादल जुनसुकै हालतमा ओली र प्रचण्ड मिल्नुपर्छ भन्ने पक्षमा छन् ।

यसो हुँदा न त मन्त्री पद छाड्नुपर्ने, न बाल्यकालदेखिका साथी प्रचण्डको साथ नै ।  

***

 

जनार्दन शर्मा

तत्कालनीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता हुने क्रममा शर्माको भूमिका निकै निर्णायक रह्यो । एमालेबाट पौडेल र माओवादीबाट शर्माले दुई अध्यक्षबीच सहमतिका लागि मध्यस्तता गरेका थिए ।

पार्टी एकताका लागि सहमतिको खाका तयार पार्ने पनि यी दुई नेता थिए । पछिल्लो समय ओली-प्रचण्डबीच वार्ता हुँदा केही दिन शर्मा र पौडेललाई पनि राखियो ।

दुई अध्यक्षबीच अर्ली महाधिवेशनमा सहमतिको संकेत देखिँदा पौडेल र शर्मा दुवै मिलेर सहमतिको खाका समेत तयार पारेका थिए, त्यो खाकामा हस्ताक्षर भने हुन पाएन ।

पछिल्लो समय शर्माले सार्वजनिक रूपमा केही बोलेका छैनन्, तर उनी दुई अध्यक्षबीचको सहमतिमै निकास खोज्नुपर्छ भन्ने पक्षमा रहेको निकटस्थहरू बताउँछन् ।

***

 

टोपबहादुर रायमाझी

तत्कालीन माओवादीमा डा. बाबुराम भट्टराई निकट मानिने रायमाझी बाबुराम पार्टीबाट अलग हुँदा उनको साथमा गएनन् । प्रचण्डसँग मूल पार्टीमै रहे पनि सम्बन्ध भने एकदमै हार्दिक कहिल्यै हुन सकेन ।

पछिल्लो समय रायमाझी पनि प्रधानमन्त्रीबाट ओलीको राजीनामा माग्न नहुने पक्षमा छन् ।

संविधान निर्माण र प्रदेशको सीमांकनका क्रममा बुटवलमा उठेको विशाल आन्दोलनका बेलादेखि नै रायमाझीको विष्णु पौडेलसँग आत्मीय सम्बन्ध छ ।

पौडेल हाल नेकपाका महासचिव छन् । पौडेल जहाँ, रायमाझी पनि त्यहीँ भन्ने चर्चा पनि नेकपामा चल्ने गर्छ ।

रायमाझीको धारणा ओली-प्रचण्ड मिलेरै जानुपर्छ भन्ने छ ।

***

 

हरिबोल गजुरेल

कुनै बेला प्रचण्डको किचेन क्याबिनेट मानिने नेता हरिबोल गजुरल पनि पछिल्लो समय प्रधानमन्त्री एवं अध्यक्ष ओलीप्रति नरम छन् । प्रधानमन्त्रीबाट राजीनामा माग्नुहुन्न र ओलीसँगै मिलेर अघि बढ्नुपर्छ भन्ने उनको लाइन छ ।

केही दिनअघि बीबीसीसँग कुरा गर्दै गजुरेलले अहिलेको अवस्थामा प्रधानमन्त्रीको राजीनामा माग्दा राम्रो सन्देश नगएको बताएका थिए ।

उनले भनेका थिए–

'एक्कासि दुवै पदबाट हट भन्ने कुरा आउँदा त टकराव हुने नै भयो । नक्साको विषय अनि राष्ट्रियताको विषयमा देश एकजुट हुँदै गर्दा प्रधानमन्त्रीबाट हट भनेको कुरालाई त जनताले राम्रो मानेनन् नि !'

दुई अध्यक्षबीच सहमतिमै समस्याको निकास खोज्नुपर्छ भन्ने पक्षमा रहेका उनी आवश्यक परे प्रचण्ड अध्यक्ष पदबाट राजीनामा दिन पनि तयार हुनुपर्छ भन्ने तर्क गर्छन् ।

अध्यक्ष पदबाट राजीनामा दिएर सहमतिका लागि अग्रसरता लिन उनले प्रचण्डलाई भेटेरै आग्रह गरिसकेका छन् ।

***

 

मणि थापा

ओलीसँग मिलेर जानुपर्छ भन्ने खेमाका अर्का नेता हुन्, स्थायी कमिटी सदस्य मणि थापा ।

थापा दुई अध्यक्षबीच मात्र सहमति गरेर समस्याको समाधान खोज्नुपर्ने पक्षमा छन् । त्रिपक्षीय सहमतिको कुरा गरिनु नै एकताको स्प्रिटविपरीत रहेको थपाको निष्कर्ष छ ।

मणि थापाले एक अनलाइनलाई दिएको अन्तर्वार्तामा भनेका छन्–

'दुई अध्यक्षबीच सहमति र सहकार्य नै हाम्रो रणनीति हो, यसैबाट समस्या हल गर्ने प्रस्थान बिन्दु र अन्तिम बिन्दु पहिल्याउन सकिन्छ । तर, अहिले दुई नेताबीच नभई तीन नेता (माधव नेपाल समेत) बीचबाट समस्याको समाधान खोज्ने सबाल उठ्दा विवाद जन्मिएको हो । दुई नेताको साटो तीन बीच सहमतिको सबाल उठ्नु एकताको स्प्रिट बाहिरको कुरा हो ।'

र, यी पनि !

अहिले पूर्व माओवादीबाट लेखराज भट्ट प्रधानमन्त्रीका सबैभन्दा कट्टर समर्थक देखिएका छन् । यद्यपि पछिल्लो समय उनको खुमलटारसँग सम्बन्ध चिसिएकाले प्रचण्डलाई दबाब दिनै नै लेभलमा उनको भूमिका देखिएको छैन । सार्वजनिक रूपमा भने भट्टले पनि दुई अध्यक्ष मिल्नुपर्ने बताउने गरेका छन् ।

ओली-प्रचण्डबीच फेरि पहिलेजस्तै सहकार्य हुन अविश्वासको खाडल चिर्नुपर्ने पूर्व माओवादीका एक नेता बताउँछन् ।

'प्रधानमन्त्रीज्यूको कतिपय गतिविधिले अध्यक्ष प्रचण्डको चित्त दुखाएका छन्, स्थिरताका लागि भनेर उहाँले पटक-पटक त्याग गर्नुभएकै हो तर सहमतिअनुसार पार्टी चलाउन नदिने मात्र होइन बैठकमा कुर्सी समेत यताउता गरेर पटक-पटक अपमानित गर्न खोजियो, जसका कारण प्रचण्डले कठोर कदम चाल्नुभएको हो, दुई अध्यक्षबीच पुन: सहकार्यको वातावरण बनाउने हो भने प्रधानमन्त्रीले गम्भीर आत्मालोचना गर्नुपर्ने अवस्था छ ।'

प्रचण्डले प्रधानमन्त्रीबाट ओलीको राजीनामा नमाग्ने र ओलीले पार्टी सञ्चालनको सम्पूर्ण कार्यकारी अधिकार प्रचण्डलाई दिने गरी दुवै नेताले सहमति र यसबीचमा गरेका कमी कमजोरीको गम्भीर आत्मालोचना गर्ने हो भने फेरि विश्वासको वातावरण बन्न सक्ने उनको तर्क छ ।

नछुटाउनुहोस्, यो पनि :

नेकपामा 'नाङ्ग्लो ठटाएर हात्ती तर्साउने' खेल