धनुषा। मधेस सरकार गठनविरुद्ध मधेस प्रदेशका प्रदेशसभा सदस्यहरू आज पाँचौँ दिन पनि धर्ना दिएका छन्। मधेस भवन अगाडि सात दलका प्रदेशसभा सदस्यहरूले बिहान ८ बजेदेखि ११ बजेसम्म धर्ना दिएका छन्।
आजै ७ वटै राजनीतिक दलका प्रदेशसभा सदस्यहरू तथा कार्यकर्ताहरूको सहभागिता जनकपुरधाममा मोटरसाइकल र्याली निकाल्न लागिएको जानकारी नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेशसभा सदस्य कनिष पटेलले जानकारी दिए। त्यस्तै शनिवार बेलुका मशाल जुलुस प्रदर्शन र आइतबार दिन भरी सडक प्रदर्शनको कार्यक्रम रहेको उनले बताए।
प्रदेशमा संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमालेका संसदीय दलका नेता सरोज कुमार यादवलाई तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री नियुक्त गरेपछि मधेस भवन अशान्त बनेको छ।
नेपाली कांग्रेस, जसपा नेपाल, जनमत, माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरू आन्दोलनमा छन्।
मङ्गलवार साँझ नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गर्न गएको बेला बाहिर प्रदर्शन चर्किएको थियो । त्यस क्रममा प्रहरीको लाठी चार्जबाट १६ जना प्रदर्शनकारी घाइते भएका थिए। घटनाको विरोधमा सात दलीय गठबन्धनले आन्दोलनको घोषणा समेत गरेका छन्।
सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख सुवेदीले पनि पदमुक्त भई सकेकी छन्।