नेकपामा 'नाङ्ग्लो ठटाएर हात्ती तर्साउने' खेल

नेकपामा 'नाङ्ग्लो ठटाएर हात्ती तर्साउने' खेल

काठमाडौं । सत्तारुढ दल नेकपामा लामो समय समयदेखिको विवाद किनारा लाग्ने नामोनिसान देखिएको छैन । पछिल्लो केही दिनयता त दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच संवादहीनताकै अवस्था छ ।

पटक–पटकका भेट भेटमा मात्र सीमित भए । दुवै पक्ष आ-आफ्नो अडानमा कायम रहेपछि सहमति जुट्न सकेन । त्यसपछि नेकपामा 'नाङ्ग्लो ठटाएर हात्ती तर्साउने' खेल चलिरहेको छ ।

शुक्रवार बिहानै मूलधारका मिडियाका सम्पादकहरूलाई फोन आयो– अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरूले भेट्न चाहनुभएको छ । भेट दिउँसो २ बजेका लागि तय भएको थियो ।

सम्भवत: प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ प्रकाशले बुधवार पत्रकारहरूसँग गरेकै भेटको निरन्तरता थियो त्यो । पत्रकारहरूसँग अनौपचारिक भनिएको उक्त भेटमा नेताहरूले अब बहुमतकै आधारमा निर्णय लिने भनी आफ्नो रणनीति चुहाएका थिए ।

भेटलाई अनौपचारिक भनेपनि बालुवाटारमा सन्देश पुगोस् भन्ने उनीहरूको मनाशाय रहेको बुझ्न कठिन थिएन, अब बहुमतबाट निर्णय गर्छौं, छाड्दैनौं भन्ने चेतावनीयुक्त सन्देश । यसलाई नेपाली उखानसँग जोड्ने हो भने 'नाङ्ग्लो ठटाएर हात्ती तर्साउने' रणनीति ।

सम्पादकहरूसँग भेटेर पनि उनीहरूले शायद यस्तै सन्देश मिडियामार्फत् प्रधानमन्त्रीसमक्ष पुर्‍याउन खोजेका थिए । बालुवाटारले यसमा आपत्ति जनायो ।

प्रधानमन्त्रीको दूत बनेर खुमलटार पुगेका सुवास नेम्वाङले प्रचण्डलाई सम्पादकहरूसँगको भेट स्थगित गर्नुस् भन्ने आग्रह गरे । अन्तत: भेट स्थगित गर्न सहमत भएका प्रचण्डले तत्काल नारायणकाजी श्रेष्ठलाई फोन गरेर भेट स्थगित भएको सन्देश पठाउन आग्रह गरेका थिए ।

नारायणकाजीले भने बोलाइसकिएको छ भन्दै भेट स्थगित भएको सन्देश पठाउन आनाकानी गरेका थिए ।

यही भेटको सन्देशबारे हो, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले ट्वीटमार्फत प्रवक्ता श्रेष्ठमाथि हमला गरेको । उनले प्रवक्ताको लाज जोगाउन आग्रह गरेका थिए ।

यस्तो थियो रिमालो ट्वीट–

'इनअफ इज इनअफ (नारायणकाजी श्रेष्ठ) जी, कम से कम पार्टी प्रवक्ता पदको लाज त जोगाउनुस् । ‘विधि र पद्दति’को नक्कली गीत गाउँदै नेताहरूलाई गुटबन्दीको आगोमा पोल्न उत्तोलक नबन्नुहोस् ! पार्टी एकताविरुद्धका कुनैपनि गतिविधि कतैबाट पनि नहोस् !! मुलुक संवेदनशील मोडमा छ महसूस होस्!!!'

पार्टीको प्रवक्ता गुटको प्रवक्ता बनेको भन्दै उनले असन्तुष्टि जाहेर गरेको बुझ्न सकिन्छ ।

ओली पुरानै खेलाडी

नाङ्ग्लो ठटाएर हात्ती तर्साउने रणनीति प्रचण्ड-नेपाल समूहले हालैबाट अपनाउन थालेपनि बालुवाटारले यस्तो रणनीति अपनाएको भने निकै पहिलेदेखि हो ।

कारवाही गरे पार्टी विभाजन हुने, प्रधानमन्त्रीबाट हटाउन खोजे संसद् नै विघटन गरेर मध्यावधि चुनावमा जाने जस्ता धम्की बालुवाटारबाट प्रत्यक्ष तथा अप्रत्यक्षरूपमा आउने गरेको प्रचण्ड-नेपाल पक्षका नेताहरू बताउँछन् ।

बालुवाटारको धम्कीले प्रचण्ड-नेपाल पक्ष केही हच्किएकै हो, तर बहुमतबाट कारवाही गर्छौं भनेर उनीहरूले पठाएको धम्कीबाट भने बालुवाटार खासै विचलित भएको देखिन्न ।

यद्यपि ओलीपक्षीय केही नेताले यसबीचमा सामाजिक सञ्जालमा लेखेका स्टाटसहरूले भने बालुवाटारमा पनि केही प्रभाव भने परेको बुझ्न सकिन्छ ।

नेकपा विभाजन गरिहाल्ने आँट दुवै पक्षमा तत्काल देखिएको छैन । बरु आफ्नो रणनीति चुहाउने र सकेसम्म विपक्षीलाई गलाउने रणनीति दुवै पक्षले अख्तियार गरिरहेका छन् ।

यो खेल कति पर जाला, त्यो भने समयकै गर्भमा छ ।

नछुटाउनुहोस्, यो पनि :

यी ३ वटा 'ग्लु' जसले आजको दिनसम्म नेकपालाई फुट्न दिएका छैनन् !