यी ३ वटा 'ग्लु' जसले आजको दिनसम्म नेकपालाई फुट्न दिएका छैनन् !

यी ३ वटा 'ग्लु' जसले आजको दिनसम्म नेकपालाई फुट्न दिएका छैनन् !

दुई वर्षअघि जुटेको नेकपा पछिल्लो केही समययता पटक–पटक फूटको मुखमा पुगेर जेनतेन जोगिएको छ । त्यसो त पार्टी फुट्दैन र फुट्न दिन्नौं भनेर नेताहरूले भन्न भने छाडेका छैनन् ।

बुधवार अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' – वरिष्ठ नेता माधव नेपाल पक्षले बानेश्वरको एक कलेजमा नेकपा बिटमा कलम चलाउने पत्रकारहरूलाई बोलाए ।

अनौपचारिक भनिएको उक्त भेटघाटमा नेताहरूको स्पष्ट संकेत थियो– अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई टेरेनन्, आफू खुशी गरे, पार्टीका नेताहरूलाई पटक-पटक अपमानित गरे, अब हामी वार कि पार गरेरै जान्छौं । जे गर्छ, पार्टीको बहुमतले गर्छ ।

पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीमा प्रचण्ड-नेपाल पक्षसँग स्पष्ट बहुमत छ ।

बानेश्वरको पत्रकार भेटघाटलाई तत्कालीन एकीकृत माओवादीको धोबीघाट गठबन्धन (जहाँ प्रचण्डविरुद्ध मोहन वैद्य, डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले मोर्चाबन्दी गरेका थिए)सँग तुलना गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले फेसबूकमा कडा स्टाटस लेखे ।

यस्तो छ सूर्य थापाको स्टाटस :

१० वर्षअघि साउन यही बेला धोबीघाट गठबन्धनको परिणति जस्तै अहिले १० वर्षपछि साउनको यो बेला खुमलटार गठबन्धनको रिहर्सल !

आकांक्षा र बाँडफाँट

राष्ट्रपति - झलनाथ खनाल

प्रधानमन्त्री - पुष्पकमल दाहाल 'प्रचण्ड'

अध्यक्ष - माधवकुमार नेपाल

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री - नारायणकाजी श्रेष्ठ

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीविरूद्ध दाहाल, खनाल, नेपाल र नारायणकाजी श्रेष्ठको मोर्चाबन्दी ।

यो पद, प्रतिष्ठा, गुटबन्दी र भागबण्डा नभएर विधि, पद्दति र एकताको लडाईं हो त ? पार्टी विभाजनको खुल्लमखुला हाँक, होहल्ला र रिहर्सल गर्दा यसबाट एकतालाई कहाँनेर सहयोग पुग्यो ?

नेकपा विभाजन र समाप्त पार्ने कसरत भइरहेछ । अनि देशीविदेशी षड्यन्त्र र चलखेल जारी छ भन्नेतर्फ सचेत भएको खोइ ?

 

सूर्य थापाले प्रधानमन्त्रीइतर पक्षको गतिविधिलाई पार्टी विभाजनको खुल्लमखुल्ला हाँक भनेका छन् ।

उता अर्को पक्षको तर्क त्यस्तै छ, प्रधानमन्त्रीले पार्टी विभाजन गर्न खोजे ।

सरकारलाई बचाउन आवश्यक परे पार्टी विभाजन नै गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको उनीइतर पक्षको तर्क छ । त्यसका लागि नेकपा एमाले नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन समेत परिसकेको छ ।

माधव नेपाल पक्ष ओलीसँग भिडेर वार कि पारमै जानुपर्ने अडानमा रहँदा प्रचण्डले भने कुरा धेरै बिग्रिएका बेला थोरै संयम अपनाएर विभाजनबाट रोक्न खोजेको देखिन्छ ।

त्यसो त पार्टी विभाजन हुनुहुँदैन भन्नेमा सबैभन्दा दृढ पूर्वमाओवादी पक्ष देखिएको छ ।

खुमलटार पुग्ने पूर्वमाओवादीका अधिकांश नेताले प्रण्डसँग पार्टीलाई विभाजनबाट जसरी पनि जोगाउनुस् भन्ने गरेका छन् ।

प्रचण्ड स्वयंको एउटा महत्त्वाकांक्षा पनि यसमा जोडिएको छ । उनी विशाल र एकीकृत नेकपाको एकल अध्यक्ष बन्न चाहन्छन् ।

ओलीले अब म नेतृत्वमा दाबी गर्दिनँ भनिसकेकाले प्रचण्डको त्यो महत्त्वाकांक्षा पार्टी नफुटेको खण्डमा असम्भव पनि छैन ।

रोचक त के छ भने पूर्वमाओवादी खेमाका अधिकांश नेताले प्रचण्डलाई ओलीसँगै मिलेर अघि बढ्न दबाब दिने गरेको स्रोतको दाबी छ ।

तर, आफू पटक-पटक अपमानित हुनुपरेको भन्दै प्रचण्डले चित्त दुखाएका छन् ।

अहिलेसम्म पार्टी विभाजनको मुखमै पुगेको भनिएका बेला २ पटक प्रचण्डले संयमता देखाए ।

पहिलो स्थायी कमिटीमा अधिकांश नेताले प्रधानमन्त्रीको राजीनामा मागिसकेका बेला माधव नेपाल पक्ष अब वार कि पार गरेर जाऊँ भन्नेमा थियो ।

यसबीचमा प्रधानमन्त्री ओलीले सभामुखलाई समेत नसोधी संसद् अधिवेशन अन्त्य गरिदिए ।

स्थिति धेरै बिग्रिसकेको थियो । यदि त्यसपछि स्थायी कमिटी बैठक अघि बढेको भए पार्टी विभाजनमै जाने थियो, उनले संयमता देखाएर बैठकमा ब्रेक लगाए, आफूलाई साथ दिइरहेका अधिकांश नेताको आकांक्षाविपरीत बैठकलाई नै पेण्डुलम बनाए ।

दोस्रो यही साउन १३ गते ओलीले एकपक्षीय रूपमा स्थायी कमिटी बैठक स्थगित गरिदिएपछि तनाव उत्पन्न भयो ।

प्रचण्ड-माधव नेपाल पक्षका नेताहरू बालुवाटार पुगे । बहुमत सदस्यको बैठक बसेर ओलीलाई प्रधानमन्त्रीबाट फिर्ता बोलाउनुपर्ने अडानमा माधव नेपाल पक्ष थियो ।

तर, अन्तिममा प्रचण्डले यसलाई बैठक समेत नभनौं, बहुमत सदस्यको जमघट भनौं भनेर स्थिति सम्हाले ।

पूर्व माओवादी खेमाका केही नेतासँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री स्वयंले प्रचण्डको उक्त संयमताको प्रशंसा गरेका थिए ।

सकेसम्म पार्टीलाई जोगाएर ओलीसँग लड्ने प्रचण्डको रणनीति देखिन्छ । यसमा उनलाई एउटै कुराले गाइड गरेको छ– विशाल कम्युनिस्ट पार्टीको एकल अध्यक्ष बन्ने महत्त्वाकांक्षा ।

ओलीलाई पनि २ कुराले पार्टी विभाजनमा लगिहाल्न दिएको छैन ।

पहिलो त ओली आफैंले फुटाएको जस्तो सन्देश जाने गरी विभाजन चाहँदैनन् । शुरूमा अर्को पक्षले नै आफूविरुद्ध निर्णय गरोस् भनेर पर्खिरहेका छन् ।

ओलीलाई पार्टी विभाजनमा गइहाल्नबाट रोक्नुका अन्य २ कारण पनि छन् ।

पहिलो उनी निकट केही प्रभावशाली नेताहरू जसको एकीकृत कम्युनिस्ट पार्टीमा पछि ठूलो भविष्य छ, उनीहरूले कुनै पनि हालतमा पार्टी फुटाउनुहुन्न भनिरहेका छन् । विष्णु पौडेल लगायतका नेताहरू पार्टी फुट्न नदिन कम्मर कसेर लागेका छन् ।

दोस्रो प्राविधिक कारण छ, सूर्य चुनाव चिह्न ।

एमाले नामको पार्टी त दर्ताको प्रक्रियामा छ, तर विभाजन भएर जाने दलले यही अवस्थामा सूर्य चुनाव चिह्न पाउने छैन ।

सूर्य चिह्न नेकपाको नाममा निर्वाचन आयोगमा दर्ता छ ।

विद्यमान कानूनअनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत सदस्य पुग्नुपर्ने हुन्छ ।

संसदीय दलमा ओलीसँग ४० प्रतिशत सांसद छन्, तर केन्द्रीय कमिटीमा त्यो संख्या पुग्दैन ।

त्यसैले पार्टी फुट्ने अवस्थामा अध्यादेश ल्याउनुपर्ने हुन्छ, संसदीय दलमा ४० प्रतिशत पुर्‍याए मात्र हुने भनेर ।

तर, यसरी फुटेर जाँदा सूर्य चुनाव चिह्न नेकपासँगै रहने छन्, जुन तत्कालीन एमालेको मुटु हो ।

सोही कारण प्रधानमन्त्रीले पार्टी विभाजन भएको खण्डमा सूर्य चिह्न कसरी हत्याउन सकिन्छ भनेर विभिन्न विकल्पमा छलफल चलाइरहेको चर्चा पनि छ ।

कतिपयले यस विषयमा अदालतलाई प्रभावित पार्ने खेल हुनसक्ने आशंका समेत गरेका छन् ।

जे भएपनि ३ वटा कुराले आजको मितिसम्म नेकपा फुट्न नदिन ग्लुको काम गरेका छन् ।

प्रचण्डको एकल अध्यक्ष बन्ने महत्त्वाकांक्षा, प्रचण्ड र ओलीलाई आ-आफ्नै पक्षका प्रभावशाली नेताहरूको दबाब र सूर्य चुनाव चिह्न यस्ता ग्लु हुन्, जसले सहजै नेकपा फुट्न दिने देखिन्न ।

पढ्नुहोस्, यो पनि :

मध्यरातमा सांसदलाई प्रधानमन्त्रीको त्यो फोन र प्रचण्डको यो गुनासो