स्वास्थ्य रिपोर्ट, जनकपुरदेखि जग्गा प्रकरणसम्मको तुष जसले एकजुट हुन दिएको छैन पूर्व एमाले

स्वास्थ्य रिपोर्ट, जनकपुरदेखि जग्गा प्रकरणसम्मको तुष जसले एकजुट हुन दिएको छैन पूर्व एमाले

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको विवाद लामो समयदेखि उत्कर्षमा छ ।

विवाद यस हदसम्म पुगेको छ कि पार्टी नै विभाजन हुने हो कि भन्ने चिन्ता र चासो व्याप्त छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्तिमा एक पदबाट राजीनामा दिएर निकास दिनुपर्ने पक्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधवकुमार नेपाल छन् ।

तीनवटा सशक्त गुट क्रियाशील रहेको नेकपामा दुई गुट जता मिल्छन्, शक्ति सन्तुलन त्यतै ढल्किन्छ ।

प्रचण्ड र नेपाल मिल्दा स्थायी कमिटी र केन्द्रीय कमिटी दुवैमा उनीहरूको बहुमत पुग्छ । ९ सदस्यीय सचिवालयको शक्ति सन्तुलन भने कहिले यता कहिले उता ढल्किने गरेको पाइन्छ ।

पार्टी एकताको पहिलो वर्ष ओली-प्रचण्ड सहकार्य निकै राम्रो रह्यो । पछि जब उनीहरूबीच मतभेद शुरू भयो तब माधव नेपालको महत्त्व एकाएक बढेर गयो ।

माधव नेपाललाई फकाउन यसबीच बालुवाटारबाट निकै पहल भएको छ ।

ओलीले अबको महाधिवेशनमा म अध्यक्षमा उठ्दिनँ, माओवादीको हातमा पार्टी सुम्पिने कुरा पनि हुँदैन, सिंगो एमाले एकजुट गरेर नेतृत्व लिनुस् भन्ने प्रस्ताव माधव नेपाललाई गरे ।

अहिले नै २ बाट अध्यक्षको संख्या ३ बनाएर तेस्रो अध्यक्ष बन्न पनि उनले प्रस्ताव गरेको कुरा बाहिरियो ।

विभिन्न अफरका बावजुद पनि ओली-नेपाल सम्बन्ध त्यति सुमधुर हुन सकेको देखिएको छैन, जसका कारण पूर्व एमालेहरू एकजुट होऊन् भन्ने कतिपयको चाहना पूरा हुन सकेको छैन ।

यति धेरै प्रयासका बावजुद पनि ओली-नेपाल सहकार्य किन हुन सकेको छैन ? त्यसको कारण जान्न यसअघि घटेका घटनाक्रमहरूलाई नियाल्नुपर्ने हुन्छ ।

***

गतवर्ष अर्थात् २०७६ साल भदौ ५ गते बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच चर्काचर्की पर्‍यो ।

पार्टी सञ्चालन तथा नियुक्तिहरूमा आफूलाई कर्नरमा पारिएको महसूस गरेका माधव नेपाल असन्तुष्ट थिए, तर ओली-प्रचण्ड मिलेपछि उनको कुरा कसले सुन्ने !

बैठक मूल विषयहरू छाडेर प्रधानमन्त्रीलाई स्वास्थ्यलाभको कामना गर्ने तिर मोडियो । प्रधानमन्त्री ओली उपचारका लागि विदेश जाँदै थिए ।

सबै सदस्यले स्वास्थ्यलाभको कामना गरे तर, माधव नेपालको कामना स्वीकार गर्न ओली तयार देखिएनन् । उनले नेपालतर्फ औंला ठड्याएरै भने, ‘मलाई तपाईंको स्वास्थ्यलाभको कामना जरुरी छैन । मेरो स्वास्थ्यबारे अफवाह फैलाउँदै हिँड्नेले किन कामना गर्नु ?’

नेपालले जवाफ फर्काए, ‘यदि मैले त्यसो गरेको रहेछु भने कारवाही भोग्न तयार छु, यस्तो आपराधिक मानसिकता हटाउनुस् ।’

प्रधानमन्त्रीको यो आक्रोमा उनको चित्त दुखाइ लुकेको प्रधानमन्त्री ओली निकट एक नेता बताउँछन् ।

'माधव नेपालले प्रधानमन्त्रीको स्वास्थ्य रिपोर्टबारे पटक-पटक चासो राख्ने, ट्रान्सप्लान्ट गरेको मिर्गौलाको आयु कति हुन्छ भनेर विज्ञहरूसँग सोधखोज गर्ने गरेको थाहा पाएपछि प्रधानमन्त्रीलाई चित्त दुखेको हो,' ती नेता भन्छन् ।

नेपालको उक्त चासो स्वाभाविकभन्दा पनि मेरो पालो कहिले आउँछ भन्ने आशय केन्द्रित रहने गरेको उनको आरोप छ ।

ओलीले माधव नेपाललाई बेवास्ता गर्नुको कारण यतिमा मात्र सीमित थिएन । लामो समय तत्कालीन एमालेको नेतृत्व गरेका नेपालले ओलीलाई त्यसबीचमा निकैपटक कर्नरमा पारे ।

२०५९ साल माघ १८ देखि २२ गतेसम्म जनकपुरमा चलेको सातौं महाधिवेशनमा माधव नेपालले ओली पक्षलाई यसरी पेलेका थिए कि बस्नका लागि होटल समेत नपाउने अवस्था आएको थियो ।

ओली पक्षका रघुवीर महासेठलाई नेपालले चोरेपछि ओली पक्षले बूक गरेको होटलबाटै उनीहरूलाई निकालिएको थियो । ओलीले महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको फरक मतको प्रतिवेदन समेत गायब पारिएको थियो ।

उक्त कुरा प्रधानमन्त्रीले अझै भुलेका छैनन् ।

***

अब कुरा गरौं माधव नेपालको ओलीसँग चित्त दुखाइको ।

पार्टी अध्यक्ष बनेपछि ओलीले माधव नेपाललाई जनकपुरदेखि स्वास्थ्य रिपोर्ट प्रकरणसम्मको पैँचो तिर्न कुनै कसर बाँकी राखेनन् ।

हरेक कुरामा पेलेरै अघि बढे । भेट्न आउँदा कुराउनेदेखि नियुक्ति र निर्णयहरूमा बाल नदिनेसम्मका काम भए ।

जसका कारण माधव नेपाल र ओलीबीच मनमुटावको खाडल अझै गहिरियो ।

यी कुरा माधव नेपालले आफू शक्तिमा हुँदा पनि गरेका थिए, ओलीले पनि गरे ।

ओलीसँग माधव नेपाल बिच्किनुको अर्को खास कारण छ ।

आजभोलि आफूनिकट नेता कार्यकर्ता कोटेश्वस्थित निवासमा पुग्दा माधव नेपालको पहिलो गुनासो हुने गर्छ– 'मलाई अख्तियार लगाएर सिध्याउन खोज्ने ? मलाई सिध्याउन खोज्नेलाई मैले किन साथ दिने ?'

नेपालले उल्लेख गरेको प्रसंग बालुवाटार जग्गा प्रकरणको हो ।

ललितानिवासको जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा विना गल्ती आफूलाई मुछ्न खोजिएको बुझाइ माधव नेपालको छ ।

तत्कालीन प्रधानमन्त्री नेपाललाई यस प्रकरणमा कसरी जोड्न सकिन्छ भनेर बालुवटारमा सोधखोज भएको कुराको प्रमाण आफूसँग रहेको नेपालले बताउने गरेका छन् ।

उक्त प्रकरणमा आफ्नो कुनै गल्ती नहुँदा पनि फसाउन खोजिएको भन्दै उनले चित्त दुखाएका छन् ।

***

यसबीचमा सम्बन्ध सुधारका लागि बालुवाटारबाट निकै पहल भएको छ, तर माधव नेपालले मानिसकेको अवस्था छैन ।

त्यसको कारणबारे माधव नेपालले निकटस्थहरूसँग भन्ने गरेका छन्, 'ओलीलाई नचिनेको हो र ? शक्तिमा हुँदा पेल्ने, मलाई अख्तियार लगाएर सिध्याउन खोज्ने अनि आफूलाई अप्ठ्यारो परेका बेला देखाएको ललिपपमा म किन फस्नु ? '

महाधिवेशनपछि अध्यक्ष बनाउने उधारो प्रस्तावमा सहमति गर्दा पहिलाजस्तै धोका हुने उनको बुझाइ छ ।

जे होस्, नेकपा विवादका विभिन्न आयाम छन् ।

राजनीतिमा असम्भव भन्ने कुरा त केही हुँदैन । ओली राँची लैजानु पर्छ भनेर 'मानसिक रोगी' करार गर्ने तत्कालीन माओवादी र त्यसका अध्यक्ष प्रचण्ड तथा माओवादीलाई जंगली, गुरिल्ला, वनमारा भनेर अपमानित गर्ने ओलीबीच त सहकार्य सम्भव भयो भने ओली-नेपाल सहकार्य भविष्यमा नहोला भन्न सकिन्न, तर सहकार्यको सूत्र आजसम्म भेटिएको छैन ।

पढ्नुहोस्, यो पनि :

पूर्व माओवादीका यी ५ 'रक्षाकवच' जसले प्रधानमन्त्री ओलीको संकट टार्न भूमिका खेलिरहेका छन् !

आइसोलेसनमा रहेका प्रचण्डले ओलीलाई पठाए नयाँ प्रस्ताव