देशभर बाढी-पहिराेकाे वितण्डा: पहिरोका कारण लमुजुङ र कास्कीमा ७ जनाको मृत्यु, धेरै बेपत्ता

देशभर बाढी-पहिराेकाे वितण्डा: पहिरोका कारण लमुजुङ र कास्कीमा ७ जनाको मृत्यु, धेरै बेपत्ता

काठमाडौं । लगातारको वर्षासँगै देशका विभिन्न स्थानमा पहिरो जाँदा मानिसको मृत्यु तथा बेपत्ता भएका खबर आइरहेका छन्।

पहिरोमा परी पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्।

राति अन्दाजी २ः४५ बजेको समयमा पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टंकबहादुर थापाको घरमाथिबाट खसेको पहिरोमा पुरिँदा तीन जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लमजुङमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अन्य तीन जना सामान्य घाइते भएका छन्।

बेसीसहर नगरपालिका ७ सातबीसमा गएराति ११ बजे पहिरोले घर पुरिँदा ३२ वर्षीय दीपक तामाङ, उनकी पत्नी २५ वर्षीया बिमाया तामाङ र नौ वर्षीय छोरा सेवाङ तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

यसैक्रममा म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङको रिखामा पहिरो जाँदा शुक्रबार बिहान सात जना बेपत्ता भएका छन्।

घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।

उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ। भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए।