काठमाडाैं। काठमाडौंको त्रिपुरेश्वरमा यात्रुवाहक बसमा लागेको आगोमा परी गम्भीर घाइते भएका चालक अर्जुन दोङ तामाङको उपचारका क्रममा मृत्यु भएपछि उपत्यकाको यातायात क्षेत्र उत्तप्त बनेको छ। घटनाको विरोधमा यातायात क्षेत्रका ६ वटा प्रमुख महासंघ तथा संघ-संगठनहरूले संयुक्त रूपमा ९ बुँदे माग अघि सार्दै सशक्त आन्दोलनको चेतावनी दिएका छन्।
संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यातायात संगठनहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र आगजनीबाट नष्ट भएको सवारीसाधनका धनीलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन्।
विवादको सुरुआतदेखि घटना घटेसम्मको निष्पक्ष सत्यतथ्य पत्ता लगाउन सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको बयान र फोन विवरणका आधारमा सरोकारवाला सम्मिलित उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गर्न उनीहरूले जोड दिएका छन्।
यसैगरी, विज्ञप्तिमा श्रम ऐन, २०७४ अनुसार सम्पूर्ण यातायात श्रमिकलाई अनिवार्य रोजगार सम्झौता लागू गरी सामाजिक सुरक्षा कोषमा सूचीकृत गर्नुपर्ने कानुनी व्यवस्थाको माग गरिएको छ। सडकमा ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, मानसिक दबाब र हैरानी अन्त्यका लागि २४ घण्टे हेल्पलाइन तथा द्रुत न्यायिक सुनुवाइ संयन्त्र स्थापना गर्नुपर्ने विषयलाई पनि प्राथमिकताका साथ उठाइएको छ।
ट्राफिक प्रहरीको कार्यशैली र चेकिङ प्रक्रियाको निष्पक्ष छानबिनका लागि अनुगमन संयन्त्र बनाउन, सवारी ऐनअनुसार दिइएको कारबाहीको अधिकारलाई कानुनबमोजिम पुनर्व्यवस्थित गर्न तथा देशभरका सडकहरूमा व्यवस्थित बसबिसौनी, सार्वजनिक शौचालय र विश्रामस्थल जस्ता पूर्वाधार निर्माण गर्नसमेत संगठनहरूले आग्रह गरेका छन्।
आफ्ना मागहरू तत्काल सम्बोधन नभए कडा र शान्तिपूर्ण आन्दोलनमा उत्रिन संयुक्त संघर्ष समिति गठन गरिसकिएको जानकारी ६ वटै संगठनले दिएका छन्।