अति भारी वर्षाको प्रक्षेपण: प्रभावित क्षेत्रमा समयमै सूचना प्रवाह र उच्च सतर्कता अपनाउन मन्त्रीद्वयको निर्देशन

अति भारी वर्षाको प्रक्षेपण: प्रभावित क्षेत्रमा समयमै सूचना प्रवाह र उच्च सतर्कता अपनाउन मन्त्रीद्वयको निर्देशन

काठमाडौं। असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षा हुने पूर्वानुमान गरिएपछि सरकारले सम्भावित विपद्को पूर्वतयारी र पूर्वसूचना प्रणालीलाई तीव्र बनाएको छ। मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर पछिल्लो मौसम प्रणालीबारे जानकारी लिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङले एकीकृत रूपमा उच्च सतर्कता अपनाउन निर्देशन दिएका छन्।

विभागका अधिकारीहरूलाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा तीनै तहका सरकार, निजी क्षेत्र र विद्युत् प्राधिकरणसमेतको बलियो समन्वय हुनुपर्नेमा जोड दिए। "सम्भावित प्रभावित क्षेत्रमा अहिल्यै सूचना प्रवाह गर्नुस् र पूर्ण रूपमा अलर्ट भएर लाग्नुस्," उनले भने। चाडपर्वको समय भएकाले यात्रा गर्नुअघि मौसमबारे सुसूचित हुन नागरिकलाई अपिल गर्दै मन्त्री श्रेष्ठले भोटेकोशी बाढीको अनुभवबाट पाठ सिकेर उद्धारकर्मी तथा सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको जानकारी दिए।

यस्तै, गृहमन्त्री गुरुङले नदी तटीय क्षेत्रमा टोली परिचालन र पूर्वसूचना प्रवाहको योजना बनिसकेको बताए। सुरक्षा निकाय र उद्धार सामग्री तयारी अवस्थामा राखिएको उल्लेख गर्दै उनले अब नयाँ ट्रेकिङमा नजान र गइसकेकाहरूलाई सुरक्षित स्थानमा रहन आग्रह गरे। विपद् कमाण्ड पोस्टमार्फत सबै निकायको समन्वय भइरहेको उनको भनाइ थियो।

सो अवसरमा विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठसहितको टोलीले मन्त्रीद्वयलाई सम्भावित जोखिमबारे ब्रिफिङ गरेको थियो। पश्चिमी न्यून चापीय प्रणालीका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भूभागमा भारीदेखि धेरै भारी वर्षा हुने प्रक्षेपण गरिएकाले जोखिमयुक्त स्थानहरूमा उच्च सतर्कता आवश्यक रहेको विभागले जनाएको छ।

छुटाउनुभयो कि ?