सामूहिक बलात्कार प्रकरण : प्रहरी इन्काउण्टरमा ४ जना आरोपी मारिए

सामूहिक बलात्कार प्रकरण : प्रहरी इन्काउण्टरमा ४ जना आरोपी मारिए

हैदराबाद : भारतको हैदराबादमा एक पशु चिकित्सकको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका चार जना आरोपी इन्काउन्टरमा मारिएका छन् । घटनाको अनुसन्धान गर्न चारै जनालाई प्रहरीले पीडित महिलाको जलेको शव भेटिएको ठाउँमा लगेको थियो ।

अनुसन्धानका क्रममा चिकित्सकको हत्या गरिएको ठाउँमा लिएर गएका बेला प्रहरीको बन्दुक खोस्न र भाग्न खोजेकाले शुक्रबार बिहान तीन बजेतिर उनीहरूको भिडन्तमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थल हैदराबादबाट ५० किलोमिटर पर रहेको बताइएको छ । उनीहरुलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर १४ दिनका लागि न्यायिक हिरासतमा राखिएको थियो । प्रहरीका अनुसार घटनामा दुई सुरक्षाकर्मी पनि घाइते भएका छन् । गएको साता पशुचिकित्सकको बलात्कारपछि हत्या भएपछि भारतभर घटनाको विरोधमा प्रदर्शन भएको थियो ।

सडकदेखि संसद्सम्म दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग उठेको थियो ।नोभेम्बर २८ को साँझ स्थानीय समय अनुसार ६ बजेतिर २७ वर्षीया महिला आफ्नो स्कूटरमा चिकित्सकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् । त्यसको भोलिपल्ट बिहान उनको मृत शरीर सडकको ‘फ्लाईओभर’ मुनि फेला परेको थियो ।