काठमाडौँः नेपालमा कोरोना संक्रमणबाट पहिलो व्यक्तिको निधन भएको छ । सिन्धुपाल्चोक बाह«बिसे नगरपालिका ९ स्थायी घर भएकी महिलाको कोरोनाको कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मृतक महिला दश दिनकी सुत्केरी समेत हुन् ।
सिन्धुपाल्चोक स्थायी घर भए पनि मृतक परिवार बालाजुमा बस्दै आएको थियो ।
उनको मृत्युको घटनामा काठमाडौँ, सिन्धुपाल्चोक र काभ्रे जोडिएका छन् । मृत्युअघि उनी बसेको बालाजु क्षेत्र, शिक्षण अस्पताल पनि सम्भावित ट्रेसिङको अवस्थामा छन् । सुत्केरी भएपछि टोखामा बसेको खुलेको छ । टोखा नगरपालिकाले उनी बसेको स्थान सिल गर्ने निर्णय गरिसकेको छ ।
वैशाख २३ गते मृतक र उनका पति अस्पताल पुगेका थिए । साढे सात महिनामै उनले वैशाख २४ गते शिशु जन्म दिएकी थिइन् । समय अगावै शिशु जन्माए पनि नर्मल रुपमै बच्च जन्माएकी थिइन् । सामान्य अवस्थामा बच्चा जन्मिएको र स्वास्थ्य ठिक भएको भन्दै अस्पतालले घर पठाएको थियो ।
शिक्षण अस्पतालमा उनको कोभिडको कुनै परीक्षण भएको थिएन ।
कतिपय अध्ययनहरुले समय अगावै बच्चा जन्मनुलाई पनि कोरोनाको असर मानेका छन् । यस्तो अवस्थामा कुनै लक्षण नदेखिन पनि सक्छ । यहाँ प्रश्न उठ्छ के मृतकलाई पहिले नै संक्रमण थियो । जाँच नभएका कारण यकिन हुने अवस्था रहेन । यदि त्यस्तो भएमा शिक्षण अस्पताल जानुअघि नै संक्रमण भएको हुन सक्छ ।
धेरैको आशंका मृतकलाई अस्पतालबाटै संक्रमण भएको हुनसक्ने पनि छ । तर, त्यसको पनि पुष्टि भएको छैन । मृतकका श्रीमान बच्चासहित तीन जना धुलिखेल अस्पतालकै आइसोलेसनमा छन् । उनीहरुको स्वाब संकलन भइसकेको छ । उक्त परीक्षण प्रतिवेदनपछि ट्रेसिङले थप आकार लिन सक्छ ।
यस्तै, शिक्षण अस्पतालमा उपचार गर्ने स्वास्थ्यकर्मी पनि निगरानीमा परेका छन् । उनीहरु पनि ट्रेसिङको दायरामा छन् ।
अस्पतालबाट डिस्चार्ज भएपछि सिन्धुपाल्चोकसम्म पु¥याउने सवारी चालक, सिन्धुपाल्चोकमा मृतकलाई भेट गर्ने स्थानीय पनि ट्रेसिङको दायरामा छन् ।
सिन्धुपाल्चोक पु¥याएपछि स्वास्थ्य बदलाव आएको देखिन्छ । सोक्रममा स्थानीय स्तरमा उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा सोपछि उपचारमा संकग्न धुलिखेल अस्पतालका स्वास्थ्यकर्मी पनि निगरानीमा छन् ।
मृत्युपछि महिला उनको बासस्थान, बालाजु, सुत्केरी भएपछि बसेको टोखा, घर सिन्धुपाल्चोक तथा उपचार गर्ने स्वास्थ्य केन्द्र र धुलिखेल अस्पताल ट्रेसिङ स्थान देखिएका छन् । यस्तै, सो स्थानमा सम्पर्कमा आएका व्यक्ति र उपचारमा संलग्न चिकित्सक पनि ट्रेसिङमा छन् ।