डिजेलमा पानी मिसाएर बिक्री, फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना

डिजेलमा पानी मिसाएर बिक्री, फ्युल सेन्टरलाई दुई लाख रुपैयाँ जरिवाना

काठमाडौं भक्तपुरको मध्यपुरथिमि नगरपालिका १, लोकन्थलीस्थित सिद्धार्थ फ्युल सेन्टरलाई कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको छ। गत वैशाख १८ गते पम्पले उपभोक्तालाई पानी मिसिएको डिजेल बिक्री गरेको गुनासोपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नेपाल आयल निगम र गुणस्तर तथा नापतौल विभागका कर्मचारीले संयुक्त रूपमा अनुगमन गरी पम्प बन्द गरेका थिए।

गुणस्तर विभागमा पठाइएको नमूना परीक्षणमा पानी मिसिएको भेटिएपछि उक्त सेन्टरलाई आज उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप रु दुई लाख जरिवाना गरिएको विभागका अनुगमन निरीक्षक दीपकराज पोखरेलले जानकारी दिए।

उनका अनुसार विभाग र आयल निगमले उक्त सेन्टरलाई छुट्टाछुट्टै कारवाही गर्नेछन्। आज नै सर्जिकल सामग्रीमा बढी मूल्य लिएको र अनुगमनका क्रममा खरीद बिल नदेखाएको भन्दै त्रिपुरेश्वरस्थित क्रान्ति सर्जिमेडलाई रु बीस हजार जरिवाना गरिएको छ।

छुटाउनुभयो कि ?