लकडाउनकै बीचमा भारतीय सीमा क्षेत्रबाट लुकिछिपी एक व्यक्ति जैमिनीमा प्रवेश गरे । भारतको मुम्बई शहरबाट दशगजासम्म आइपुगेका उनी जैमिनी—८ छिस्तीको पालुङखोला नजिकैबाट सुरक्षाकर्मीको आँखा छलेर केहीदिन पहिलेमात्रै नगरमा भित्रिएको हो । उनको प्रवेशले नगरमा ठूलो हल्लाखल्ला मच्चियो ।
मुम्बईमै पिसिआरबाट कोरोना जाँच गरेको बताउने उनीमाथि नगरवासीले विश्वास गरेनन् । नगरमै रहेको क्वारेन्टाइनमा राख्ने नगरपालिकाको प्रयासलाई स्थानीयवासीले नमानेपछि उनलाई सेराबजार ल्याइयो । त्यहाँस्थित शान्ति मावि क्वारेन्टाइनमा राख्न खोज्दा स्थानीयवासीको विरोधका कारण उनलाई अन्ततः होम क्वारेन्टाइनमा पठाइयो । घरमा सुरक्षित तरिकाले बसे नबसेको हेर्न पुग्ने जनप्रतिनिधि तथा स्थानीयवासीलाई उनले टेर्दैनन् । उनी बसेको ठाउँमा पुग्ने सुरक्षाकर्मी जैमिनीमा छैनन् । लकडाउनको समयमा नगरभित्र कसैलाई भित्रिन नदिन सर्वसाधारणले अनुरोध गर्छन् । बाहिरबाट आएकासँग नगरवासी तर्सिन्छन् । तर, सीमानाकामा ज्वारोसम्म जाँच गरेर प्रवेश गराउन पनि नगरले सकिरहेको छैन ।
बागलुङको दक्षिणक्षेत्र प्रदेश नं ५ सँग जोडिएको छ । जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा छिमेकी पालिकासँगको सीमानाकाबाट लकडाउनको समय भारत तथा देशका विभिन्न ठाउँबाट प्रवेश गर्नेको कमी आएको छैन । सुरक्षाकर्मी कम भएका कारण दक्षिणी सीमाबाट बिनाजाँच भित्रिनेहरु बढेका हुन् । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा सीमानाकामा सामान्य ज्वरोसमेत जाँच नगरी बाहिरबाट मानिस भित्रिएको पाइएको समन्वय प्रमुख राजेन्द्र ढुङ्गानाले बताए ।
जैमिनी र बरेङ गाउँपालिकाले फितलो सुरक्षा व्यवस्थाका कारण सीमामा सुरक्षा कडाइ गर्न नसकेको गुनासो गरेका छन् । “प्रहरी चौकीमा जनशक्ति छैन, हामी कार्यक्षेत्रमा गएर कसैले टेर्दैन”, जैमिनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद शर्माले भने, “सोचेजस्तो सावधानी अपनाउन सकिएको छैन ।”
जैमिनीको जस्तै समस्या बरेङमा पनि छ । त्यहाँका सीमानाकाबाट गाउँ भित्रिनेको सङ्ख्या धेरै छ । छिमेकी प्रदेश गुल्मी जिल्लामा सडकमार्गमार्फत जोडिने सीमानाका मात्रै बरेङमा २८ वटा छन् । त्यही बाटो भएर आएका ४२ जना अहिले पनि बरेङमा होम क्वारेन्टाइनमा रहेको प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । त्योबाहेकका पैदलमार्गबाट भित्रिने नाकाको विषयमा तथ्याङ्क नै छैन ।
खुल्ला सीमाबाट गाउँमा भित्रिनेहरुले जनप्रतिनिधिलाई समेत नटेर्ने गरेको उनीहरुको गुनासो छ । सुरक्षाकर्मीको जनशक्ति कम रहेकाले लकडाउनमा पालिका प्रवेश गर्नेहरुको व्यवस्थापन गर्न कठिन भइरहेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बताए । दुवै पालिकाले सीमानाकामा सुरक्षाकर्मी खटाउन नसकेका कारण बाहिरबाट प्रवेश गर्नेहरुको सङ्ख्या बढेको जनाएका छन् ।
सङ्क्रमण फैलिएको क्षेत्र र विशेषगरी भारतबाट पैदल आउनेहरुका कारण गाउँमा उत्पन्न त्रास व्यवस्थापन र जोखिम घटाउन कठिन भइरहेको जैमिनी नपाका प्रमुख इन्द्रराज पौडेलले बताए । बरेङमा एक इलाका प्रहरी कार्यालय छ भने जैमिनीमा दुई प्रहरी चौकी छन् । स्थानीय तहले चाहेको स्थानमा खटाउनेगरी ती चौकीमा जनशक्ति नरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले स्वीकार गर्छ । प्रहरी चौकी कुश्मीशेरा र बेलबगरमा ११÷११ जनाको दरबन्दी भए पनि दुवै ठाउँमा गरेर जम्मा १५ जनामात्रै सुरक्षाकर्मी रहेको प्रहरी निरीक्षक हेम केसीले बताए । ४५ जना दरबन्दी रहेको बरेङ इलका प्रहरी कार्यालयमा १९ जना मात्रैले काम गर्नुपर्ने अवस्था रहेका कारण स्थानीय तहले चाहेअनुसारको सुरक्षाको प्रबन्ध नहुने उनले बताए ।
“जनशक्ति नै छैन, सकेको गरेकै छौँ” केसीले भने, “उहाँहरुले चाहेको जस्तो सबै नाकामा प्रहरी पुग्न हामीसँग भएको दरबन्दीले पुग्दैन ।” ४९० जनाको दरबन्दी रहेको जिल्लामा २९१ जना प्रहरी मात्रै उपलब्ध छन् । बरेङलगायत जिल्लाका केही पालिकामा सशस्त्र प्रहरीको टोली पुगेको भए पनि परिचालनमा समस्या हुने गरेको स्थानीय तहको गुनासो छ ।