लकडाउनको समयमा घरबारविहीनलाई गाउँलेले घर बनाइदिए

लकडाउनको समयमा घरबारविहीनलाई गाउँलेले घर बनाइदिए

म्याग्दी : म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ भगवतीको खड्कामारेका घरबारविहीन श्रीप्रसाद खत्रीलाई लकडाउन समयको सदुपयोग गरी स्थानीयवासीले घर बनाइदिएका छन् । लकडाउनको सदुपयोग गर्दै आर्थिक अवस्था कमजोर भएकै कारण घरबारविहीन भएका खत्रीको परिवारलाई घर निर्माण गर्न खड्गमारेका स्थानीयवासी व्यस्त छन् ।

आफन्तले उपलब्ध गराएको जग्गामा तीनकोठे चिटिक्कको घर बनाउने अभियानको संयोजन गरेका खत्रीले स्थानीय सरकारदेखि आफन्त, साथीभाइलाई सहयोग जुटाइरहेको बताउनुभयो । “लकडाउनको समयमा एउटा राम्रो काम गर्ने अवसर पाएको छु, श्रमदानसमेत गरेर घरवारविहीनको घर बनाउँदैछौँ”, उहाँले भन्नुभयो । लकडाउनको फुर्सदमा कुनै काम गर्ने योजना बनाइरहेको अवस्थामा एउटा मानवीय र परोपकारी कार्यमा समय दिन पाएको उहाँको भनाइ छ ।

“केहीदिनमै घर ठडिन्छ, लकडाउनले सिर्जनात्मक काम गर्नेलाई असर गरेको छैन”, उहाँले भन्नुभयो । श्रीप्रसादलाई घर बनाउन उनका आफन्तले जग्गा दिने, ब्लक खरिदमा समेत सघाइरहेका छन् भने गाउँपालिकाले २० थान जस्तापाता सहयोग गरेको छ । घर बनाउन अझै केही आर्थिक आवश्यकता रहेको खत्रीको भनाइ छ । चारजनाको परिवारलाई भान्सा कोठासहितको घर बनाउने अभियानमा स्थानीय युवाले समेत सघाइरहेका छन् । घर बनाउन करिब रु चार लाख खर्च हुने अनुमान गरिएको बताउँदै अभियानमा सहयोग गर्ने सम्पूर्णलाई संयोजक खत्रीले धन्यवाद दिनुभएको छ ।