मस्को : कोरोनाभाइरस महामारीबाट पीडित बिरामीको उपचारमा संलग्न तीन जना चिकित्सकले अति कार्यबोझ रहेको भन्दै शंकास्पद रुपमा अस्पतालका झ्यालबाट हाम फालेको रसियाका संचार माध्यमहरुले बताएका छन् । ती चिकित्सकमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको गम्भीर अवस्थामा उपचारकै क्रममा मृत्यु भएको थियो ।
विगत दुई साताको अवधिमा भएका यी घटनाहरुको यथार्थ पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । रसियामा एक दर्जनभन्दा बढी अस्पतालका चिकित्सकहरुले व्यक्तिगत सुरक्षा सामग्रीको अभाव रहेको तथा संक्रमण रोक्ने कार्यविधिमाथि प्रश्न उठाउँदै आएका छन् । चिकित्सकहरुलाई सार्वजनिक रुपमा आफ्ना पीरमर्का भन्न रोक लगाइएको र कुनै चिकित्सकले सरकारी आदेशको बेवास्ता गरेमा जागीरबाट हटाइने धम्की दिने गरिएको चिकित्सकको भनाई छ । समाचारहरुमा अस्पतालका झ्यालबाट हामफाल्ने चिकित्सकमध्ये दुई जनाले कार्यस्थलका विषयमा विमती राखेका थिए भने तेस्रो व्यक्तिमाथि साथीलाई कोरोना सारेको आरोप लगाइएको थियो ।