काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बौद्धदर्शनका प्रवत्र्तक तथा शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएकी छिन् ।
२५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेकी हुन् ।
बुद्धजयन्तीमा विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।
साथै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँतमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
यसबाहेक उनले कोभिड –१९को रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको यस असहज परिस्थितिमा सरकारको आग्रहबमोजिम सोको पालना गर्दै सबैले सामाजिक तथा भौतिक दूरी कायम गरी आआफ्ना घरभित्रै रहेर पर्व मनाउन आग्रह गरेकी छन् ।