डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

डेढ लाख घुस लिएको आरोपमा इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । सेवाग्राहीबाट डेढ लाख रुपैयाँ घुस लिएको आरोपमा कपिलवस्तुको कृष्णपुर नगरपालिकाका प्राविधिक प्रमुख इन्जिनिर प्रदीपकुमार चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार इन्जिनियर चौधरीविरुद्ध विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो। उनले नगरपालिकाबाट सञ्चालित सडकको अन्तिम बिल भुक्तानी गर्दा घुस लिइएको पाइएकाले मुद्दा दायर गरिएको अख्तियारका सहायक प्रवक्ता पर्वत गिरीले बताए। 

अख्तियारले दायर गरेको आरोपपत्रमा इन्जिनियर चौधरीले सेवाग्राहीबाट चेकमार्फत ५० हजार रुपैयाँ र बैंक खातामा एक लाख रुपैयाँ लिएको पाइएको उल्लेख गरिएको छ। उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम एक लाख ५० हजार बिगो असुल उपर गर्न माग दाबी गरिएको छ। यससँगै कैद सजायको पनि माग गरिएको छ।