काठमाडौँ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले सरकारसँग भएका सहमति कार्यान्वयन नभए २६औँ अनशनसहितको आन्दोलन सुरु गर्ने चेतावनी दिएका छन् ।
बिहीबार जारी प्रेस विज्ञप्तिमार्फत केसीले आगामी मंसिर ११ गतेभित्र सहमतिविपरीतका निर्णय नसच्याए र सहमतिहरू कार्यान्वयन नगरे आन्दोलन पुनः सुरु गर्ने बताएका हुन् । केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राखेर गरिएको २४औँ सत्याग्रहका क्रममा भएका सहमति सरकारले उल्लंघन गरेपछि २५औँ सत्याग्रह गर्नुपरेको उल्लेख गरेका छन् ।
सरकारसँग पुनः सहमति भएपछि २५औँ सत्याग्रह स्थगित गरिएको भए पनि सरकारले सहमतिअनुसार काम नगरेको उनको आरोप छ । सरकारले जवाफदेहिता र सुशासनसम्बन्धी सहमतिको मर्मविपरीत छानबिन समिति गठन गर्नुका साथै त्यसको कार्यक्षेत्रसमेत तोकेको केसीले बताएका छन् ।
यसबारे गल्ती सच्याउन र सहमतिहरू शीघ्र कार्यान्वयन गर्न गरिएको आग्रहलाई सरकारले बेवास्ता गरेको उनको भनाइ छ ।‘स्वास्थ्य, शिक्षा, जवाफदेहिता र सुशासनको नारासहित निर्वाचित सरकारबाटै यिनै विषयमा भएका सहमतिहरू बारम्बार उल्लङ्घन हुनु अत्यन्तै दुःखद र दुर्भाग्यपूर्ण छ,’ विज्ञप्तिमा भनिएको छ ।
सहमतिको पालना गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको उल्लेख गर्दै केसीले निर्धारित समयभित्र माग सम्बोधन नभए आन्दोलनमा उत्रिने बताएका छन् । केसीले यसअघिको २५औँ सत्याग्रह २०८३ कात्तिक २१ गते (७ नोभेम्बर २०२६) शनिबार राति तोडेका थिए । सरकारसँग ६ बुँदे सहमति भएपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिवि शिक्षण अस्पताल पुगेर अनशन तोडाएका थिए । अहिलेको चेतावनी २५औँ सत्याग्रह तोडेको करिब १९ दिनपछि आएको हो ।