मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरमा छड्के अनुगमन

मन्त्री चौधरीद्वारा बालाजु र सीतापाइलाका मासु कोल्ड स्टोरमा छड्के अनुगमन

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले काठमाडौंका बालाजु र सीतापाइलास्थित मासु कोल्ड स्टोरमा छड्के अनुगमन गरेकी छन्।

मन्त्री चौधरीको सचिवालयका अनुसार मंसिर १ गतेदेखि कार्यान्वयनमा ल्याइएको पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ को कार्यान्वयन अवस्था बुझ्न उनले छड्के अनुगमन गरेकी हुन्।
अनुगमन क्रममा मन्त्री चौधरीले मासु भण्डारणको अवस्था, सरसफाइ तथा खाद्य सुरक्षा र गुणस्तरसम्बन्धी मापदण्ड पालना भए–नभएको निरीक्षण गरेकी थिइन्।

उनले उपभोक्ताको स्वच्छ, स्वस्थ र गुणस्तरीय मासु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्न ऐनको प्रभावकारी कार्यान्वयन र खाद्य सुरक्षा मापदण्ड पालनामा जोड दिएको सचिवालयले जनाएको छ। अनुगमन क्रममा कोल्ड स्टोरहरूले तोकिएका मापदण्ड पालना गरेको पाइयो वा पाइएन भन्नेबारे भने सचिवालयले खुलाएको छैन।