काठमाडौँ । नेपाली र भारतीय सेनाबीच गुणस्तरीय संयुक्त अभ्यास सूर्यकिरणको २० औं संस्करण सुरू भएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा बुधबारदेखि अभ्यास सुरु भएको हो। मध्यपश्चिम पृतना मुख्यालयका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले अभ्यासको शुभारम्भ गरेका हुन्।
दुवै देशका गणस्तरका सैनिक फौज सहभागी रहेको उक्त अभ्यास मङ्सिर २२ गतेसम्म सञ्चालन हुनेछ। नेपाल र भारतमा २०६७ सालदेखि प्रत्येक वर्ष आलोपालो गरी सञ्चालन हुँदै आएको अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो।
अभ्यासमा क्रममा मुख्यतः विपद् व्यवस्थापन,जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकबीच सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र अनुभव आदानप्रदान गरिने नेपाली सेनाले जनाएको छ।
उक्त तालिमबाट दुवै मुलुकका सेनाबीचको सैद्धान्तिक,व्यवहारिक र विशेष अनुभवको आदान प्रदान हुनेछ। यस किसिमको संयुक्त सैनिक अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सैनिकको पेसागत ज्ञान,क्षमता र आपसी समझदारी अभिवृद्धि हुने विश्वास नेपाली सेनाले लिएको छ।