नेपालीका बैंक खाता प्रयोग गरेर भारत पठाइन्थ्यो ठगीको रकम, गिरोहका चारजना पक्राउ

नेपालीका बैंक खाता प्रयोग गरेर भारत पठाइन्थ्यो ठगीको रकम, गिरोहका चारजना पक्राउ

विराटनगर । अनलाइन ठगीबाट प्राप्त रकम ओसारपसार गर्न नेपाली नागरिकका बैंक खाता र डिजिटल वालेट प्रयोग गर्ने संगठित गिरोहको मोरङ प्रहरीले पर्दाफास गरेको छ । ठगीको रकम संकलन गरी विभिन्न तहका व्यक्तिमार्फत् भारत पुर्‍याउने गिरोहका दुई भारतीयसहित चारजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहारका २६ वर्षीय ताहिर हुसेन र ३६ वर्षीय मोहमद सावुदिन तथा विराटनगरका ३१ वर्षीय जफर आलम र २३ वर्षीय फैयाज खान छन् । हुसेन र सावुदिन विराटनगर–४ मा बस्दै आएका थिए भने आलम विराटनगर–१७ र खान विराटनगर–९ का बासिन्दा हुन् ।

प्रहरीका अनुसार गिरोहले नेपाली नागरिकसँग साथीभाइको सम्बन्ध बनाएर उनीहरूका बैंक खाता र ई–सेवा नम्बर संकलन गर्ने गरेको थियो । आफ्नो बैंक खाता नभएको र साथीको खातामा रकम पठाउनुपर्ने बहाना बनाएर खाता नम्बर लिने अनि ती खातामा अनलाइन ठगीबाट प्राप्त रकम जम्मा गराउने उनीहरूको तरिका थियो ।

खातामा रकम जम्मा भएपछि फैयाज खानले खातावालालाई सम्पर्क गरेर नगद निकाल्न लगाउने र आफूलाई बुझाउन लगाउने गरेको अनुसन्धानबाट खुलेको छ । यसरी रकम उपलब्ध गराउने खातावालालाई दुई प्रतिशत कमिसन दिने गरिएको थियो ।

संकलित रकमको बाँडफाँट पनि तहगत रूपमा हुने गरेको प्रहरीको भनाइ छ । फैयाजले १० प्रतिशत आफू राखेर बाँकी रकम सावुदिन र जफरलाई दिने गरेका थिए । उनीहरूले पनि १० प्रतिशत कमिसन कटाएर बाँकी रकम ताहिर हुसेनलाई बुझाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार ताहिरले पाकिस्तानी नागरिकसँग सम्पर्कमा रहेर उनीहरूको निर्देशनअनुसार रकम भारतका विभिन्न बैंक खातामा जम्मा गरिदिने गरेका थिए । यसरी नेपाली नागरिकका खाताबाट संकलित रकम सीमापार पुर्‍याउने गरिएको जानकारी उनले दिए । 

प्रहरीले अहिलेसम्म विभिन्न बैंक तथा ई–सेवाका ४० वटा खाता ठगीमा प्रयोग भएको पत्ता लगाएको छ । नबिल,एनआईसी एसिया, ग्लोबल आइएमई, नेपाल इन्भेस्टमेन्ट मेगा, कुमारी, ज्योति विकास, माछापुच्छ्रे र लक्ष्मी सनराइजलगायत बैंकका खाता प्रयोग भएको पाइएको हो । 

डीएसपी मिश्रका अनुसार हालसम्म १५ लाख रुपैयाँभन्दा बढी रकम ठगी भएको खुलेको छ । तर, गिरोहले ठूलो संख्यामा बैंक खाता प्रयोग गरेको र थप पीडित सम्पर्कमा आउने क्रम जारी रहेकाले ठगीको रकम अझै बढ्न सक्ने अनुमान छ ।

पाँच दिनअघि पक्राउ परेका उनीहरूले ठूलो सञ्जाल बनाएर अनलाइन ठगीको रकम संकलन तथा ओसारपसार गर्दै आएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । गिरोहमा अन्य व्यक्तिहरूको समेत संलग्नता देखिएपछि प्रहरीले खोजी तीव्र पारेको छ ।

पक्राउ परेकाविरुद्ध अनलाइन ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको जानकारी डीएसपी मिश्रले दिए । प्रहरीले अनलाइन ठगीमा रकम गुमाएका व्यक्तिहरूलाई जाहेरीसहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न आग्रह गरेको छ ।