एकाबिहानै चलेको हावाहुरीले विद्यालय र घरका छाना उडायो

एकाबिहानै चलेको हावाहुरीले विद्यालय र घरका छाना उडायो

गोरखा । मंगलबार एकाबिहानै चलेको तीव्र हावाहुरीले धार्चे गाउँपालिका–५ सिङ्लास्थित विद्यालय तथा स्थानीयका घर–गोठका छाना उडाएको छ । बिहान करिब २–३ बजेदेखि चलेको हावाहुरीले सिङ्लास्थित सिंहदेवी आधारभूत विद्यालयको छाना उडाएको शिक्षिका सपना गुरुङले जानकारी दिइन् ।

हावाहुरीले विद्यालय भवनको जस्तापाता उडाएर लगेको छ । यसका साथै, गाउँका केही कच्ची घर तथा गोठका छानासमेत उडाएको स्थानीय शिक्षिका गुरुङले बताइन् । बिहान घाम लागेपछि हावा रोकिने अपेक्षा गरिए पनि हावा चल्ने क्रम अझै नरोकिएको उनको भनाइ छ । ‘आकाश पूर्ण रूपमा खुला छ, घाम पनि लागिरहेको छ,’ शिक्षिका गुरुङले भनिन्, ‘बादल नलागे पनि हावा भने लगातार चलिरहेकै छ ।’

हावाहुरीले नजिकैको जङ्गलका सुकेका पातपतिङ्गर उडाएर गाउँभरि थुपारेको छ । मंसिर महिनामा यस किसिमको विनाशकारी हावाहुरी चलेको आफूले पहिलो पटक भोग्नुपरेको स्थानीय गुरुङले बताइन् ।