रथीमा पदोन्नति भएका थापालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

रथीमा पदोन्नति भएका थापालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । नेपाली सेनाका रथीमा बढुवा भएका अनुपजंग थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रधानसेनापति अशोकराज सिग्देलले सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रममा थापालाई रथीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

४ मंसिरको मन्त्रिपरिषद्को बैठकले थापालाई उपरथीबाट रथीमा बढुवा गर्ने निर्णय गरेको थियो । योसँगै थापा आगामी प्रधानसेनापतिका मुख्य दाबेदार बनेका छन् । २४ भदौ २०८४ मा अहिलेका प्रधानसेनापति सिग्देल अवकाशमा जानेछन् । त्यसपछि उनको ठाउँमा प्रधानसेनापति बन्ने सम्भावना थापाको प्रबल छ ।

त्यसैगरी उपरथीमा बढुवा भएका मनोज थापालाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्राविधिक सहायक रथीमा बढुवा भएका जगत शाह, पंकज रावल, शीतल बानियाँलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।