दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो

दुर्गा पूजामा भागदौड, कसरी ७ मिनेटमै वातावरण शोकमा परिणत भयो

काठमाडाैं। भारतको उत्तरी कोलकातास्थित चर्चित 'चोरबगान' मा बनाइएको दुर्गा पूजा पण्डालमा शनिवार साँझ ७:४० बजे भागदौड मच्चिँदा १९ जनाको मृत्यु भएको छ। घटनामा २५ जना घाइते भएका छन् भने तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको पश्चिम बङ्गालका मुख्यमन्त्रीले जानकारी दिएका छन्।

प्राप्त विवरण अनुसार १७ जनाको घटनास्थलमै र अन्य दुई जनाको उपचारका क्रममा पछि मृत्यु भएको हो। मृतक र घाइतेहरूको पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। पूजा अवलोकनका लागि उनीहरू कोलकाता बाहिरका विभिन्न जिल्लाबाट त्यहाँ पुगेका थिए।

घटनाका सम्बन्धमा पश्चिम बङ्गालका स्वास्थ्यमन्त्रीले अचानक पानी पर्न थालेपछि पण्डालभित्र प्रेसर कुकरजस्तो असहज स्थिति सिर्जना भएको बताएका छन्। उनका अनुसार अचानक वर्षा सुरु हुँदा भित्र रहेका मानिसहरू बाहिर निस्कन खोजे भने बाहिर रहेकाहरूभित्र छिर्न खोज्दा एकाएक ठέλेलमेल भएको थियो।

कोलकाता प्रहरीले यस दुःखद घटनाको अनुसन्धान गर्दै चोरबगान दुर्गा पूजा समितिका आयोजकसहित १२ जनालाई नियन्त्रणमा लिएको छ। प्रत्यक्षदर्शीहरूका अनुसार साँझ ७:३० बजेतिर ठूलो पानी पर्न थालेपछि साँघुरा गल्लीहरूको बीचमा रहेको पण्डालभित्र छिर्नेहरूको अत्यधिक घुइँचो बढेको थियो। पण्डालभित्रका मानिस बाहिरिन नसक्ने र बाहिरका मानिस जबरजस्ती भित्र पस्न खोज्ने क्रममा अस्थायी रूपमा बनाइएको भर्‍याङमा मानिसहरू एकअर्कामाथि खसेका थिए। पण्डालमा रहेको दुर्गाको मूर्तिलाई राखिएको फलामको संरचनाको कुनै भाग खसेको हो वा होइन भन्नेबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ। यो सम्पूर्ण दुर्घटना ५ देखि ७ मिनेटको छोटो समयावधिभित्रै घटेको अनुमान गरिएको छ।

घटनास्थलमा खटिएका स्वयंसेवक र सुरक्षा व्यवस्थाको अभाव रहेको प्रत्यक्षदर्शीहरूको गुनासो छ। साँघुरो स्थान, अन्धकार र भीड व्यवस्थापन गर्ने कोही नभएका कारण उद्धारमा ढिलाइ भएको पीडितहरूको भनाइ छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल भएको भिडिओ रिलबाट प्रभावित भएर थुप्रै मानिसहरू त्यहाँ पुगेको बताएका छन्।

यस वर्ष ९१औँ वार्षिकोत्सव मनाइरहेको चोरबगान सार्वजनिक पूजा पण्डालको उद्घाटन केही दिन अघि मात्रै भएको थियो। मण्डप प्रवेश गर्ने गल्लीहरू साँघुरा हुनु र भीड नियन्त्रणका लागि पर्याप्त स्वयंसेवक तथा सुरक्षाकर्मी नखटिनुले पनि जोखिम बढाएको स्थानीयको आरोप छ। घटनालगत्तै कोलकाताका अन्य तीन ठूला पूजा पण्डालहरूमा पनि भक्तजनको प्रवेश अस्थायी रूपमा रोक लगाइएको छ।

यसैबीच, पूर्व निर्धारित कार्यक्रम अनुसार शनिवार साँझ कोलकाता पुग्नुभएका केन्द्रीय गृहमन्त्री अमित शाहले यस अप्रत्याशित दुर्घटनाका कारण आफ्ना सम्पूर्ण आगामी कार्यक्रमहरू स्थगित गर्नुभएको छ। यसअघि सन् २०१५ मा पनि दक्षिण कोलकाताको देशप्रिया पार्कमा दुर्गा पूजाका क्रममा भागदौड मच्चिँदा ११ जना घाइते भएपछि पूजा रोकिएको थियो।