काठमाडौं। मिसेस नेपाल वर्ल्ड २०२६ अन्तर्गत ‘द ग्ल्याम नाइट’ कार्यक्रम सम्पन्न भएको छ। धापासीस्थित द रामालयमा आयोजित उक्त विशेष समारोहमा प्रतियोगीहरूले ‘श्री आभी बुटिक’का आकर्षक पहिरनमा आकर्षक र्याम्प वाक प्रस्तुत गरेका थिए। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।
समारोहमा प्रतियोगी नम्बर ४ ऋचा शर्माले मिसेस नेपाल वर्ल्ड विवाहित महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्न र लुकेर रहेका प्रतिभा प्रस्फुटन गराउन उत्कृष्ट मञ्च बनेको बताइन्। ललितपुरको धोबीघाट निवासी शर्माले यस प्रतियोगितामा सहभागिता जनाउनु आफ्नो सपना रहेको उल्लेख गर्दै भनिन्, “महिलाहरूमा अगाडि बढ्ने इच्छा शक्ति भए पनि पारिवारिक तथा सामाजिक कारणले रोकिएका हुन्छन्। तर, प्रयास नगरेसम्म आफ्नो क्षमता र सीमाबारे थाहा हुँदैन। बाल्यकालदेखिका अधुरा सपना पूरा गर्न महिलाहरूले यस्ता अवसरको सदुपयोग गर्नुपर्छ।”
उनले प्रतियोगिता केवल र्याम्प वाकमा मात्र सीमित नभई विभिन्न ग्रुमिङ सेसनमार्फत धेरै जीवनोपयोगी कुरा सिक्ने र व्यक्तित्व विकास गर्ने माध्यम बनेको बताइन्।
कार्यक्रममा सहभागी छाला रोग विशेषज्ञ डा. सुचना मराठाले विवाहित महिलाका लागि यो प्रतियोगिता क्षमता प्रदर्शन गर्ने उपयुक्त थलो भएको धारणा राखिन्। आयोजकसँग जोडिएपछि प्रतियोगीहरूको छालाको स्वास्थ्य तथा हेरचाहका विषयमा सहजीकरण गरिरहेको जानकारी दिँदै उनले ग्ल्याम नाइटको व्यवस्थापन र पहिरनको प्रशंसा गरिन्।
आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिका अध्यक्ष निसुकान्त झाले घरपरिवार र दैनिक गृहस्थीमा सीमित महिलाहरूले मञ्चमा देखाएको उत्साह र आत्मविश्वास प्रशंसनीय रहेको बताए। झाका अनुसार यस वर्ष मिसेस नेपाल वर्ल्डको पाँचौँ, मिसेस नेपाल इन्टरनेसनलको दसौँ र नयाँ विधाका रूपमा ‘मिसेस नेपाल कस्मो’को पहिलो संस्करण आयोजना भइरहेको छ।
२१ देखि ५० वर्षसम्मका विवाहित, सम्बन्धविच्छेद भएका वा एकल महिलाहरूले सहभागिता जनाउन सक्ने यस प्रतियोगितामा एकल महिलाका लागि ‘एमएस नेपाल’ विधा समेत समावेश गरिएको छ।
ग्ल्याम नाइटको सफलतासँगै प्रतियोगिता अब ग्रान्ड फिनालेतर्फ अघि बढेको छ। आगामी कात्तिक १४ गते नेपाल पुलिस क्लबमा प्रतियोगिताको ग्रान्ड फिनाले आयोजना हुने अध्यक्ष झाले जानकारी दिए।