काठमाडौं: सामुदायिक वनको छेउमा बासको टाटीले बेरेको फुसको घर । वरिपरि मदिराका खाली बोतल । फलाम र अन्य कवाडी सामग्री पनि असरल्ल छरिएका छन् । बाहिरबाट हेर्दै अभावले घेरिएको मानिस बस्ने घर जस्तो देखिन्थ्यो ।
झापाको कनकाई नगरपालिका-३, सुरुङ्गामा रहेको यही घरमा शनिबार दिउँसो एक्कासी आगो लाग्यो । घरमा आगो दन्किरहँदा घरधनी अन्दाजी ५० वर्षीय ठाकुरसिंह राई भने कनकाई नगरपालिकाको कार्यालयमा थिए ।
विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि उनलाई हातमुख जोड्न समस्या हुनसक्ने स्थानीयले कल्पना गरेका थिए । कनकाईकी उपमेयर मञ्जु प्रसाईंका अनुसार त्यही सोचेर उनलाई राहत लिन बोलाइएको थियो ।
तर, राहत स्वरुप पाँच किलो चामल, एक किलो दाल र तेल लिएर फर्किन नपाउँदै उनको झुपडीमा मानिसहरुको भिड जम्मा भइसकेको थियो । दमकल र प्रहरी प्रशासन आगो नियन्त्रणमा जुटेको थियो ।
दैनिक मजदुरी गरेर छाक टार्ने उनलाई देखेका स्थानीय प्रहरीले कुनै सामान जोगाउन सकिन्छ कि भनेर बाहिर पनि निकाल्दै थिए । तर, जब घरभित्र रहेको टिनको बाकस सार्दा प्रहरी अधिकारीले हजार रुपैयाँको नोट देखेर उठाउने प्रयास गरे, त्यतिबेला एउटा नोट मात्र होइन, बण्डलैबण्डल फेला परे ।
प्रहरी नै चकित
झापाका वन क्षेत्र चोरी, तस्करीका कारण पनि चर्चामा आउने गर्छन् । झन् बनकै छेउमा अपत्यारिलो व्यक्तिको घरमा ठूलो परिणाममा रकम भेटिएपछि प्रहरी पनि झस्कियो । नगरवासी आश्चर्यमा परे ।
इलाका प्रहरीका कार्यालय, सुरुङ्गाका प्रमुख प्रहरी नायब निरीक्षक (सई) पदम लिम्बुका अनुसार बाल्टी र बाकस मुनि राखिएको गरी ठाकुरसिंह राईको झुपडीबाट ९ लाख रुपैयाँ बरामद भएको थियो ।
कनकाई सामुदायिक वनका अध्यक्ष ख्याम ओली र उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया समेतको रोहबरमा गणना गर्दा आधा जलेका पुराना नोट ५ देखि ६ लाख रुपैयाँ पनि भेटिएको लिम्बु बताउँछन् ।
‘अहिलेको समयको चल्ने नोट चाहिँ ९ लाख हो, अरु जलेका छन्’, उनले अनलाइनखबरसँग भने, ‘नम्बर चाहिँ देखिने भएकाले ती नोट पनि चल्छन् भन्ने हिसाबमा जम्मा १५ लाख हुन सक्ने अनुमान गरेका हौं ।’ त्यसो त राईले घरमा २४ लाख रुपैयाँ रहेको दाबी गरेका छन् ।
धेरै नोटहरु जलेकाले उनको दाबी पुष्टि हुन सकेको छैन । घरमा कति रकम थियो भन्ने प्रहरी अनुसन्धानको अर्को पाटो होला । तर, प्रारम्भमा एउटा सामान्य मजदुरको घरभित्र गाडेको अवस्थामा रकम भेटिनु नै प्रहरी अनुसन्धानको विषय थियो ।
यही रहस्यको पर्दा उघ्रिनु अघि रकम बरामद गरेर राईलाई निगरानीमा राख्नुको विकल्प प्रहरीसँग थिएन । किनकी, राईलाई नियन्त्रणमा लिन पर्याप्त आधार थिएन । उनले बयानमा जे भने त्यो अविश्वास गरिहाल्ने कारण पनि थिएन ।
सम्पत्ति व्यवस्थापन गर्न नजान्दा…
राईको घरमा त्यति धेरै पैसा कसरी आयो ? प्रारम्भमा अधिकांशले रकम अवैध हुनसक्ने आँकलन गरे ।
तर, अनुसन्धानका क्रममा राईले राखेको पैसाको स्रोत पुष्टि भइसकेको छ । र, यसको कथा बुझ्न ०४५ सालतिर फर्किनु पर्छ ।
बाह्रदशीमा बस्दै आएका राई परिवारसँग झगडा भएपछि २०४५ सालमा सुकेडाँगी आएका थिए । त्यसको केही समयमै भारततिर हानिएका राई ०५४ सालमा दुई लाख रुपैयाँ लिएर तत्कालीन सुरुङ्गा गाविसमै फर्किए ।
त्यो पैसाले उनले हालको शिवसताक्षी नगरपालिका, झिलघिलेमा एक कठ्ठा ६ धुर जग्गा जोडे । सात वर्षपछि त्यो जग्गा १२ लाख ६० हजार रुपैयाँमा बेचे । ‘जग्गा बेचेर आएको पैसा मैले विभिन्न व्यक्तिलाई ब्याजमा पनि दिएँ’, राई भन्छन् ।
हातमा पैसा भए पनि उनले कहिल्यै मजदुरी गर्न भने छाडेनन् । नाङ्लो र डोको बुन्ने, खुर्सानीको धुलो बनाउनेदेखि कवाडी संकलनसम्मको काममा उनी पोख्त छन् । कनकाई नदीको तटबाट पानी र रेडबुलका बोतलहरुसमेत संकलन गरेर आम्दानी गरेको उनी बताउँछन् ।
यसरी संकलित रकम राईले अहिलेसम्म घरभित्रै राख्दै आएको खुलेको छ । अनुसन्धानमा संलग्न अधिकृतहरु भन्छन्, ‘पैसा कमाए पनि उनले व्यवस्थापन गर्न जानेनन् । एक्लो ज्यान जति कमाए, सबै घरमा थन्क्याउँदै राखे ।’
प्रारम्भमा उनको बयानलाई विश्वास गर्न मिल्ने केही आधार भेटिए पनि प्रहरीले शंका गर्न छाडेको थिएन । तर, जब उनीबाट ऋण लिएका बाह्रदशी र शिवगञ्जका व्यक्तिहरुसँग प्रहरीले सम्पर्क गर्यो, तब राईका बयानहरु थप पुष्टि हुँदै गए ।
फेरि बरामद रकम मिलाएर नराखिनुले पनि उनको बयानलाई बलियो बनायो । त्यति मात्र होइन, अधिकांश पैसामा राजाका तस्वीर थिए । लोकतन्त्रपछि चलनचल्तीमा रहेका नोट कम हुनुले पनि उनले पहिल्यैदेखि ती रकम जम्मा गरेर राखेको हुनसक्ने देखिएको छ ।
यद्यपि, प्रहरीले यो प्रकरणमा अनुसन्धान सकिसकेको भने छैन । अहिलेसम्म आगलागीको कारण पनि स्पष्ट भइसकेको छैन ।