प्रधानमन्त्रीको अनुपस्थिति ‘क्रमभङ्गता’ हो : विपिन आचार्य

प्रधानमन्त्रीको अनुपस्थिति ‘क्रमभङ्गता’ हो : विपिन आचार्य

काठमाडौं।  सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विपिन आचार्यले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाहको अनुपस्थितिलाई ‘परम्पराको क्रमभङ्गता’ को संज्ञा दिएका छन्। प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने माग गरिरहेका बेला सांसद आचार्यले प्रधानमन्त्रीको बचाउ गरेका हुन्।

सदनमा बोल्दै आचार्यले सांसदहरूका व्यक्तिगत दृष्टिकोण र बुझाइमा भिन्नता हुनु स्वाभाविक रहेको बताए। उनले प्रधानमन्त्रीको शैली र उपस्थितिलाई लिएर फरक-फरक टिप्पणी हुन सक्ने उल्लेख गर्दै भने, “प्रधानमन्त्रीले संसद्मा लगाउनुभएको जुत्ता कसैलाई ‘कुल’ लाग्न सक्छ भने कसैलाई संसदीय मर्यादामाथिको प्रहार। त्यसैगरी, नीति तथा कार्यक्रमको छलफलमा उहाँको अनुपस्थिति कसैलाई परम्पराको क्रमभङ्गता लाग्न सक्छ, तर अन्त्यमा स्थापित विधि र प्रक्रिया नै निर्णायक हुन्छन्।”

सांसद आचार्यले प्रधानमन्त्रीले प्रतिनिधि सभा नियमावलीले तोकेको अधिकारकै परिधिभित्र रहेर कार्य गरेको दाबी समेत गर्नुभयो। विपक्षी दलहरूले प्रधानमन्त्री जवाफदेही नभएको भन्दै संसद् अवरुद्ध गर्ने चेतावनी दिइरहँदा आचार्यले उनीहरूलाई कानुनी बाटो अपनाउन सुझाव दिए। “यदि प्रधानमन्त्री जिम्मेवार हुनुभएन भन्ने लाग्छ भने नियमावलीको नियम ५६ अनुसार सिधै प्रश्न गर्ने अधिकार छ,” उनले थपे, “त्यो प्रक्रिया छाडेर संसद् नै स्थगित गराउन खोज्नुले विपक्षी दलहरूको जनताप्रतिको उत्तरदायित्वमाथि प्रश्न उठाउँछ।”

राजनीतिक तर्कका साथै सांसद आचार्यले सांसदहरूको कार्यसम्पादनलाई थप प्रभावकारी र अध्ययनशील बनाउन ‘स्वकीय सचिव’ को सुविधा उपलब्ध गराइनुपर्ने माग समेत राखे। नीति तथा कार्यक्रममाथिको छलफलकै क्रममा उनले सांसदहरूलाई अनुसन्धान र संसदीय कार्यमा सहयोग पुर्‍याउन दक्ष जनशक्तिको आवश्यकता रहेकोमा जोड दिए।

छुटाउनुभयो कि ?