काठमाडौं। नेपाली कांग्रेसले आफ्नो देशैभरका सबै ६,७४३ वटा वडा कार्यसमितिहरूमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यलाई तीव्रता दिएको छ। कांग्रेस पार्टी केन्द्रीय कार्यालयले बुधबारएक परिपत्र जारी गर्दै आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सदस्यता अद्यावधिक गरिसक्न सबै वडा सभापतिहरूलाई निर्देशन दिएको हो।
नेपाली कांग्रेसका कार्यवहाक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार, पार्टीको विद्यमान क्रियाशील सदस्यता वितरण, व्यवस्थापन र अभिलेखीकरण प्रणालीलाई थप व्यवस्थित, चुस्त र सहज बनाउन यो कदम चालिएको हो। नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधन) तथा केन्द्रीय कार्यसमितिको २०८२ चैत्र ११ गतेको निर्णय बमोजिम देशभर यो कार्य उत्साहजनक रूपमा अघि बढिरहेको पार्टीले जनाएको छ।
काङ्ग्रेसले यसपटक सदस्यता अद्यावधिकका लागि प्रविधिको व्यापक प्रयोग गरेको छ। वडा सभापतिहरू मार्फत अनलाइन, 'एआई साथी' मार्फत ९७०१२५५५५५ मा फोन गरेर, पार्टीको आधिकारिक फेसबुक पेजमा रहेको क्यूआर कोड स्क्यान गरेर वा नेपाली कांग्रेसको मोबाइल एपमा रहेको 'सेल्फ सर्भिस फारम' भरेर सजिलै सदस्यता नवीकरण तथा अद्यावधिक गर्न सकिने व्यवस्था मिलाइएको छ।
यसका साथै आवश्यक जानकारी र प्राविधिक सहायताका लागि केन्द्रीय कार्यालयमा 'डिजिटल सहायता केन्द्र' स्थापना गरिएको छ। सेवाग्राहीले ९७१२२०५६३१, ९७१२०५६३५२ र ९८५१००३९३० नम्बरमा सम्पर्क गरी सहयोग लिन सक्नेछन्।
केन्द्रीय कार्यालयले सबै वडा सभापतिहरूलाई आफ्ना मोबाइलमा एप स्टोर वा गुगल प्ले स्टोरबाट नेपाली कांग्रेसको एप डाउनलोड गरी तोकिएको समयसीमा (जेठ २१ गतेभित्र) काम सम्पन्न गर्न निर्देशानुसार अनुरोध गरेको छ। यस कार्यको अनुगमन सम्बन्धित पालिका कार्यसमितिहरूले गर्नेछन्।
पार्टीले सदस्यता अद्यावधिक कार्यमा असहयोग गर्ने वडा सभापतिहरूलाई कडा चेतावनी समेत दिएको छ। परिपत्रमा भनिएको छ, "क्रियाशील सदस्यता अद्यावधिकको कार्यमा असहयोग गरेमा विधान बमोजिम वडा सभापतिको वैकल्पिक व्यवस्था गरिनेछ।" असहयोग गर्ने वडा सभापतिहरूको विवरण पालिका कार्यसमितिले केन्द्रलाई उपलब्ध गराउनुपर्ने नियम बनाइएको छ। यो परिपत्रको बोधार्थ ७७ वटै जिल्ला कार्यसमिति र ७५३ वटै पालिका कार्यसमितिहरूलाई पठाइएको छ।