काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई नेकपा (एमाले) ले पनि विश्वासको मत दिने भएको छ। नेपाली कांग्रेस र एमालेबीच सातै प्रदेशमा सरकार गठन र सञ्चालनका लागि केन्द्रीय तहमा सहमति बनेसँगै एमालेले मधेस सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो।
यसअघि गत शुक्रबार नै मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका थिए। तर, सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसदहरूले ‘फ्लोर क्रस’ गर्न सक्ने बलियो आशंका उत्पन्न भएपछि उनले अन्तिम समयमा कार्यसूची स्थगित गरेका थिए। राष्ट्रिय राजनीतिमा आएको नयाँ मोडसँगै मुख्यमन्त्री यादवले आगामी जेठ ८ गते विश्वासको मत लिने गरी नयाँ मिति तय गरिएको छ।
मधेस सरकार संकटमा परिरहेका बेला कांग्रेस र एमालेका शीर्ष नेतृत्वबीच सघन संवाद भएको थियो। कांग्रेस सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरी सातै प्रदेशका सरकारका बारेमा प्याकेजमै छलफल गरेका थिए।
स्रोतका अनुसार सोही छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति थापाबीच सातै प्रदेशमा आपसी सहमति र साझेदारीमा सरकार गठन गर्ने उच्चस्तरीय सहमति भइसकेको छ। दुई ठूला दलबीच केन्द्रमा भएको यही रणनीतिक सहमति अनुसार मधेसमा एमालेका सांसदहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गर्ने तय भएको एक नेताले जानकारी दिए। एमालेको यो निर्णयसँगै मधेस सरकारको संकट तत्कालका लागि टरेको छ।