काठमाडौं । नेपालमा यसवर्षको ईद उल–फित्र भोली शनिबार मनाइने भएको छ। मुस्लिम आयोगले बिहीबार साँझ शवाल महिनाको चन्द्रमा नदेखिएको पुष्टि गर्दै चैत ७ गते शनिबारका दिन इद पर्ने औपचारिक जानकारी दिएको हो।
आयोगका कार्यबाहक अध्यक्ष महम्मदीन अलीका अनुसार बिहीबार नेपालमा चन्द्रमा नदेखिएकाले शनिबार इद मनाउने निर्णय गरिएको हो। आयोगले शनिबार नै इद परेकाले सरकारसमक्ष सार्वजनिक विदाको प्रस्ताव नगर्ने जनाएको छ।
यता खाडी राष्ट्रहरूमा भने यस वर्ष इद आज मनाइने भएको छ। साउदी अरबको सर्वोच्च अदालतले बुधबार चन्द्रमा नदेखिएको घोषणा गर्दै ३० दिनको रोजा पूरा भएपछि शुक्रबार बिहान इदको नमाज अदा गरिने जनाएको छ। दुबई, कतार, टर्की, बहराइन र कुवेत लगायतका देशहरूमा पनि शुक्रबार नै इद मनाउने तयारी गरिएको छ।
इस्लामिक पात्रो चन्द्रमासमा आधारित हुने भएकाले चन्द्रमा देखिएको आधारमा नयाँ महिना सुरु हुन्छ। यही कारण विश्वभर इद एकै दिन नपरी एक–दुई दिन फरक पर्ने गरेको हो।
इद उल–फित्र मुस्लिम समुदायको प्रमुख पर्व हो, जुन रमजान महिनाको समाप्तिपछि मनाइन्छ। यस अवधिमा रोजा, प्रार्थना र दानमार्फत आत्मशुद्धि गरिन्छ। इदको दिन बिहान विशेष नमाज अदा गरिन्छ र त्यसअघि ‘जकात–उल–फित्र’ दान गर्ने परम्परा रहेको छ।