श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको कार्यशैलीप्रति कडा आपत्ति जनाउँदै नैतिकताका आधारमा तत्काल राजीनामा दिन माग गरेका छन्।
प्रधानमन्त्री शाहले संसदीय मर्यादा र लोकतान्त्रिक मूल्यमान्यतालाई कायम राख्न नसकेको दाबी गर्दै साम्पाङले उनलाई पद छोड्न सुझाव दिएका हुन्। साम्पाङका अनुसार प्रधानमन्त्रीले संसद् र सार्वभौम जनताको अपमान हुने गरी विभिन्न गैरजिम्मेवार गतिविधिहरू प्रदर्शन गरेका छन्।
विशेष गरी, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका बेला प्रधानमन्त्री हलबाट बाहिरिएर पुनः नफर्किएको विषयलाई साम्पाङले मुख्य कमजोरीका रूपमा औंल्याएका छन्।
त्यसैगरी, प्रतिपक्षी दलले संसद्मा उपस्थितिको माग गर्दा समेत संसद् भवनमा नआई नजिकैको कार्यालयबाट 'लाइभ' हेरेर बस्नु र नीति तथा कार्यक्रममाथिको छलफलमा अनुपस्थित रहनुले संसदीय परम्पराको घोर उपेक्षा भएको साम्पाङको ठहर छ।
प्रधानमन्त्री स्वयम् उपस्थित भएर प्रश्नहरूको उत्तर दिनुपर्ने स्थापित मान्यतालाई बेवास्ता गरिएको भन्दै उनले प्रधानमन्त्री नियुक्त भएदेखि हालसम्म संसद्को कुनै पनि बैठकमा जनतालाई सम्बोधन नगरेकोमा पनि प्रश्न उठाएका छन्।
प्रधानमन्त्री शाहलाई असक्षम र असफलको संज्ञा दिँदै साम्पाङले यो घटनालाई संसदीय इतिहासकै 'कालो धब्बा' भनेका छन्। जनताको प्रतिनिधि संस्थालाई अपमान गर्ने र प्रश्नहरूबाट भागेर लुक्ने प्रवृत्तिले लोकतन्त्रप्रति जनताको विश्वास घटाएको उनले जिकिर गरेका छन्।
संसद्लाई छलेर अध्यादेशको बाटो रोज्ने सरकारलाई सदनको औचित्य र शक्तिको बोध गराउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै साम्पाङले प्रधानमन्त्रीको नैतिकतामाथि गम्भीर प्रश्न खडा गरेका छन्।